४० वर्षदेखि भारतीय जेलमा बन्दी बनाइएका तिम्सिनालाई रिहा गर्न अदालतको आदेश, यस्तो छ आदेश

Varatiya jel

काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेलमा बन्दी जीवन बिताइरहेका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई कोलकाताको उच्च अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोटथिल बी राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले उनलाई रिहा गर्न बुधबार साँझ आदेश दिएको हो ।

कोलकाता अदालतले उनलाई सोमबारै छाड्ने जनाएको थियो । तर, सुनुवाइ गरे पनि अदालतले ‘प्राविधिक’ कारण देखाएर फैसला गर्न ढिलाई गरेकाले दीपक जैसी नामले चिनिने तिम्सिनाको मुद्दा बुधबारसम्म सरेको थियो । कोलकातास्थित दमदम सेन्ट्रल जेलमा रहेका ७५ वर्षीय जैसीसँग परिवारका सदस्यले एक महिनाअघि भेटेर आफन्त भएको पुष्टि गरेका थिए ।

इलामको एकतप्पाबाट २०३७ सालतिर कामको खोजीमा उनी दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा त्यो समय गोर्खाल्यान्ड आन्दोलन जारी थियो । पश्चिम बंगाल सरकारले उनलाई हत्या अभियोगमा जेल पठाएको थियो । उनी पक्राउ पर्दा करिब ३६ वर्षका थिए । अहिले उनी ७५ वर्षका भए ।

उनी सन् १९८१ मा हत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए । उनलाई सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्‍याइएको थियो ।

कोलकाताको दमदम कारागारमा दाधेश्याम दास नामक कैदीले उनलाई १० वर्षअघि देखेका थिए । गत जेनवरीमा पनि दिपकलाई त्यहीँ देखेर सोधपुछ गर्दा उनी ४० वर्षदेखि सुनुवाइविना कारागारमा रहेको खुलेको थियो ।

दासले थुनामुक्त भएपछि वेस्ट बंगाल रेडियो क्लबमा खबर गरेका थिए । त्यसपछि विभिन्न सञ्चारमाध्यममा उनी ४० वर्षदेखि जेलमा रहेको खबर सार्वजनिक भयो र उनको पक्षमा माहोल बन्यो ।

दुर्गाप्रसादका दाइ प्रकाश, आफन्त गोपाल तिम्सिना र सामाजिक काम गर्ने इन्द्र बस्नेतले कारागारमा गएर १० फागुन २०७७ मा उनलाई भेटे । नाता प्रमाणित गरेपछि कारागारले भेट गर्न दिएको थियो । त्यसपछि उनलाई तारेखमा छाड्न माग गर्दै उच्च अदालतमा निवेदन दिइएको थियो ।

हेर्नुहोस् अदालतको आदेश

 

 

प्रतिकृया दिनुहोस