विप्लव नेकपाका कम्पनी कमिसारसहित दुई जना पक्राउ

Nekapa biplab samuha arrested

विराटनगर । नेत्रविक्रम चन्द (विप्लव) नेकपाका कम्पनी कमिसारसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) छन् ।

उनीहरु बसेको स्थानबाट नालसहितको भरुवा बन्दुक १ थान, त्यसमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, विष्फोटक पदार्थ जिलेटिन ३ केजी, सुतली बम २ थान, सकेट बम १ थान, टुकी बम एक थान, इलेक्ट्रिक डेटोनेटर ३५ थान, ननइलेक्ट्रिक डेटोनेटर १८ थान, गन पाउडर र बारुद ४ बट्टा लगायतका सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं। १ घुर्मिसेस्थित विजुली प्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनी सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी विज्ञान राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विप्लव समूहका नेता कार्यकर्ता रहेको सूचनाको आधारमा मिक्लाजुङ क्षेत्रमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी उपरीक्षक सन्तोष खड्काको कमाण्डमा टोली परिचालन गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस