विभेदमाथि विभेद : कहाँनिर खुस्किरहेको छ समाजको जुइनो ?

Dipa nepali nishannews

गत साउन १९ गते बिहिबार मध्यराती मोरङको बुढीगंगा गाउँपालिका –२ मुसहर वस्तीमा गुण्डाहरुद्धारा सांघातिक आक्रमण भयो । तरवार जस्ता हतियार प्रयोग भयो । घाईतेहरुको छातीमा, टाउको, गर्धन, आँखा, निधार र शरिरमा गहिरो चोट लागेको छ । घटनामा संलग्न १२ मध्ये ६ जनालाई मोरङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ भने अन्य ६ जना भने फरार छन् ।

तर पक्राउ परेका सबै आरोपीहरुलाई प्रहरीले विना कारवाही निमित्त वडाध्यक्षको रोहवरमा घटनाको भोलिपल्टै छाडिदिएको समाचारले न्यायिक निकायलाई लज्जित बनाएको छ । अपराधीलाई अनुसन्धान नगरी निमित्त वडाध्यक्षबाटै पीडितको उपचार गरिदिने र केही क्षतिपूर्तिसमेत दिलाएर मिलापत्र गराउने प्रयास गरेको पाइयो । यसरी जिम्मेवार व्यक्तिबाटै अभियुक्त उन्मुक्ती पाउछ भने पीडितले न्यायिक निकायबाट के आशा गर्न सकिन्छ ? पीडितको पक्षमा उभिनुपर्ने वडाध्यक्षले नै अपराधी बचाउन खोज्नु कतिको जायज छ र ? त्यस्ता नेतालाई कसरी सम्मान गर्न सकिएला र ? स्थानीय सरकारका नेता र ठूला पार्टीका नेता संलग्न रहँदा विधिको शासन र परिवर्तनका नाममा गरिएको राजनीतिकको उदांगो चरित्र चित्रण भएको छ ।

मध्यराति जघन्य आक्रमणबाट आमा घाइते भएपछि डर त्रासले २४ वर्षीय उर्मिला ऋषिदेवले शुक्रवार साँझ आत्महत्या गरिन् । ऋषिदेव समुदायमा गुण्डाद्धारा आक्रमण मात्र भएन, त्यहाँ प्रहरी प्रशाासन र स्थानीय वडाध्यक्षको लापर्वाहीमा उर्मिलालाई आत्महत्या गर्न बाध्य बनाएको छर्लङ्ग पनि भएको छ । कलिलो उमेकी उर्मिलालाई त्यो आक्रमणले किन त्यसरी त्रसित बनाएर आत्महत्या गर्न बाध्य बनायो ?

जबकी मध्यरातमा आक्रमण गर्नेहरुलाई प्रहरीले पक्राउ गरेर पनि छाडिदिएको र आमा सरस्वतीलाई पनि काटेर घाइते बनाएको घटनाकी प्रत्यक्षदर्शी २४ वर्षीया छोरी उर्मिला ऋषिदेवले आफुहरुमाथि फेरि आक्रमण गर्न आउने त्रासको चिन्ताले घरभित्रै पासो लगाएर २३ साउन विहिवार दिउँसो आत्महत्या गरिन् । यो घटनाले पीडितलाई न्यायिक निकाय र प्रहरी प्रशासनबाट गर्ने विश्वास र आशालाई निराशामा परिणत गरेको छ की छैन ? यो निकै गम्भीर विषय बनेको छ ।

मानवलाई मानव देख्न नसक्ने हाम्रो चेतनाको आँखा पनि सुप्रसिद्ध मनोवैज्ञानिक कथाकार विपी कोईरालाद्धारा लेखिएको ‘दोशी चस्मा’ नामक कथाझै किन भइरहेको छ ? अब हाम्रो समाज र आगामी दिनको मानव अस्तित्व र आत्मासम्मानको विषय कहाँ गइरहेको छ ?

अन्य देशहरुलाई हेर्ने हो भने टेक्नोलोजी, विज्ञान, खोजअनुसन्धानलाई तिव्रता दिएर निक्कै अगाडि बढिरहेका छन् भने हामी सधैँ जात, वर्ग र लिंगकै कुरामा अल्झिरहेका छौं । एकले अर्काको सम्मान नगरी आफैँ भित्रभित्रै तानातान गरिरहेका छौं । झन–झन एकले अर्कालाई हिलो छ्यापेर आफु चोखिनेतिर लागिरहेका छौं । किन ? के यसले हामीलाई उपलब्धिको बाटोतिर जान देला त ? परिवर्तनका संवाहक ठानिएका नेपाली युवाले पनि सामन्ती अवशेष कै प्रयोग गर्ने हो भने देशमा कसरी आमुल परिवर्तन होला त ?

