जनमोर्चाका सांसद शाहीको नाटक मञ्चनले गण्डकी प्रदेशसभाको बैठक अनिश्चित, शाहीको चौतर्फी आलोचना

Khimlal shahi

काठमाडौं । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको रिपोर्ट नेगेटिभ आएको थियो । तर, अचानक कोरोना संक्रमित राखिने चरक मेमोरियल अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा भर्ना भएको रहस्य खुलेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका सांसद शाही चरक मेमोरियल अस्पतालको कोभिड–१९ उपचार गर्ने आईसीयूमा भर्ना भएको रहस्य खुलेको छ ।

जनमोर्चाका सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जानकारी गराएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ । प्रदेशसभा सचिवालयले गरेको पीसीआर टेष्टमा शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।

अपराह्न साढे ४ बजे बोलाइएको प्रदेशसभाको दोस्रो बैठक सुरु हुनुअघि राष्ट्रिय जनमोर्चाकी प्रमुख सचेतक पियारी थापाले प्रदेशसभा सदस्य शाही सम्पर्कविहीन भएको भन्दै बैठक रोक्न माग गर्दै प्रदेशसभामा निवेदन दिइन् । लगत्तै सभामुखले अर्को सूचना नआउँदासम्म प्रदेशसभाको बैठक स्थगित गरे ।

एमालेका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारले बहुमत गुमाउने पक्कापक्की भएपछि मंगलबार सत्तारुढ सांसदहरुले पीसीआर परीक्षणको माग गर्दै संसद बैठक अवरुद्ध पारे । अन्ततः सबै सांसदहरुलाई लाइन लगाएर पिसिआर जाँच गरियो । सबै सांसदहरुको पिसिआर टेष्ट हुँदा शाहीको रिपोर्ट नेगेटिभ थियो ।

तर, एकाएक जनमोर्चाका सांसद शाही सम्पर्कविहीन भए । उनीसँगै दीपक मनाङ्गे पनि बैठकमा आएनन् । मनाङ्गे अघिल्लो दिन खिमविक्रमसँगै देखिएका थिए ।

सांसद शाही पार्टीको सम्पर्कमा समेत नआएपछि जनमोर्चाले आफ्ना सांसदको खोजी गर्न र उनी अपहरणमा परेको आशंका गर्दै जीवनरक्षा गरिदिन माग गर्‍यो । सांसद नै अचानक गायव भए पनि प्रदेश सरकारलाई ‘के खोज्छन्, आँखो, कानो...’ भएझै भयो र जनमोर्चाको मागपछि सभामुखले प्रदेशसभा बैठक स्थगन गरे ।

संसद बैठक नै स्थगित गरेर खोजी गर्नेक्रममा जनमोर्चाका सांसद शाही चरक अस्पतालको कोभिड वार्डमा आइसीयूमा भर्ना भएर बसेको पत्ता लाग्यो । तत्कालै जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल आफ्ना सांसदलाई भेट्न अस्पतालमा पुगे । तर, उनीलगायत कसैलाई पनि अस्पतालले भेट्न दिएको छैन ।

सत्तारुढ दलका सांसदहरुले अघिल्लो दिन पिसिआर जाँचको माग गर्दै बैठक स्थगन गर्नु र भोलिपल्ट सरसाउँदो सांसदलाई कोभिड अस्पतालको आइसीयुमा कसैलाई भेट गर्न नदिई राखिनुमा गडबडी देखिएको जनमोर्चाका नेताहरुले बताएका छन् ।

यता, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेशका सांसद खिमबिक्रम शाहीको स्वास्थ्य अवस्थाबारे पार्टीले जानकारी लिने र सार्वजनिक गर्ने बताएका छन् ।

सांसद शाहीको स्वास्थ्य समस्या जनतासामू सार्वजनिक गर्ने पनि केसीले बताए । ‘कोरोनाकै कारणले आईसीयू जान सकिने कुरा पनि भयो । अरु बाहनाबाजी हो भने त्यो त थाहा हुन्छ नि भोलि’ केसीले भने, ‘बिमार के हो भन्ने त पार्टीले राम्रोसँग बुझ्छौ नि । जे भएको हो नेपाली जनताको सामू सार्वजनिक गर्छौ ।’

गण्डकी प्रदेशसभामा रहेका कुल ६० सदस्यमध्ये कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका ३ र र जसपाका २ जनासमेत गरी ३१ जना मुख्यमन्त्रीको विपक्षमा छन् । यी सबैले मतदान गर्दा एमालेको सरकार ढल्छ ।

गण्डकी प्रदेशमा जनमोर्चाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा उभिने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी ९जसपा० ले ल्याएको अविश्वासको प्रस्तावकै पक्षमा जनमोर्चा उभिँदा मुख्यमन्त्री अल्पमतमा पर्न सक्छन् ।

कांग्रेसको आपत्ति
गण्डकी प्रदेश सभामा जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई अस्पतालको ‘आईसीयू’मा भर्ना गरिएको बारेमा प्रमुख प्रतिपक्ष कांग्रेसले कडा आपत्ति व्यक्त गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आएको अवस्थामा एकदिन अघिसम्म स्वस्थ रहेका सांसद कसरी अस्पताल भर्ना भए भनेर प्रश्न गर्नु भएको छ ।

प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतविभाजनको कार्यसूची थियो । त्यसमा एकजना सदस्य पनि अनुपस्थित भए वा फ्लोर क्रस गरेको अवस्थामा प्रदेश सभाको अंकगणितमा फरक पर्ने अवस्था थियो । जनमोर्चाले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय लिएको थियो ।

गण्डकी प्रदेश सभा सदस्यलाई आईसीयूमा राख्ने अस्पतालमाथि पनि प्रश्न गर्नुपर्ने शर्माको भनाइ छ । शर्माले स्वस्थ व्यक्तिलाई अस्पतालमा राखिनु र उपचारका नाममा बन्दी बनाइएको बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रश्न गर्नु भएको छ । उहाँले सामाजिक सञ्जाल ट्विटरमार्फत ‘स्वस्थ, तन्दुरुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आईसियूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ? उपचारका नाममा बन्दी ? अविश्वासमा मत दिन रोक्ने नाममा सत्ता संरक्षित गुण्डागर्दी ?’ लगायतका प्रश्न सोधेका छन् ।

प्रतिकृया दिनुहोस