बढ्यो पेट्रोलियम पदार्थको भाउ : दिनानुदिन उपभोक्तालाई मार पार्दै निगम

Petrol vau

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।

लकडाउनका बेला निगमलाई लिटरमा पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ४५ पैसा, डिजेलमा २५ रुपैयाँ ६९ पैसा र मटितेलमा ५५ रुपैयाँ ३५ पैसासम्म नाफा भएको थियो । त्यसकै बलमा निगमले करिब ३ अर्ब नाफा यही समय कमाएको थियो । तर, त्यो बेला निगमले मुल्य घटाएको थिएन ।

निगमले लगातार मूल्य घटिरहँदा पनि खपत कम भएको तर्क गर्दै निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको थिएन । तर, देशभर सहजरुपमा यातयातका साधन सञ्चालनमा आउन थालेपछि लगातार रुपमा इन्धनको मुल्य बढाइरहेको छ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढ्दै गएको छ । त्यसले निगमलाई घाटा नभए पनि नाफा भने खुम्च्याउँदै लगेको थियो । वर्षौं कुस्त नाफाबाट बोनस खान बानी परेका निगमका अधिकारीहरुलाई नाफा खुम्चिएको निको लागिरहेको थिएन ।

असार १ पछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन हुन थालेपछि तेलको माग बढ्दै गएको छ । त्यसैले निगम फेरि नाफाको दर उच्च राख्ने गरी मूल्य बढाउने मौका कुरिरहेको थियो । जसको फाइदा उठाउँदै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ ।

सरकारले बजेटमार्फत लिटरमा १० रुपैयाँ पूर्वाधार शुल्क थप गर्दा यसका कारण इन्धनको मूल्य नबढ्ने बताएको थियो । आयल निगमले भने मूल्यवृद्धि स्वाभाविक र नियमित भएको दाबी गरिरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घटाउने निगमको स्वचालित मूल्य प्रणाली अनुसारनै मूल्य समायोजन गरिएको निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए ।

प्रतिकृया दिनुहोस