हिले–पाख्रिबास सडक : बाह्र वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा राखे जस्तै

Birbal khadka 28

गत शनिबार धनकुटाको हिले–पाख्रीवासको हिलाम्मे सडकमा एम्बुलेन्स फसेर समयमा अस्पताल लैजादै गर्दा भोजपुरको अरुण गाउँपालिका–४ चरम्बीका ५६ बर्षीय खड्गबहादुर सार्कीको मृत्यु भयो । हिलाम्मे सडकमा करिब दुई घण्टा एम्वुलेन्स फस्दा उनलाई आफन्तले समयमै अस्पतालसम्म लैजान पाएनन् ।

वर्षाको हिलोमा गाडी भासिँदा घण्टौसम्म सवारी साधन बीच बाटोमै रोकिने गरेका छन् । निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको लामो समय बितिसक्दा पनि सडक नबन्दा सो सडकमा यात्रा गर्नेहरुले बर्षौअघिदेखि सास्ती बेहोर्दै आएका छन् । बर्खामा अत्याधिक हिलोका कारण हरेक बर्ष सो सडकमा कष्टकर रुपमा सवारी साधन गुड्ने गरेका छन् । हिउँदमा धुलाम्मे सडकका कारण सास्ती बेहोर्नुपर्ने बाध्यता छ । विगत २७ वर्षअघि निर्माण शुरु भएर अहिलेसम्म आउँदा पनि हिले–भोजपुर सडक निर्माणको काम नसकिँदा वर्षौदेखि वर्षाको समयमा हिलो र हिउँदमा धुलोको दुःख दिँदै आएको छ । यस्तो सास्ती कहिलेसम्म भाग्नुपर्ने हो ?

२७ वर्ष अगाडी म २/३ कक्षामा पढ्ने बेला नेपाली सेनाले डोजर ल्याएर बाटो खन्दैछन् भनेर बिहान हाट बजार गएकाहरुले गाऊ फर्किदा कुरा गर्थे । त्यसबेला म पनि हेर्नकै लागि भए पनि एक घण्टाको बाटो हिडेर तत्कालीन पाख्रिबास गाविससम्म आइपुगेको छु । मसँगै डोजरको आवाज सुन्न आउनेमध्ये केही त जनप्रतिनिधि पनि भइसके । तर त्यसबेला र अहिलेमा कुनै फरक छैन । बितेको २७ वर्षमा बाटोको अवस्था पनि त्यही नै छ ।

अरुणमा धेरै पानी बगेको धेरै भयो । समय पनि परिवर्तन भइरहेको छ । तर विकासमा केही परिवर्तन भएको देखिँदैन । आज वर्षा लाग्यो कि हिलोले यातायात चल्न सक्दैनन् । हिउँदा लाग्यो धुलाम्यै बनाउँछ । वर्षामा एम्बुलेन्स त के, पैदल यात्रीसमेत हिड्न सक्दैनन् । सडकको अवस्था बिग्रिएकै कारण एम्बुलेन्स चल्न नसक्दा विरामीले बाटैमा ज्यान गुमानुपरेको छ । यो क्रम कहिलेसम्म जारी रहन्छ ? के यो सडक कहिले राम्रो बनाउन सकिँदैन ?

अब त अरबबाट घर फर्किदाँ पनि काठमाडौंदेखि पाख्रिबास पुग्ने बाटो कस्तो भनेर सोधे भने उत्तर भन्न पनि लाजै हुने अवस्था छ । नाक खुम्च्याएर निरास हुनुपर्ने अवस्था छ । यो अवस्था कहिलेसम्म रहन्छ ? १२ महिना नै सवारी साधन चल्ने कहिले होला ? कल्पनै कल्पनामा यत्तिका समय भइसक्यो । अब त यस्तो लाग्न थाल्यो की हाम्रो पुस्ताले यो सडक कालोपत्रे भएको हर्नै पो पाउँदैन कि । यस्तो अवस्था आउनुमा सरोकारवालाले ध्यान नदिएरै हो ।

