चैनपुर विमानस्थल निर्माण सम्पन्न

5f67f0a2395e1 bajhang airport fglaucm9qk

काठमाडौँ । करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ ।

विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए । दशँैसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए।

विमानस्थलको करिब ६५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालाको काम सकिएको छ, उनले भन्नुभयो, विमानस्थलको साइड फिलिङको काम भने भइरहेको छ । असोजको दोस्रो साताभित्र परीक्षण उडानको तयारीसमेत भइरहेको उहाँको भनाइ छ ।

नागरिक उड्डयन मन्त्रालयले उडानको अनुमति दिए विमान अवतरण गर्न सकिने तथा विमानस्थल सञ्चालन हुन सक्ने बताइएको छ । समयमै काम पूरा भएर विमानस्थल सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका र गम्भीर प्रकारका बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने स्थानीयवासी देव खड्काले बताए ।

बझाङमा हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिउँ जम्मा हुने र वर्षा भएको बेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने भएकाले पनि यात्रुले निकै सास्ती खेप्नुपर्ने बाध्यता छ ।

विमानस्थल सञ्चालनमा आएपछि आन्तरिक पर्यटनमा समेत टेवा पुग्ने स्थानीय पर्यटन व्यवसायी किशोर खड्काले बताए । उनले साइपाल हिमाल, खप्तड राष्ट्रिय निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानसरोवर लगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीयस्थलमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको समेत वृद्धि हुने विश्वास गरिएको छ ।

साढे चार दशकअघि २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्नति हुन नसक्दा जहाजले उडान भर्न सकेका थिएनन् । केही समय नेपाल वायुसेवा निगम बाहेकका निजी विमान कम्पनीले पनि बझाङबाट नेपालगञ्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए ।

द्वन्द्वकालमा तत्कालीन माओवादीले दुई पटक विमानस्थलको टावरमा बम विस्फोट गराएपछि पनि विमानस्थलमा निजी क्षेत्रका जहाज फाटफुट रूपमा चल्ने गरेका थिए तर पछि बझाङबाट नेपालगञ्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीले उडान रद्द गरेका थिए ।

लामो समय सेवा दिएको नेपाल वायुसेवा निगमले २०६६ सालमा बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो । विमानस्थल मर्मत सम्भार भएपछि धनगढी–बझाङ रुटमा दैनिक दुईवटा ट्विनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीले बताउँदै आएका छन् । गोरखापत्र दैनिकमा शैलेन्द्र रोकायाले खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस