गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनद्धारा १० श्ययाको आइसोलेशन तयार

Isolation ward

काठमाडौँ । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएशनले आफ्नो कार्यालय भवनमा १० श्ययाको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइसोलेशन तयार गरिएको एसोसिएशनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।

गोगंजुका अनुसार एसोसिएशनको पोखरा महानगरपालिका–१४ चाउथेमा रहेको भवनलाई आइसोलेशन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका सङ्क्रमितका लागि नभई कोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयार गरिएको हो ।

कार्यालयमा अहिले १० श्ययासहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक औषधि, मास्क, स्यानिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै भान्सा र मनोरञ्जनका सामग्रीसमेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।  पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदूर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका सङ्क्रमितलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने उनको भनाइ छ ।

पहिलो चरणमा १० श्यया निर्माण गरिए पनि कार्यालयको क्षमता २० श्ययासम्म राख्न सकिने गरी विस्तार गरिएको र सम्भव भए अक्सिजन सिलिन्डरसमेत व्यवस्था मिलाइने गोगंजुले बताए । 

प्रतिकृया दिनुहोस