प्रदेश २ः जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत चयन  

मुख्यमन्त्री लालबाबु राउत

काठमाडौँ ।  प्रदेश २ मा सरकार पुनर्गठन हुने चर्चाका बिच जनता समाजवादी पार्टीले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा भएको बैठकमा संसदीय दलको नेतामा राउतलाई चयन गरिएको जसपा श्रोतले जनाएको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो ।

केन्द्रमा महन्थ ठाकुर पक्ष ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रदेश २ मा समेत सरकार परिवर्तन हुने चर्चाका बिच अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा बैठक बोलाएर संसदीय दलको विधान पारित गराउनुका साथै संसदीय दलको नेता समेत चयन गराउन लगाएका हुन् ।

बैठकमा तत्कालीन समाजवादी पार्टीका ३० र तत्कालीन राजपाबाट ६ प्रदेशसभा सदस्य गरि ३६ जनाले सो निर्णयमा हस्ताक्षर गर्नुका साथै अन्य केही प्रदेशसभा सदस्यहरुललाई समेत पक्षमा ल्याउने तयारी भइरहेको छ ।

३६ भन्दा बढि प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित आइतबार नै लालबाबु राउत संदीय दलको नेता भएको जानकारी प्रदेशसभा सचिवालयमा दिने तयारी अन्तिम चरणमा रहेको बताइएको छ ।

यद्यपि जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरुलाई फुटाएर मन्त्रालयको संख्या समेत बढाउने तयारी चलिरहेको श्रोतको दाबी छ ।

जसपा श्रोतका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालय अलग अलग बनाउने तयारी समेत भइरहेको छ ।

प्रतिकृया दिनुहोस