रहस्यमय दासढुंगा काण्डको २८ वर्ष : कूरा धेरै, काम शुन्य

Madan jibraj

काठमाडौं । अघिल्लो वर्ष नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएका थिए ।

तर, आज भण्डारी र आश्रितको मृत्यु भएको २८ वर्ष भइसकेको छ । प्रत्येक वर्ष कम्युनिष्ट पार्टीका नेताहरुले दासढुंगाको विषयमा कूरा उठाउने गछन् । तर सत्तामा पुगेपछि दासढुंगा भन्ने शब्द नै बिर्सिने गरेका छन् ।

एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेकपा एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउँदै छ । प्रत्येक वर्ष दिवस मनाउँदा मात्रै नेताहरुले भण्डारी र आश्रितको कुरा चर्काे रुपमा उठाउने गरेका छन् ।

मदन भण्डारी र जीवराज आश्रितको निधन भएको केही वर्षपछि मदन–आश्रित स्मृति विश्रामस्थलको नाममा एउटा समिति बन्यो । समितिको अध्यक्ष बनेका जागृतप्रसाद भेटवालको गत वर्ष निधन भयो ।

सो समितिले दुर्घटनास्थलभन्दा उत्तरतर्फ रहेको स्वर्गीय सूर्यबहादुर मास्केको करिब दुई विगाहा जग्गा १० लाख रुपैयाँमा किन्यो र त्यहाँसम्म पुग्ने सडक बनायो । शालिक रहेको स्थानमा सामान्य जाली लगाउने बाहेक अरू काम भएन ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आउन सकेको छैन ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद जबजमार्फत लोकतान्त्रिक मार्गमा लैजान मदन भण्डारीको महत्वपूर्ण भूमिका रहेको छ । मदन भण्डारी र जीवराज आश्रितलाई आदर्श नेताका रुपमा चिनिन्छ ।

जीप चालक अमर लामाको पनि हत्या भएका कारण दासढुंगा प्रकरण अझ रहस्यमय बनेको छ । लामाका हत्यारा पनि पत्ता लागेका छैनन् । तर, सरकारले चाहेको खण्डमा अपराधविज्ञहरु राखेर उच्चस्तरीय छानविन समिति बनाउन कठिन छैन । त्यसबाट केही न केही परिणाम पक्कै  आउने छ ।

दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

दुई नेताको अवशानपछि नेकपा (एमाले) २०५१ सालदेखि सत्तासीन हुन थाल्यो । शुरुमा अल्पमतको सरकार र त्यसपछि धेरैपटक अनेक तरिकाले सत्तामा रह्यो पार्टी । आजसम्म दासढुंगा दुर्घटनाको गहन छानविन हुन नसक्नु चाहिँ विडम्बना बन्न पुगेको छ ।

आज मदन–आश्रितलाई श्रद्धाञ्जलि दिन प्रधानमन्त्री केपी शर्मा ओली बुल्खुस्थित पार्टी मुख्यालय पुगे । ओलीले मदन–आश्रित स्मृति दिवसका अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरी जनताको बहुदलीय जनवादको सिद्धान्त मार्गदर्शनका रुपमा स्थापित भएको बताएका छन् ।

यता, एमालेकै बरिष्ठ नेता माधवकुमार नेपालले पनि सो घटनाको छानविन गर्न माग गरेका छन् । नेकपा एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सके मात्रै मदन–आश्रितले देखेका सपना साकार हुने नेपालको भनाइ छ ।

देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर हिंड्ने प्रण गरेमा मात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जली हुने नेपालको भनाइ छ ।

प्रतिकृया दिनुहोस