गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च

Gandaki pradesh 4 gandki gandaki ga4444

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।

सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सक्रिय कोरोनाको प्रतिशत ९ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् । कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।

पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । यसैगरी बाग्लुङमा २६३ सङ्क्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन् । जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० सङ्क्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ ।

गोरखामा ११६ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ । लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ ।

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक/एकजना सङ्क्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोदविन्दु शर्माले जानकारी दिए । प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस