जिल्ला प्रशासनले दिने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि बन्द

Griha mantralaya

काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुनेगरी सवारी पास जारी नगर्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरूलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।

‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू, नगराउनुहुन आदेशानुसार अनुरोध छ’ गृह मन्त्रालयले सवारी पास वितरण रोक लगाएकोबारे जारी गरेको सूचनामा लेखिएको छ ।

सरकारले कोरोना संक्रमण सुरु भएपछि र लकडाउनको अवधिमा एक जिल्लाबाट अर्को जिल्लामा आउन/जानका लागि प्रशासन कार्यालयबाट सवारी पास वितरण गर्दै आएको थियो ।

पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।

बुधबारसम्म जारी भइसकेका पासहरुको सवालमा भने केही बताइएको छैन । त्यसले गर्दा पास लिएर बसेकाहरु पनि अन्यौलमा परेका छन् ।

 

प्रतिकृया दिनुहोस