लागुऔषध र सुनसहित नेपाल-भारत सीमा क्षेत्रबाट ४ जना पक्राउ

Arrested

कञ्‍चनपुर । बेलडाँडी गाउँपालिकानजिक नेपाल-भारत सीमा क्षेत्रबाट चार जनालाई सशस्त्र प्रहरीले लागुऔषध र सुनसहित पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्‍वार्टर शैलेश्‍वरी कञ्‍चनपुर मातहतको बोर्डर आउट पोस्ट भुडा र बोर्डर आउट पोस्ट झिलमिलाको सीमा नाका गस्ती टोलीले उनीहरूलाई हिजो साँझ पक्राउ गरेको हो ।

शैलेश्‍वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ पर्नेमा कैलाली उपमहानगरपालिका २ का १६ वर्षीय हिमाल शाह, कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका १० का २८ वर्षीय मनीष सुनारलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामध्ये शाहबाट सशस्त्र प्रहरीले लागु औषध ब्राउन सुगर तीन दशमलव पाँच ग्राम र अर्का पक्राउ परेका सुनारबाट एक दशमलव पाँच आना अवैध सुन बरामद गरेको छ ।

यसैगरी भीमदत्त नगरपालिका ३, भाँसी बस्ने ३५ वर्षीय जनकराज जोशी र सोही नगरपालिका वडा १५ बस्ने ३६ वर्षीय नगेन्द्र चन्दलाई मोटरसाइकलको सिटभित्र लागु औषध लुकाइछिपाई राखेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ गरेकाहरुबाट लागुऔषध कोरेक्स ६०० मिलिटरका ६ बोतल, नाइट्रोभेट २४ चक्की, प्रोभोलिन स्पास १५ वटा बरामद गरेको छ ।

बरामद लागुऔषध, सुन, मोटरसाइकल र पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस