नेकपा विवादले देश सङ्कटमा पर्यो : महामन्त्री सिंह

Mohanbikram sing

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आएको समस्या सो दलमा मात्र सीमित नभएको बताए ।

प्रगतिशील पत्रकार सङ्घ बागलुङले आज बागलुङमा गरेको पत्रकार सम्मेलनमा सिंहले संविधानको रक्षा, गणतन्त्र संस्थागत गर्ने कार्य र धर्मनिरपेक्षताको रक्षा जस्ता महत्वपूर्ण विषयमा पनि नेकपा विवादको असर पर्ने जनाए ।

“यस्तो बेलामा विदेशी शक्ति र प्रतिक्रियादीहरुले मुन्टो उठाउँछन्”, उनले भने, “नेकपाले आन्तरिक विवाद समाधान गर्न नसक्दा देश नै सङ्कटमा पर्यो।” धर्मनिरपेक्षता हटाउन र  एमसिसी सम्झौता पारित गर्नका लागि अहिलेको परिस्थिति सिर्जना भएको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले गल्ती गरेको आरोप उनले लगाए । “छ दशकसम्म लडेर बनाइएको संविधान हो, संविधानको रक्षा नहुँदा सबै उपलब्धि गुम्छन्”, उनले भने । सङ्घीय सरकारलाई दिएको समर्थन फिर्ता गरेको मसालले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने कायम राख्ने सङ्केत उनले गरे । 

प्रतिकृया दिनुहोस