जति–जति हामी चेतना र रुपान्तरणको कुरा गर्छौ, त्यसको बदलामा झन समाजमा जघन्य र विभेदका घट्नाहरु एक पछि अर्को बढ्र्दै गइरहेका देखिन्छन् । यसले के कुराको चित्रण हुन्छ भने सरकार र सम्बन्धित निकायले नै यसखालका घटनामा निकै कमजोर बनाउने प्रयासरत हुन्छन् र पीडितले न्याय पाउनुको सट्टा उल्टै पीडित बन्नुपर्ने अवस्था छ । के कुनै पीडित समुदायलाई स्वतन्त्र रुपमा बाच्न पाउने अधिकार अझैं आइनसकेकै हो त ? मानिस मानिसलाई बेग्लै धारमा उभ्याइदिने मुख्य बाधक को हो ? कहाँनिर खुस्किरहेको छ हाम्रो समाजको जुइनो ? यो विषय खोतल्नुपर्ने बेला भएको छ ।

देशमा तीन ओटै तहमा सरकार छ । स्थानिय तहले जनतालाई सुरक्षाको प्रत्याभूत गराउन किन सकिरहेको छैन ? उल्टै घटनामा संलग्न अपराधीलाई पनि कानुनी निकायमा अनुसन्धान हुन नदिएर वडाध्यक्षले नै अपराधीको संरक्षण गर्ने यो प्रवृत्तिले समाजमा शान्ति सुव्यवस्था कसरी कायम हुन्छ ? यस्ता हत्या हिंसाले समाज कसरी समृद्ध उन्मुख हुन सक्छ ? न्यायीक निकायले पनि पीडितलाई न्यायको प्रत्याभूत गर्न नसकेपछि आत्महत्यासम्म गर्न पुग्नु यो प्रशासनिक निकायको लापर्वाही हो की होइन ?

हामीले दिने मानव सभ्यताको परिभाषा कसरी समाजमा कार्यन्वयन हुँदैछ ? प्रत्येक मानिस संचारको पहुँचमा छन् । विश्व परिवेशलाई सबैले नजिकबाट बुझ्ने र अध्ययन गरेकै हुन्छन् । सबै मानिस विज्ञान, प्रविधि र शिक्षाकै पहुँचमा छन् । आजका युवाहरुले पनि समय अनुकुल परिवर्तन हुन नसक्नु समाजलाई विश्वसामु लज्जित हुनु हो । मानव चेतना कुसंस्कारको डंगुुरबाट माथि आउन नसक्नु हो । खोज अनुसन्धानको यो युगमा पनि मानिस भएर पनि मानिसलाई अझैं दमन, थिचोमिचो र अत्याचार गर्नु पक्कै न्यायोचित छैन ।

नेपालमा लोकतन्त्र आओस् वा गणतन्त्र । दलित समुदायमाथि यो देशको संरचनाले बिष पिलाउँदै हिंसाको शिकार बनाइरहेको छ । के अब यो राज्य संरचनाभित्र दलित समुदायले न्याय पाउन सक्लान् त ? अझैं गैरदलित युवाहरुले दलित भएर पनि मुख लाग्ने भनेर दलित युवालाई कुटपिट गर्नु २१औ सताब्दीमा प्रयोग गर्न सकिने चेतनालाई १६ औ सताब्दीमा धकेल्नु होइन र ?

जब समाजमा कुरिति, कुसंस्कार, अन्धविश्वास, रुढीवादी सोचले एउटा समुदाय सदियौंदेखि दबेको दबै छ । अहिले अलिकति हामीमा नयाँ सोच आएको छ र केहि न केहि रुपमा अब रुपान्तरण भएको छ । त्यो स्वभाविक मान्न सकिन्छ । तर, त्यसो भनिरहदाँ एउटा समुदाय न्यायको लागि निरन्तर सडकमा निस्किएर बोलिरहेको छ, मलाई अधिकार देउ भने चिच्याइरहेको छ । तर सत्तासिन समुदाय तमासा हेरेर बसिरहेको छ ।

सबैको आसा भरोसा मुख्य केन्द्रविन्दु सरकार नै हो । सरकारले नै यसलाई महसुस किन गर्न सरिहेको छैन ? देशको एउटा ठूलो हिस्सा ओगटेको दलित समुदायमाथि निरन्तर जातीय विभेदको सिकार भइरहदाँ सरकार किन मौन बसेको बस्छ ? सरकारको चासो र चिन्ताको विषय किन बन्न सकिरहेको छैन ? यसको उत्तरको खोजीमा छ सिंगो दलित समुदाय । उत्तर सँगसँगै अधिकारमा समानता खोजिरहेको छ ।

राज्यले अधिकारविहीन बनाइरहेको अवस्थामा जोसुकैले पनि विद्रोहको बाटो रोज्छ । यदी राज्यले एउटा सिंगो तप्काको अधिकारलाई निमिट्यान्न पार्ने प्रयास गर्न भने त्यसले देशमा ठूलो दुर्घटना निम्त्याउँछ । त्यसतर्फ राज्य प्रणाली नै लागेको देखिन्छ । यसलाई समयमै रोकेर देशलाई उन्नति, प्रगति र विकासका लागि सबैलाई सम्मानरुपले हेर्ने र कार्यान्वयनका लागि इमान्दारीता देखाउनुपर्छ । अनि मात्र ‘हाम्रो नेपाल, राम्रो नेपाल’ बन्छ । त्यसका लागि राजनीतिक सोच परिवर्तन जरुरी छ । सत्तासिनहरुको चेत खुल्नुपर्छ ।

प्रतिकृया दिनुहोस