महोत्तरीमा १० दिन निषेधाज्ञा थप

Nisedhyagya1619411395 768

महोत्तरी । पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

जिल्लामा कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेको हुँदा भीडभाड र हिँडडुल रोक्न निषेधाज्ञाको अवधि थप गरिएको कार्यालयले स्पष्ट पारेको छ । यस अवधिभरि सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ । अत्यावश्यक सामग्री आपूर्ति गर्ने साधन (अस्पताल, औषधि पसल, दूध, पानी, खाद्यान्न आपूर्ति गर्ने साधन, एम्बुलेन्स, शवबाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ ।

जिल्लामा निषेधाज्ञा जारी अवधिमा पनि कोभिड–१९ सङ्क्रमण र मानवीय क्षति बढेको हुँदा निषेधाज्ञा थप गरिएको हो । जिल्लामा जलेश्वर अस्पताल र बर्दिबास अस्पतालमा पिसिआर परीक्षणको सुविधा छ । जारी वैशाख १० गतेयता यसपालि सङ्क्रमण दोहोरिएर देखिन थालेको हो । जिल्लामा यही वैशाख महिनाभित्रै हालसम्म यो व्याधीले १३ जनाको ज्यान लिइसकेको छ ।

त्यसैगरी यसै अवधिमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा पुगेको जिल्लाका प्रमुख जिल्ला अधिकारीसमेत रहेका जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तीर्थराज भट्टराईले जानकारी दिए ।

यस अवधिमा ४० जनाले कोभिड–१९ सङ्क्रमणलाई परास्त गरेर ठिक भएका छन् । यसअघि विसं २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म सङ्क्रमणले १८ जनाको ज्यान लिएको थियो । त्यसैगरी सो अवधिमा दुई हजार १४१ सङ्क्रमण पुष्टि भएका थिए । तीमध्ये ९०० भन्दा बढीमा सक्रिय सङ्क्रमण देखिएको थियो ।

निषेधाज्ञा अवधिमा भारतसँगका नाका पूर्ण बन्द गरिएका छन् । निषेधाज्ञाको कुनै पनि बहानामा अवज्ञा सह्य नहुने जिल्ला प्रशासनले स्पष्ट पारेको छ । पूर्वजानकारीबिना कुनै जरुरी काम देखाएर हिँडडुल गर्ने जोसुकैलाई तत्काल सुरक्षाकर्मीले नियन्त्रणमा लिई कारवाही गरिने प्रजिअ भट्टराईले आफ्नो आदेशमा उल्लेख गरेका छन् ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, जिल्लास्थित राजनीतिक दल र सामाजिक एवं स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिको सिफारिशमा जारी गरिएको निषेधाज्ञाको सबै पक्षबाट परिपालनाका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ । जिल्ला प्रशासनले परम्पराअनुसारका चाडबाड घरपरिवारभित्र मनाउन पनि अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस