के टिआर विश्वकर्माले दलित आन्दोलनलाई दरबारमा बुझाएकै हुन् त ?

Ganesh bk nishannews

‘...फेरि पनि मुक्तिकै लागि अरु गंगालालहरुलाई जन्माउनु छ । रातो सूर्य र शान्त चन्दसँगै नेपाललाई नेपाल भनी चम्काउनु छ ।’

यी क्रान्तिकारी भनाई नेता टिआर विश्वकर्माका हुन् । उनको जन्म वि.सं. १९९० सालमा सुनसरी जिल्लामा भएको थियो । उनी क्रमशः बुझ्ने भएपछि आफू र आफ्नो परिवारले भोग्नुपरेको भूमिको असमानता र भूमिमा गर्नुपर्ने न्यून ज्याला आदिको कारण खोज्दै सोको न्यायीक श्रम सम्बन्धका लागि सामाजिक परिवर्तनको आन्दोलनमा होमिएका थिए । उनले कष्टपूर्ण पारिवारिक जीवन बिताएका थिए ।

धरानबाट काठमाडौं आएर दलित नेता सहर्षनाथ कपालीको घरमा डेरा लिएर बसेका टिआरका अगाडि थुप्रै अवसरहरु थिए होलान् । तर उनले सबैलाई परित्याग गरे । उनले दलित आन्दोलनको नेतृत्वको शर्तमा सहर्षनाथ कपालीकी भतिजी मिठाइदेवी विश्वकर्मासँग विहे गरे । त्यसबेला काठमाडौं बाहिर घर भएका कम्यूनिस्ट नेताहरुले काठमाडौंका नेवार समुदायका छोरीसँग राजनीति स्वार्थका कारण अन्तरजातीय विवाह गरेका दर्जनौं उदाहरण छन् । जस्तै पुष्पलाल, मनमोहन अधिकारी, झलनाथ खनाल, केपी शर्मा ओली, अमृत बाहेरा, सुरेन्द्र पाण्डे, प्रदीप नेपाल आदि ।

सोही प्रभावमा टिआरलाई पनि संयोग जुटेको हुनसक्दछ । किनभने उनी पनि एक कम्युनिस्ट नेताका रुपमा क्रियाशील थिए । तर उनको विवाह भने त्यति सजिलै भएन । जातीय कारणले असम्भव भएपछि तत्कालीन दलित नेताहरुले योजनाबद्ध रुपमा दलित संगठनको कार्यक्रममा मिठाइदेवीलाई धरानमा अथितिका रुपमा बोलाएर विवाह गराएका थिए । माइती पक्षका मान्छेहरुले ‘कामीकोमा गई’ भनेर उनलाई बहिष्कार गरे । मिठाइदेवी कपाली र टि.आर. विश्वकर्मा बीचको विवाह नेपालमा भिन्नाभिन्नै थरका दलितबीच भएको सम्भवतः पहिलो विवाह थियो । त्यसको पृष्ठभूमिमा दुवै अभियन्ताको अठोट र साथीभाइको सहयोग थियो । त्यसैको फलस्वरुप अन्तरदलित विवाह सफलताको विन्दुमा पुग्यो ।

नेकपाका नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल भन्नुहुन्छ ‘टिआर हाम्रा गुरु हुन्, हामी उहाँका पर्चा छर्ने कार्यकर्ता थियौं ।’ नेकपाका संस्थापक नेता निर्मल लामाले उनलाई नेपाली दलितहरुको जातीय स्वतन्त्रता र तिनलाई समानता दिलाउन निरन्तर संघर्ष गर्ने जुझारु सेनानी र दलित आन्दोलनका अगुवाका रुपमा चित्रण गरेका छन् । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी टिआरसँग वनारसमा सँगै पढेका साथी थिए । उनका अनुसार टिआर भएको भए आज दलितका यावत समस्यालाई उनी सुक्ष्म तरीकाले उठाउँथे, कम्यूनिष्ट आन्दोलनसँग जोड्थे र वर्तमान लोकतान्त्रिक पद्धतिमा उनी आफ्नो ठूलो हैसियत निर्माण गर्दथे ।

