लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त

Sushil bhatta 19

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वको सिफारिस समितिले रामकृष्ण खतिवडा, सुशील भट्ट र डा। सरोज कोइरालाको नाम मन्त्रिपरिषद्‍मा पठाएको थियो । यी तीनबाट मन्त्रिपरिषद्ले भट्टलाई नियुक्त गरेको हो ।

भट्टलाई आगामी ४ वर्षका लागि लगानी बोर्डको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।

बोर्डमा भट्टलाई ल्याइने अनुमान यसअघि नै गरिएको थियो। सीईओ पदका लागि आवेदन दिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीले अन्तिम अवस्थामा प्रतिस्पर्धा छोडेका थिए । प्रतिस्पर्धाअन्तर्गत १६ साउनमा भएको प्रस्तुतिकरणमा ज्ञवाली सहभागी भएका थिएनन् ।

नेकपा महासचिव विष्णु पौडेल निकट ज्ञवालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धाबाट हात झिक्न सुझाव दिएको बताइन्छ । ज्ञवाली बाहिरिएसँग प्रधानमन्त्री ओलीसँग बाक्लो हिमचिम भएका भट्ट बोर्डको सीईओमा नियुक्त हुने अनुमान गरिएको थियो

इन्जिनियरिङको शैक्षिक पृष्ठभूमि भएका भट्ट नेपाल व्यवस्थापन संघको पूर्व अध्यक्ष हुन् । व्यावसायिक पृष्ठभूमिका कारण उनी विवादमा तानिएका थिए । नेपालमा विभिन्न परियोजनामा संलग्न चिनियाँ कम्पनी कचौपाको स्थानीय एजेन्ट भएको भनी उनलाई आरोप लागेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव छ । लगानीको वातावरण सिर्जना गरी पूर्वाधार संरचना क्षेत्र तथा अन्य क्षेत्रमा सार्वजनिक–निजी साझेदारी, सहकारी र स्वदेशी तथा विदेशी निजी लगानी परिचालन गरी व्यवस्थापन गर्ने जिम्मेबारी बोर्डलाई तोकिएको छ ।

प्रधानमन्‍त्री अध्यक्ष रहने यो बोर्डमा विभिन्‍न विभागीय मन्‍त्री, गभर्नर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र मुख्यसचिवलगायत सदस्य रहन्छन् ।

तत्कालीन सिईओ महाप्रसाद अधिकारी गभर्नरमा नियुक्त भएपछि यो पदमा रिक्त थियो । सिईओ पदका लागि सुरुमा १२ जनाले निवेदन दिएका थिए । १२ जना मध्येलाई प्रस्ताव प्रस्तुत गर्न लगाएका थिए । त्यसमध्येबाट छानिएका थियो ।

प्रतिकृया दिनुहोस