मेलम्चीमा पहिरोले परिएका ८ जनाकै शब भेटियो, बरुवामा पहिराले एक घर पुरिँदा २ को मृत्यु

Melamchi pahiro 19

चौतारा । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा परी मृत्यु हुने सबै ८ जनाको शव भेटिएको छ ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका थिए । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएपछि पुरिएकामध्ये एक जना जिवितै उद्धार गरिएको थियो भने ८ जना वेपत्ता भएका थिए ।

कभर्ड हल बनाउन आएका ९ मजदुर बसेको टहरा आइतबार राति २ बजे पहिरोले पुरिँदा ७ जना नेपाली र १ जना भारतीय नागरिकसहित ८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए ।

पहिरोमा पुरिएर वीरगञ्जका वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरासिया, ३५ वर्षीय प्रदीप चौरासिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र भारतीय नागरिक राजेन्द्र चौरसियाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार घाइते हुने भारतीय नागरिक बारु साहलाई थप उपचारका लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।

यता, अविरल वर्षासँगै आएको पहिराले सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिराले एक घर पुर्दा दुई जनाको मृत्यु भएको छ ।

बरुवाको स्वास्थ्य चौकी नजिकै यज्ञबहादुर क्षेत्री बञ्जराको घर पुर्दा अन्दाजी ४० वर्षका बञ्जारा र अन्दाजी ४० वर्षीया उनकी श्रीमती लक्ष्मी क्षत्री बञ्जराको मृत्यु भएको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । स्थानीयवासीले उनीहरुको शव निकालेका हुन् ।

उनीहरुका दुई छोरी र एक छोरा छन् । छोरा काठमाडौं आएका छन् । एक छोरी विदेशमा छिन् भने अर्की छोरी हजुरबुबाको घरमा बसेकाले सुरक्षित छिन् । गएरातिको पहिराले गाउँपालिकाका– १, २, ३, ६, ७ र ८ मा पहिराले ठूलो क्षति पुर्‍याएको अध्यक्ष लामाले बताए ।

प्रतिकृया दिनुहोस