कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु  

Corona dead body

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै संख्या ७ सय ३९ पुगेको हो ।

सुनसरी, बर्दिया, इलाम, मोरङ, नुवाकोट, कास्की र रुपन्देहीका संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । त्यसैगरी बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका एक कोरोना संक्रमित पुरूषको पनि मृत्यु भएको छ ।

ठाकुरबाबा नगरपालिका–६ का ४२ वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान २ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । उता बिराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेजमा एक–एक जनाको मृत्यु भएको छ ।

शनिबार राति बिराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय पुरुषको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । बिराटनगरकै एक वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित रहेका बिराटनगर महानगरपालिका–७ का ८६ वर्षीय वृद्धको आइतबार बिहान करिब ९ बजे मृत्यु भएको हो ।

उता इलामकी ८ वर्षीया बालिकाको कोरोना संक्रमणले मृत्यु भएको छ । मिर्गौला पीडितसमेत रहेकी इलामको सुर्योदय नगरपालिका–१२ की ८ वर्षीया बालिकाको दुई वटै मृगौलाले काम गर्न छाडेको थियो ।

४ दिनअघि कोरोना पोजिटिभ पुष्टि भएकी बालिकलाई उपचार गर्दा अवस्था सुधार नदेखिएपछि अस्पतालले शुक्रबार डिस्चार्ज दिएकोमा उनको बाटोमै मृत्यु भएको हो ।

यता, नुवाकोट जिल्ला मै पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शिवपुरी गाउँपालिका–४ सिरेनीकी ६१ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उता कास्कीको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित वृद्धाको पनि मृत्यु भएको छ । त्यसैगरी रुपन्देहीमा पनि थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस