बढ्यो कोरोना संक्रमण : बन्दैछ लकडाउन गर्नेदेखि जोर विजोर लगाउनेसम्मका योजना

Bhanu bhakta dhakal

काठमाडौं । केही दिनयता काठमाडौं लगायत देशभर कोरोना संक्रमण बढिरहेको छ । सरकारले नेपालमा कोरोना संक्रमण कम भएको निष्कर्षसहित साउन ८ गतेदेखि नेपालमा लकडाउन हटायो । तर, त्यसयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

आइतबारसम्ममा देशभर २० हजार ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमणकै कारण नेपालमा ५७ जनाको मृत्यु भइसकेको छ । आइतबार मात्रै २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ । 

सरकारले कल्पना गरेको भन्दा बढी संख्यामा संक्रमितको संख्या बढेपछि अहिले सरकार नै दुविधामा परेको छ । केही स्थानीय तहले त आफ्नो क्षेत्रका नागरिकलाई सुरक्षित बनाउने भन्दै लकडाउन गरिसकेका छन् ।

काठमाडौंमा नयाँ रणनीति काठमाडौं उपत्यकामा संक्रमण फैलिएपछि सरकार नयाँ रणनीतिअनुसार नियन्त्रण गर्ने गरी अगाडि बढ्ने योजना नै बनाउन थालेको छ । बाहिरी जिल्लाबाट उपत्यकाभित्र आउने व्यक्तिलाई क्‍वारेन्टाइनमा राख्‍ने, जोरबिजोर प्रणालीबाट गाडी चल्न दिने र पिसिआर परीक्षणको दायरालाई बढाएर जाने लगायतका योजना बनाउन थालेको छ ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नै काठमाडौंमा सानो हेलचेक्र्याइँले कोरोनाको डढेलो लाग्न सक्ने चेतावनी दिएका छन् । ‘यदि त्यसो भएन भने यति सघन जनसंख्या रहेको काठमाडौंमा आगो सल्किने सम्भावना छ । यदि डढेलो लाग्यो भने निभाउने कुरा सम्भव हुन्‍न’ मन्त्री ढकालले भने, ‘अथवा अवस्था गाउँ या सानो सहरको भन्दा विस्फोटक हुन सक्छ ।’

न्यूज एजेन्सीसँगको कुराकानीका क्रममा मन्त्री ढकालले अहिले देखिएको संक्रमणको अवस्थाको वृद्धिदर अझै बढ्दै गएमा काठमाडौं उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउन सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे ।

‘बाहिरबाट आउने व्यक्तिहरुको हकमा क्‍वारेन्टाइनमा राख्‍ने गरी व्यवस्थापनमा जोड दिने र गाडी पनि जोरबिजोर प्रणालीमा गइयो भने एक हदसम्म आवश्यकतालाई पनि पूर्ति गर्न सक्छ’, उनले भने, ‘अब यसरी नै कोरोना संक्रमण वृद्धि भइरहे सरकारले लकडाउन गर्नेसम्म सोच्न बाध्य हुनुपर्ने छ ।’

सरकारले लागू गरेका नियम र मापदण्डलाई पालना नगर्दा फेरि संक्रमणको स्थिति बढ्ने अवस्थामा देखिएको उनको भनाई छ । लकडाउन खुकुलो भएपछि मानिसहरुको मुभमेन्ट बढेको र संक्रमण देखिएका ठाउँबाट समेत मानिसहरु काठमाडौंमा आउँदा जोखिम बढेको उनले बताए ।

काठमाडौं उपत्यकाका नाकाहरुमा परीक्षण गर्दा संक्रमण देखिनुले यसलाई पुष्टि गरेको उनले उल्लेख गरे । ‘बाहिरबाट कोही आउँछ भने काम गर्ने जस्तो उद्योगकै कुरा गरौं न कामदारहरु आउँछ भने १४ दिन क्‍वारेन्टाइन बसेर मात्रै काममा हाजिर हुने नियम बनायौं, तर पालना भएन’, उनले थपे, ‘हिजो लकडाउनका कारण संक्रमण रोकिएको थियो । सीमामा मात्रै जोखिम थियो । राजधानीसम्म फिल्टर भएर मात्रै आउने कुरा हुन्थ्यो । अहिले लकडाउन खुकुलो भएपछि प्रत्येक दिन गाडीबाट मान्छेहरु आउँदा संक्रमण पनि सँगै आइरहेको छ । नाकामा गरेको परीक्षणबाट त्यही पुष्टि भयो ।’

जिल्लास्तरीय लकडाउनलाई कार्यान्वयन गर्ने कुरामा सरकारले जोड दिएको उनको भनाइ थियो । वीरगन्जमा देखिएको संक्रमणको स्थिति हेर्दा त्यहाँ सिल गरेर जानुपर्ने जरुरी रहेको उनको भनाइ थियो । आवतजावत पूर्णरुपमा बन्द गर्नुपर्ने जरुरी रहेको उनको भनाइ छ ।

‘२ सयदेखि ५ सय भन्दा धेरै केस भएका जिल्लामा जिल्लास्तरीय लकडाउन गर्ने कुरा हुन सक्छ । वीरगन्जमा अहिले जुनखालको संक्रमण देखिएको छ, त्यहाँ सिल गरेरै आवतजावतलाई रोक्नुपर्छ’, ढकालले भने, ‘काठमाडौंका विभिन्‍न नाकामा स्वाब टेस्ट गर्दा पोजेटिभ देखिएकाले होम क्‍वारेन्टाइन तथा स्थानीय क्वारेन्टाइनमा अनिवार्य बस्‍ने कुराले मात्रै संक्रमण नियन्त्रण गर्न सकिने विषयमा छलफल गरेका छौं ।’

उच्च जोखिम भएका स्थानमा नीतिगत निर्णयहरु मात्र गरेर नभई सामग्रीहरुको उपलब्धतामा समेत सरकारले ध्यान दिएको मन्त्री ढकालले बताए । जनशक्ति र अन्य व्यवस्थापनको काममा काबु भन्दा बाहिर जान नदिन सरकारले काम गरिरहेको बताए ।

प्रतिकृया दिनुहोस