तत्काल देशभर लकडाउन नगरिने, जोखिम बढे स्थानीय प्रशासनले लकडाउन गर्ने

Yuba raj khatiwada

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेपछि देशभर लकडाउन हुन लागेको भनिएका बेला सरकारले एकैसाथ लकडाउन नगर्ने भएको छ ।

सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काललाई विगतको जस्तो देशव्यापी लकडाउन नहुने प्रष्ट पारेका छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘चैत ११ गतेको जस्तो लकडाउनबारे सरकारले केही पनि सोचेको छैन ।’

मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर मुलुकव्यापी रुपमा लकडाउन नहुने प्रस्ट पारे । उनले भने, ‘सरकारले चैतमा घोषणा गरे जसरीको विधि अपनाएर जानेतर्फ सोचेको छैन । जोखिम बढ्यो भने स्थानीय प्रशासनले कदम चाल्न सक्छ ।’

तर उनले जोखिम हेरेर जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारहरूले भने लकडाउनबारे निर्णय लिन सक्ने बताए । स्थानीय प्रशासनको निर्णय अनुसार केही जिल्लामा लकडाउन रहेको उल्लेख गर्दै उनले भने, ‘पूर्ण लकडाउन हुन्छ की भनेर त्रस्त हुनुपर्ने अवस्था छैन ।’

संक्रमणको जोखिम नभएको ठाउँमा खुकुलो र संक्रमण भएको ठाउँमा कडा गर्ने सरकारको नीति रहेको उनको भनाइ छ । ‘काठमाडौं भित्रको संक्रमणको जोखिम भएकाले केही कदम चाल्न थालिएको छ’ उनले भने, ‘यसले जनजीवनमा केही असर पर्छ । तर अतिआवश्यक वा जरुरीका काम छैन भने सार्वजनिक सेवा लिने कुरामा हतार नगरौं । स्वास्थ्य जोखिममा पर्यो भने ठूलो असर हुन्छ ।’

संक्रमितको संख्या बढ्दै गएकाले तत्कालै उद्धार भएर सार्वजनिक यातायात, विद्यालय वा अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने अवस्था नआईसकेको प्रवक्ता खतिवडाले बताए । जोखिम बढेकाले तत्काल नखोलौं भन्ने आवाज पनि आइरहेको उनले जानकारी दिए ।

भदौ १ गतेबाट खोल्ने भनिएका लामो दुरीका यातायात, अन्तर्राष्ट्रिय उडान लगायतका विषयमा पुनर्विचार हुनसक्ने संकेत गरे । उनले भने, ‘सीसीएमसीको बैठकमा समीक्षा गरेर त्यही अनुसार मन्त्रिपरिषद्ले निर्णय लिन्छ ।’

प्रतिकृया दिनुहोस