त्यसैगरी प्रदीप नेपालले टीआरलाई आफ्नो गुरुको रुपमा चित्रण गर्दै उनी माक्र्सवाद, लेनिनवाद तथा चिनियाँ र रसिया कम्यूनिष्ट क्रान्तिको गहन अध्ययन गर्ने भएकाले उहाँमा वाक शक्तिको निखरता थियो । त्यही पर्खर वक्ता भएकै कारण उनको भारतीय नेताहरुसँग समेत राम्रो सम्बन्ध बन्यो । त्यस्तो व्यक्तित्व, धारा प्रवाह बोल्न सक्ने र आफ्नो जिम्मेवारीमा उतिकै सक्रिय भएर लाग्ने दलित नेताको आज पनि आवश्यकता देखिन्छ । नेकपाका पुराना नेता डिपी अधिकारीका अनुसार टिआर २०१५ सालमा भूमिगत अवस्थामा भएको कम्यूनिष्ट पार्टीको दोस्रो राष्ट्रिय सम्मेलन र २०१९ सालको वनारसमा भएको कम्यूनिष्ट भेलामा उहाँहरुसँगै हुनुहुन्थ्यो । नेकपाको प्रथाम राष्टिय सम्मेलन २०१० मा त टिआर सुनसरीबाट पैदल काठमाडौं आएको चर्चा छ ।

आर विश्वकर्मा नेपाली दलित आन्दोलनमा सबैको प्ररणाको स्रोत हुनुहुन्थ्यो । नेपाली दलित आन्दोलनले उनका विषयमा जति खोज अनुसन्धान गर्नुपर्दथ्यो, त्यो गर्न सकेको छैन र खोजी गर्न चाहेको पनि देखिँदैन । यति मात्र होइन, कम्यूनिष्ट आन्दोलनले समेत उनका विषयमा त्यति चाँसो राखेको देखिँदैन । एकजना सामन्य ग्रामिण किसान, त्यसमा पनि दलित समुदायको परिवारमा जन्मेका टिआरको योगदानलाई नेपाली बाम एवं प्रजातान्त्रिक आन्दोलनमा स्थापित गर्न सक्दा आजका दलित यूवाहरुलाई ठूलो विश्वविद्यालय बन्न सक्थ्यो ।

टिआरले नेपालमा प्रथम दलित भातृ संगठन (अछूत मुक्ति मोर्चा), पहिलो पटक दलित शब्दको प्रयोग (२०२४), आरक्षणको माग (२०२९) र देशव्यापी संयुक्त दलित संगठनको खाका निर्माण गरेका थिए । यही विचार संगठनको जगमा उनले दलित आन्दोलनलाई संयुक्त आन्दोलनको रुपमा विकास गरेका थिए । यद्यपि विचारका हिसाबले उनी कम्यूनिष्ट नेता भएकाले दलित आन्दोलनलाई बैचारिक बनाउन ठूलै भूमिका खेलेको सहजै बुझ्न सकिन्छ । उनले दलित आन्दोलनमा लैगिक समानताको अपरिहार्यतालाई महशुस गर्दै आफ्नो जीवन साथी मिठाइदेवी विश्वकर्माको अगुवाईमा नेपालको पहिलो दलित महिला संगठनको स्थापना गर्न प्रोत्साहन गर्नुभयो । पशुपति प्रवेश, विजेश्वरी छावास निर्माण लगायतमा उनको अग्रेणी भूमिका देखिन्छ ।

नेपाली दलित आन्दोलनको सबैभन्दा कठिनतम् समयमा टिआरले दलित आन्दोलनको बैचारिक पक्ष जोगाएका थिए । विशेषगरी वि.सं. २०१७ सालदेखि वि.सं. २०४७ सालसम्मको बीचको ३० वर्ष नेपाली दलित आन्दोलन निकै रक्षात्मक अवस्थामा थियो । त्यही कष्टपूर्ण समयमा जातीय सामुदायीक गुठीका रुपमा अस्तित्वमा रहेका पूर्वको जदुवीर र उमालालहरुको संगठन, काठमाडौं उपत्यकाको सहर्षनाथ, मोहनलाल कपालीहरुको संगठन र बाग्लुङको भगतसर्वजित विश्वकर्मा, पदमसिंह विश्वकर्माहरुको विश्व सर्वजन संघ लगायत देशभरिका आन्दोलनहरुलाई जोडेर राजनीतिक तथा सामाजिक रुपान्तरणको मूलप्रवाहमा ल्याउने काम टिआरहरुले नै गरेका थिए । टिआर विश्वकर्माले एक जना कम्यूनिष्ट विचार धाराको दृष्टिकोणबाट दलित आन्दोलनलाई जोगाइ राख्नुभयो ।