हिले–पाख्रिवास–भोजपुर सडक खण्ड अन्तर्गतको हिले–पाख्रिबास सडक खण्डको स्वरुप परिर्वतन गर्न राजनीतिक आस्था र बिचारभन्दा माथी उठ्नै पर्ने बेला आएको छ । विकासप्रतिको आवाजलाई एक भएर वुलन्द गर्नुपर्ने बेला आएको छ । हिले–पाख्रिबास–लेगुवा सडक खण्ड कयौंपटक चुनावी नारा बनेका छन् । यसै ठाउँका जनताको मतबाट चुनाव जितेर विभिन्न दलका नेताहरु सांसददेखि मन्त्रीसम्म भएका छन् । तर उनीहरु यही सडकमा ठोक्किदै हिड्दा पनि बेलैमा सडक बनाउन पहल गरेको पाइँदैन ।

हुन त मध्य पहाडी लोकमार्गअन्तर्गत हिले–लेगुवा सडक खण्ड स्तरोउन्तिको जिम्मा पाएका निर्माण व्यवसायीले काम नगरेपछि धनकुटाका जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग पनि गरेका छन् । (तत्कालिन मुगा–७) मा जन्मिएका हालका प्रतिनिधिसभाका सदस्य राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान र पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर काम नगरी ठेकेदार भागेकाले ठेक्का रद्द गर्न माग गरेका छन् । यसलाई हेर्दा निर्माण कम्पनीकै बदमासी देखिन्छ ।

आर्थिक वर्ष २०७२/०७३ मा हिले–पञ्चे र पञ्चे–लेगुवा जम्मा २६ किलो मिटर सडक निर्माणको काम दि कञ्चनजंघा कन्स्ट्रक्सन र रौताहा सन्तोषी विरुवाले ठेक्का पारेको थियो । २०७५ फागुन २२ मा सम्पन्न गर्नेगरी सम्झाता भएको थियो । तर, यो सडकको काम अहिलेसम्म केही काम भएको छैन जस्तै भएको छ । निर्माण कम्पनीले ६५ प्रतिशत मात्र सकिएको बताए पनि सडक हेर्दा कहाली लाग्छ ।

१३ किलो मिटर निर्माणका लागि ३८ करोड २३ लाख २४ हजार ४ सय ६६ रुपयाँ र पञ्चे लेगुवा १३ किलो मिटरका लागि ३८ करोड २ लाख ३८ हजार ५७ पैसामा सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिलेसम्म हिले पञ्चे १३ किलो मिटर निर्माणका लागि २८ करोड २८ लाख ६६ हजार १ सय ५५ रुपैयाँ ५९ पैसा र पञ्चे लेगुवा १३ किलो मिटरका लागि १८ करोड ६७ लाख १८ हजार ७ सय ६१ रुपैयाँ ७६ पैसा भुक्तानी लिइसकेको छ । यसरी सडक बनाउने नाममा पैसा चाँही खुरुखुरु लिने अनि सडक चाँही जहिले जस्ताको तस्तै किन हुन्छ ?

देशकै गौरवको आयोजनाभित्र पर्ने मध्य पहाडी लोकमार्ग सडक खण्ड जहाँ लेगुवादेखि भोजपुर खण्ड अलग ठेक्काबाट कालोपत्रे भई सकेर सञ्चालनमा आइसकेको छ । तर, खासै गुणस्तरीय काम भने भएको छैन । तर, हिले, पाख्रिबास हुँदै लेगुवासम्मको सडक खण्ड जस्तो कन्त बिजोग भोजपुरपट्टि छैन । ‘कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्ग्रामा राख्यो, बाङ्गोको बाङ्गै’ भने जस्तै बनेको हिले–पाख्रिबास सडक । अब पनि हामी जस्ता जनताले सधैं छि भन्दै नाक खुम्च्याउने दिन नआओस् । यसतर्फ सरोकोरवालाको  ध्यान जान जरुरी छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...