जेठभित्रै एसईई मूल्याङ्कन कार्यविधि जारी गर्ने तयारी

Rastya

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिए । विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ ।

सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उनले जानकारी दिए। गत वर्षको कार्यविधिमा शिक्षकले गरेका कतिपय मूल्याङ्कनका कारण आलोचना गरिएको थियो ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालयले आन्तरिक मूल्याङ्कनबाट एसईई परीक्षा गर्ने नीतिगत निर्णय गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पाठ्यक्रम तथा विशिष्टीकरण तालिकाअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसक्ने निचोड निकाल्दै सरकारले यस खालको नीतिगत परिवर्तन गरेको थियो ।

अब कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्याङ्कन गरिसक्न दुई साताको समय दिने बोर्डको तयारी छ । विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय इकाइमा पठाउने र समन्वय इकाइले प्रमाणित गरी बोर्डमा पठाउनुपर्ने छ । बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिने छ ।

बोर्डलाई यो काम गर्न २० दिनको हाराहारीमा लाग्ने प्रारम्भिक अनुमान छ । गत वर्ष शिक्षकको आन्तरिक मूल्याङ्कनमा केही समस्या भएको भन्दै बोर्डले परीक्षाफलको प्रकाशनका केही दिन विलम्ब गरेको थियो ।

प्रतिकृया दिनुहोस