टिआर विश्वकर्मा एक जना कवि, एक जना शिक्षक, एक जना साहित्यकार, एक जना लेखक र एक जना कुशल पत्रकारसमेत थिए । एक जना सामन्य शिक्षण पेशाबाट घरपरिवार चलाउँदै उनले सिंगो जीवन दलित आन्दोलन र मुलुक परिवर्तनको महायज्ञमा लगाएको पाइन्छ । वि.सं. २०१३ सालमा डा. भीराव अम्बेडकरको नेपाल भ्रमणपछि भारतका दलित नेताहरुसँग नेपालका दलित नेताहरुको सम्पर्क बढ्यो । यसको भूमिका मुलतः टिआरले खेलेका थिए । पछि भारतीय नेता जगजीवन रामको निमन्त्रणामा २०१६ सालमा टिआर विश्वकर्माको नेतृत्वमा नेपालबाट एक प्रतिनिधिमण्डल भारत भ्रमणमा गएको थियो । जसले नेपाल र भारतीय दलित आन्दोलनकाबीच भाइचारा सम्बन्ध विस्तार गरेको थियो ।

टिआरको अगुवाइमा २०२४ सालमा दलित जनविकास परिषदको राष्ट्रिय सम्मेलन भएको थियो । त्यही सम्मेलन र संगठनको नाममा पहिलो पटक राखिएको ‘दलित’ शब्द नै नेपाली दलित आन्दोलनमा संस्थागत रुपमा स्थापित भएको मानिन्छ । त्यसैगरी उनकै नेतृत्वमा वि.सं. २०२९ सालको १४ अञ्चल ७५ जिल्लाका दलित अगुवाहरुको सहभागितामा सम्पन्न राष्ट्रिय दलित सम्मेलनले नेपालमा प्रथम पटक दलित समुदायका लागि आरक्षणको माग गरिएको थियो । सोही सम्मेलनले नै दलित समुदायको अगुवाइमा देशव्यापी संगठनको घोषणा गरेको थियो ।

टिआर लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय नै थिए । टिआरका दाजु हिरालाल विश्वकर्मा भने नेपाली कांग्रेससँग आबद्ध थिए । समयक्रममा सहर्षनाथ कपाली सांसद् भए । हिरालाल विश्वकर्मा त मन्त्री नै भए । राजा २०२० पछि नेकपाका ततकालिन केशरजंग रायमाझीहरुको गलत निर्णयका कारण कम्यूनिष्ट पार्टीमा महासंकट उत्पन्न भएपछि टिआर विश्वकर्मा पनि कम्युनिस्ट विचार थाँती राखेर भए पनि राष्ट्रिय सभाको सांसद बन्न पुगे । तर पनि उनी दलित आन्दोलनको पक्षमा उभिरहे । उनले दलित आन्दोलनलाई पञ्चायतमा पनि दलित हक अधिकारका पक्षमा वकालत गर्दै दह्रोसँग उभि रहे ।

हुन त टिआर विश्वकर्मालाई दलित आन्दोलनलाई दरबारमा बुझाएको आरोप लाग्ने गरेको छ । टिआरले पनि पञ्चायतमा फँसेको र दलितको पक्षमा खुलेर काम गर्न नसकेकोमा पछूतो गरेको पाइन्छ भने दलित आन्दोलनलाई स्थापित गर्न टिआरले पूरै पञ्चायतभरि पुष्पलालको कम्युनिस्ट पार्टीमा रहनुभयो भन्ने उनकी जीवित धर्मपत्नी मिठाइदेवीको दावी छ । यद्यपि पञ्चायतमा सांसद हुनु पञ्चायतको उपयोगको नीति मात्र हो । उनको मूल ध्येय दलित अधिकार नै थियो । बरु उहाँले पदका लागि कहिल्यै सिद्धान्तमा सम्झौता गर्नुभएन भन्ने उनका समकालीनहरुको विश्लेषण रहँदै आएको छ ।

