सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले ६ जना बगायो, खोजी कार्य जारी

Indrawati badhi

काठमाडौं । आज बिहानदेखि अबिरल परेको पानीले सिन्धुपाल्चोकको इन्द्रावती नदीमा आएको बाढीले कम्तिमा ६ जनालाई बगाएको छ । उनीहरुको पहचिान भने भएको छैन ।

हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार बगाएको, किउलमा रहेको रेन्बो ट्राउट फर्म बगाएको र नदी छेउमा रहेको केही घर बगाएको जानकारी आएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

यता मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको छ । मेलम्ची बजारमा जोखिमयुक्त स्थानमा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएका उनीहरुलाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

उनले भने– ‘बाढीले ६ जना जतिलाई बगाएको भन्ने कुरा आएको छ । उनीहरुको पूर्ण विवरण आएको छैन । अहिले पनि बाढी रोकिएको छैन । भोलि बिहानसम्म क्षतिको पूर्ण विवरण आउँछ ।’ बाढीले ३ वटा पुल बगाएको र धेरै स्थानमा बाटो कटान गरेको छ ।

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीको बहाब बेलुकी करिब ६ बजेबाट क्रमश: बढ्दै आएको थियो । मेलम्ची आयोजनाको काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले क्रमश: वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग चलेको थियो ।

हेलम्बु गापा २ किउल, ग्याल्थुम, तिपेनी, तालामाराङ हुँदै मेलम्ची बजारसम्म एक दर्जनभन्दा बढी स्थानीय घर छाडेर सुरक्षित छिमेकी या अन्यत्र सुरक्षित स्थानमा सरेका छन् । मेलम्ची नगरका स्थानीय सुचिन सुवेदीले इन्द्रावती गाउँपालिका र मेलम्ची नगर जोड्ने पुल मेलम्ची नदीले बगाइसकेको बताए ।

स्थानीयलाई नदी आसपासका क्षेत्रमा जान नदिन र सुरक्षाकर्मीले घेरा हालेर सावधानी अपनाइरहेका छन् । मेलम्ची नदी किनारक्षेत्रका केही घरमा बाढी पस्ने जोखिम भएपछि त्यहाँका परिवारलाई स्थानीय विद्यालयमा ल्याएर आश्रय दिइएको स्थानीयले बताएका छन् । त्यसैगरी भोटेकोसी नदीको सतह बढेपछि स्थानीय त्रसित भएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपलिकास्थित तिपेनी बजारमा बाढी पसेको छ । स्थानिय लार्के खोलामा आएको बाढी बजारमा पसेको छ ।

तिपेनी बजारमा सुरक्षाकर्मी जाने प्रयास गरिरहेका छन् । जोखिमका कारण सुरक्षा सावधानीका साथ प्रभावित क्षेत्रमा पुग्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताए । बाढीका कारण के, कति क्षति भयो भन्ने विवरण आएको छैन ।

अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ । केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ ।

त्यहाँ रहेका सुरक्षा निकायका पोष्ट पनि बगााएको जनाइएको छ । मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । यद्यपि पूर्वतयारी गरिएका कारण हालसम्म कुनै क्षति नभएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...