नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा राडीबजारमा तनाव, अनश्चितकालीन निषेधाज्ञा जारी
रुकुम पश्चिम । राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना नभएसम्मका लागि मंगलबार ५ बजदेखि निषेधाज्ञा लगाएको हो ।
राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएको थियो । दिनभर झडप भएपछि राडीबजारमा तनाव उत्पन्न भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको छ ।
नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए ।
दुई पक्षबीचको विवादबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
प्रशासनले मंगलबार साँझ ५ बजेदेखि पूर्वमा घारी खोला, पश्चिममा ठूलीभेरी, उत्तरमा दाजे र दक्षिणमा सीम बजार क्षेत्रसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न पाइँदैन ।
प्रमुख जिल्ला अधिकारी गैह्रेका अनुसार चार किल्ला तोकेर निषेधाज्ञा तोकिएको छ । पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा लगाइएको हो ।
आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस