राष्ट्रियसभाको सातौँ अधिवेशन अन्त्य

137643222 251082669731678 7755071521974639445 n

काठमाडौँ । राष्ट्रियसभाको यही पुस १७ गतेदेखि शुरु भएको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन अन्त्य सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए।

सोहीअनुसार उनले राष्ट्रियसभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको घोषणा गरे। चालु अधिवेशनको १० दिनमा चार बैठक बसी सात अध्यादेश पेश भएको, नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई सभाको दिगो विकास तथा सुशासन समिति सदस्यमा मनोनयन गरिएको, थारू र मधेशी आयोगको प्रतिवेदन पेश भएको तथा दिगो विकास र विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश भएको अध्यक्ष तिमिल्सिनाले जानकारी गराए।

यसअघि बैठकमा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए। बैठकमा प्रधानमन्त्री ओलीले ‘थारु आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ र विधायन व्यवस्थापन समितिका सभापतिका तर्फबाट समिति सदस्य देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७’ सभा समक्ष पेश गरेका थिए।

संसद सचिवालयका अनुसार सातौँ अधिवेशन अवधिमा सभाबाट सम्पादन गरिएका मुख्य–मुख्य काम कारवाहीको यस्तो छ विवरणः

संघीय संसद, राष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठक मिति २०७७ साल पौष १७ गते शुक्रबार अपरान्ह ४ः०० बजे प्रारम्भ भई २०७७ साल पौष २६ गते आइतबारसम्म जम्मा १० दिन चालू रह्यो।

यस अवधिमा बैठक बसेका ४ दिनहरूमा ४ वटा बैठक बसी ७ घण्टा ५ मिनेट सभाको काममा व्यतीत भयो ।

यस अधिवेशन अवधिमा सभामा देहाय बमोजिमका ७ वटा अध्यादेश पेस भएः

– संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७

– तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७

– नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७

– सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७

– औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७

– यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७

– फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७

अधिवेशन अवधिमा सभामा उठेका एवं समसामयिक विषयमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले सभामा आइतबार आफ्ना धारणा राखेका थिए।

त्यसैगरी सभा अध्यक्षबाट जारी भएको राष्ट्रिय सभाका समितिहरूको गठन सम्बन्धी आदेश, २०७७ सभामा पेस हुँदा सर्वसम्मतिबाट अनुमोदन भएको थियो।

सभाले बामदेव गौतमलाई राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गर्‍यो।

यसै अधिवेशन अवधिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ र थारू आयोगको वार्षिक प्रतिवेदन २०७६/७७ सभासमक्ष पेस गरियाे।

दिगो विकास तथा सुशासन समितिले दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन, २०७६/०७७ र विधायन व्यवस्थापन समितिले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभासमक्ष पेस गरियो।

प्रतिनिधि सभा सदस्यद्वय सानु सिवा र सूर्यबहादुर के.सी., राष्ट्रिय सभाका पूर्व सदस्यत्रय दिपक बहादुर गुरुङ, इन्द्रहाङ्ग लिम्बू र राममान श्रेष्ठ, संविधानसभा सदस्यद्वय भिमप्रसाद गौतम र मानपुर चौधरी र प्रतिनिधि सभाका पूर्व सदस्यद्वय ओमकारप्रसाद गौचन र बीरबहादुर लामा एवं २०६३/६४ को अन्तरिम व्यवस्थापिका–संसदका पूर्व सदस्य कमानसिं लामाको निधन भएकोमा शोक प्रस्तावहरू पारित गरिएका थिए।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...