पञ्चायतमा गएको दोषबाट मुक्त हुन टिआरले २०४७ जेठ २९ र ३० गते देशभरिका करिव ३ सय दलितको उपस्थितिमा राष्ट्रिय सम्मेलनको आयोजना गर्दै देशभरिका दलितहरु प्रजातन्त्रको पक्षमा रहेको सन्देश दिएका थिए भने सम्मेलनबाट भूमि, धर्मनिरपेक्षता र आरक्षणको मुद्दा नयाँ संविधानमा समावेश गर्नुपर्दछ भन्ने माग अगाडि सारेका थिए । टिआरमा न त्यस्तो अवसरवाद देखिन्छ, न त आन्दोलनलाई धोखा दिएको इतिहास नै । उनको दृढ विश्वास थियो, देशव्यापी संगठनमार्फत दलितहरुको साझा संगठन निर्माणबाट मात्रै दलित आन्दोलन सफल हुनसक्छ । राजनीतिक संघर्ष तथा दलित आन्दोलनमा लागेका हरेक योद्धाको जीवन विडम्बनापूर्ण हुनसक्छ भन्ने उहाँका विभिन्न कविता तथा वक्तव्यमा झल्किन्छ । यसलाई पुष्टी गर्ने आधार पनि प्रशस्त छन् ।

नेपालका दलित नेताहरुको अन्त्य दुःखद नै भएको देखिन्छ । चाहे हिरालाल विश्वकर्मा होउन, चाहे रत्न विश्वकर्मा होउन । पानवीर विश्वकर्मा होउन, चाहे गोल्छे सार्की होउन, चाहे मनबहादुर विश्वकर्मा होउन, चाहे पदमसिंह विश्वकर्मा होउन । चाहे रीपलाल विश्वकर्मा होउन, प्रतापराम लुहार सबैको योगदानअनुसार अवसर विनै मृत्यूवरण गर्नुपरेको दुःखद इतिहास हाम्रासामु जिवित छ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलालका समकालीन थिए टिआर विश्वकर्मा । लोकतान्त्रिक र कम्युनिस्ट आन्दोलनकी नेतृ साहना प्रधानकी समकालीन थिइन् मिठाइदेवी विश्वकर्मा । तर दुबै जना गुमनाम भए, बनाइए । सायद पद र प्रभावमा नभएकाले होला, उनीहरु दुबैको योगदानलाई वास्ता गरिएन । आज पनि मिठाइदेवी जिवित छन् । तर उनलाई महिला समावेशीकरणको कुनै लाभ मिलेको छैन ।

दलित आन्दोलन र कम्युनिस्ट आन्दोलन उनीहरुको योगदानको कदर र चर्चा गर्नमा चुकेको देखिन्छ । समग्रमा टिआर विश्वकर्मा नेपाली दलित आन्दोलनका अग्रेणी नेता थिए । जसले नेपाली दलित समस्यालाई बुझ्ने र बदल्ने विचार निर्माण गरे । दलितहरुको साझा झण्डा दलित शब्द स्थापित गरे । उत्पीडिनको क्षतिपूर्तिवापत आरक्षणलाई स्थापित गरे । अर्थात् ‘शिक्षित होऔं, संगठीत होऔं र संघर्ष गर’ भन्ने विचारलाई नेपाली भूमिमा अझ वैज्ञानिक ढंगले स्थापित गरे । त्यसैले टिआरहरुको योगदानको खोजी गर्दै उहाँहरुको जीवन यात्राबाट शिक्षा लिँदै भविष्यको यात्रालाई तय गरिनुपर्दछ । यदि हाम्रो आन्दोलनले टिआरहरु बिर्सन थाल्यो या कम आँक्ने गरी पूर्वाग्रह पाल्यो भने हामीभन्दा पछिल्लो पुस्ताले हामीले प्रयोग गरेको ‘भीरको डोको’ सुरक्षित राखेका हुनेछन् ।

(लेखक : अधिकारकर्मी र नेकपाका नेता हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...