दसैँमा घर जाने सैनिकलाई सेनाले आफ्नै जहाज र बसमा घरसम्मै पुर्‍याउने

Nepal army1 768x497

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत घरसम्म पुर्याउन तयारी थालेको छ ।

जंगिअड्डाले दशैं बिदामा सकेसम्म कम जनशक्तिलाई आवश्यकता र प्राथमिकताका आधारमा बिदा दिएर घरसम्म नै पुर्याउने व्यवस्था गर्न लागेको हो । दशैं बिदामा घर जानेहरु भने क्वारेन्टाइन बसेका र सुरक्षा मापदण्ड पुरा गरेकाहरु मात्र हुनेछन ।

नेपाली सेनाका प्रवक्ता एवम् सहायरथी सन्तोषबल्लभ पौडेलले सम्भव भएसम्म आवश्यकता र प्राथमिकता हेरेर कम जनशक्तिलाई बिदा पठाइने गरी तयारी गरिएको जानकारी दिए ।

‘कोरोना संक्रमण सुरु भएदेखि बिदा रोकिएको अवस्था थियो, लामो समयसम्म बिदा नदिइएका कारण आवश्यकता र प्राथमिकता हेरेर आफ्नै जहाज तथा सवारीमा घरसम्म पठाइने गरी तयारी भइरहेको छ,’ सैनिक प्रवक्ता पौडेलले जानकारी दिए ।

सेनाले सार्वजनिक यातायातका साधनमा संक्रमणको जोखि हुने भएका कारण यात्रा असुरक्षित हुन सक्ने र सोही कारण गाउँघरसम्म नै संक्रमण पुग्न सक्ने भन्दै आफ्नै जहाज, हेलिकप्टर र बसमार्फत सैनिकलाई घरसम्म पुर्याउने तयारी गरिरहेको हो ।

हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन भने १ हजार ४ सय ७५ जना अझै उपचाररत छन । कोरोना संक्रमणकै कारण हालसम्म दुई सैनिकको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस