‘लकडाउन गर्ने योजना छैन’

Pradeep gyawali 2192019044200 1000x0 2

काठमाडौँ । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढ्दै गए पनि बन्दबन्दी पुनः गर्ने सरकारको कुनै योजना नरहेको बताउनुभएको छ । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता ज्ञवालीले भन्नुभयो, “काठमाडौँमा सङ्क्रमण तीव्र बन्दै गएको छ । यद्यपि यति हुँदाहुँदै पनि बन्दाबन्दीमा पुनः जाने सरकारको योजना छैन । त्यस्तो अवस्था नआओस्, यसमा नागरिकको स्वास्थ्य सचेतनामा पनि भर पर्छ ।”

प्रवक्ता ज्ञवालीले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएकाले विभिन्न निकायबाट जारी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न सबैको सहयोग आवश्यक हुने बताउनुभयो । उहाँले देशभरकै ६० प्रतिशत सङ्क्रमित काठमाडौँमा रहेकाले व्यवस्थापनमा चुनौती देखा परेको बताउनुभयो । उहाँले काठमाडौँमा भेन्टिलेटर, आईसीयू कक्षको विस्तारमा सरकारले ध्यान दिइरहे पनि कोरोना नियन्त्रणमा देशभित्रैका केही असल अभ्यासलाई काठमाडौँले पछ्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले धेरै हिसाबले देशलाई नमुना उदाहरण प्रस्तुत गर्नुपर्ने काठमाडौँ महामारी विरुद्धको लडाइँका अलि पछाडि परेको बताउनुभयो । उहाँले स्थिति जटिल बन्न नदिन सबै नागरिकको सचेत साथ र सहयोगको खाँचो रहेको चर्चा गर्नुहुँदै विगतमा जस्तो उल्लासमय रूपमा होइन, महामारीका बेला अपनाउनुपर्ने सतर्कतामा ध्यान दिँदै चाडपर्व मनाउन आह्वान गर्नुभयो ।

असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषको सञ्चालक समितिको अध्यक्ष पदमा अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीलाई नियुक्त गरेको छ । प्रवक्ता ज्ञवालीका अनुसार राष्ट्रिय खेलकुद परिषद्का सदस्यहरूमा हरि खड्का, मानदेव हजारा, पुरेन्द्रविक्रम लाखे, राजेशकुमार गुरुङ, सुमित्रा चौधरी, नन्दा बस्याल, एकेन्द्र कुँवर, चन्द्रवदना राई र मोहमद सागर शेखलाई मनोनयन गरिएको छ । परिषद्को प्रदेशस्तरीय प्रतिनिधित्वसहित सदस्य मनोनयन गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै लुम्बिनी विकास कोषको सदस्यसचिवमा सानुराजा शाक्यलाई नियुक्त गरिएको छ । त्यस्तै नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा डिमप्रसाद पौडेल, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा वाशिष्टप्रसाद रिजाल, सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा डा बाबुराजा अमात्य र औषधि परामर्श परिषद्को सदस्यहरूमा प्रां.डा. सङ्घरत्न वज्राचार्य, बाबुराम हुमगाई र दीपकप्रसाद दाहाललाई नियुक्त गरिएको जनाइएको छ । त्यस्तै राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र विकास समितिको अध्यक्षमा प्रा.डा. देवबहादुर रोका क्षेत्रीलाई नियुक्त गरिएको छ ।

सरकारले पेट्रोलियम पदार्थ तथा ग्यास मूल्य स्थिरीकरण कोष सञ्चालन दोस्रो संशोधन नियमावली, २०७७ र स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम नियमावली सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गरिएको जनाइएको छ । सरकारले निकासी पैठारीमा लगाइएको बन्देजमा केहीलाई खुला गर्ने निर्णयसमेत गरेको छ । तयारी मदिराको पैठारीमा लगाइएको पूर्ण बन्देजलाई समेत सरकारले हटाउने निर्णय गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया दिनुहोस