स्वास्थ्य सतर्कतासाथ श्रीरामचन्द्र मन्दिरमा भक्तजन

Doori kayam1618906606

काठमाडौँ । श्रीराम नवमीका अवसरमा स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर भक्तजन राम मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि उपस्थित भएका छन् ।

राजधानीको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिस्थित राममन्दिर लगायत देशभरका राम मन्दिरमा भक्तजन सतर्कतासाथ पुगेका हुन् ।

रामनवमी पर्वका अवसरमा बिहान चार बजेदेखि नै बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन एवं पुनःनिर्माण समितिका सदस्य सचिव डा गोविन्द टण्डनले  जानकारी दिए । कोरोना जोखिमका कारण श्रीरामचन्द्र शोभायात्रा र भजन कीर्तन स्थगित गरिएको छ ।

श्रद्धाभावसाथ मन्दिर आउने भक्तजनलाई २५÷२५ जना गरेर मन्दिरभित्र प्रवेश गराई पूजा आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको उनले सुनाए । यसैगरी गोकर्णेश्वर नगरपालिका वडा नं.–९ स्थित आरुबारीमा रहेको श्रीरामचन्द्र मन्दिरमा पनि भक्तजनको घुइँचो छ । भक्तजन उपस्थित भएका मन्दिरमा सरकारले जारी गरेको मापदण्ड बमोजिम एकपटकमा २५ जनाभन्दा बढी भक्तजनलाई दर्शनका लागि लाममा नराखिएको मन्दिर व्यवस्थापन समितिले जनाएका छन् ।

मन्दिर प्रवेश गर्ने भक्तजनलाई मास्क अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ । मास्क नलगाउनेलाई प्रवेश दिइएको छैन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा  श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारी पुग्छन् । 

त्रेतायुगमा आजकै दिन अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डहरूमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पुरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायण लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।  उनको जन्म भएको सम्झनाका आधारमा रामनवमी पर्व मनाउन थालिएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ ।

यस अवसरमा आज राम मन्दिर एवं घर घरमा रामायण पाठ गरिन्छ । मर्यादा पुरुषोत्तम श्रीरामचन्द्रका गुणको विवेचना गरिनुका साथै तिनलाई अनुसरण गर्ने वाचासमेत गरिन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...