कोरोना कहर : राष्ट्रिय जनगणना अनिश्चित काल स्थगित
काठमाडौं । देशभर कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि अनिश्चित कालका लागि राष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । प्रत्येक १० वर्षमा नेपालमा जनगणना हुँदै आएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम पनि सरकारले स्थगित गरेको थियो । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना कार्यक्रम गर्दै आएको छ । बिक्रम सम्बत १९६८ देखि संचालन हुँदै आएको जनगणनाको बाह्रौं श्रृखंला जेठ २५ देखि असारसम्म सञ्चालन गर्न लागिएको थियो ।
पछिल्लो समय देशभर कोरोना संक्रमण फैलिएको छ भने जसका कारण ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिकृया दिनुहोस