राजमार्गमा पहिरै–पहिरो : थोरै वर्षामै ठूलो खतरा

1592350430

काठमाडौँ । मनसुन सक्रिय भएसँगै मुलुकभर मौसम बदली भई पटकपटकको भारी वर्षा हुँदा मुलुकका अधिकांश राजमार्गमा यसपालि अत्यधिक पहिरो खसेको छ । भारी वर्षापछि खसेको पहिरोले पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, पृथ्वी राजमार्ग होस् या त्रिभुवन राजमार्ग धेरै स्थानमा पहिरो खसेको छ । यसपालि नागढुङ्गादेखि मुग्लिनसम्म भने अत्यधिक पहिरो छ । राजमार्गको भित्ता पहिराले छियाछिया पारेको छ । सयौँ ठाउँमा पहिरो गएको छ ।

धादिङको जवाङ खोला नजिक त्रिशुली नदीको कटानले झण्डै १० मिटर जति सडक बगेको छ । त्यहाँ अहिले एकतर्फी मात्रै सडक सञ्चालनमा छ । त्यसको नजिकै घुमाउनेमा पनि तल्लो तहबाट नदीले कटान गरिरहेको छ भने माथिल्लो क्षेत्रबाट आएको भेल पहिराले सडकमा ठूलो क्षति गरेको छ । धेरैजसो स्थानमा ढल पुरिएकाले सडकमा भेलबाढी बगिरहेको छ ।

कतिपय स्थानमा भने पहिरो खस्न ठिक्क परेको छ । कतिपय स्थानमा पहिरो खसेर जोखिम अवस्थामा रहेकाले सानो पानी पर्दा थुप्रिएको माटो बगेर सडक ठप्प पार्ने अवस्थामा देखिन्छ । सवारी चालक कृष्ण परियार भगवान् भरोसामा सवारी सञ्चालन गरिरहेको बताउँछन् ।  यसपालि मलेखुको पछिल्लो डेउडीसमेत खसेको छ ।

सडकको तल्लो तह पहिराले कटान गर्दा सडक एकतर्फी छ । कुरिनटारको बारवाङ खोलाको सतह गेगरले भरिएकाले राजमार्गको पुल नै जोखिममा छ । केही हप्ताअघिको बाढीका कारण धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुल छेउको सडक बगाएको थियो । अस्थायीरूपमा जालीसहितको पर्खाल लगाएर सडक सञ्चालन गरिए पनि जोखिम भने कायमै छ ।

“वर्षा भयो भने झुण्डिएका पहिराले थिच्ला भन्ने डर छ, बढी घाम लाग्दा माथि खस्न लागेका ढुङ्गाले हान्ला भन्ने डर छ, डराइडराइ सवारी चलाउनुपरेको छ”, ट्रक चालक परियारले दुःखेसो पोखे । सडकमा यत्रतत्र खसेको पहिरो र थुप्रिएको गेगर नहटाउँदा थप जोखिम छ । धादिङको फुर्केखोलामा भने यसपालि सडकमै बाढी कुदेकाले माटो, बालुवा र गेगरले भरिएको देख्न सकिन्छ ।

वर्षा भएको केही दिन बितिसक्दा यहाँको पहिराले ल्याएको बाक्लो गेगर हटाइएको छैन । राजमागर्गभरि लहरै पहिरो खसेर यात्रु र सवारी चालकहरु त्रासमा यात्रा गर्न बाध्य छन् । सानो वर्षा हुँदा नै ठूलो खतरा छ । पहिरो खसेर सडकमा थुप्रिएको ढिस्को फ्याँक्न सकएको छैन । कतै ठूलो ढुङ्गा खसेर सडकमा बज्रिएको छ । कतै सडक एकतर्फ सञ्चालनमा रहेको छ भने कतै खोल्सा नै सडकमा बगिरहेको छ । सडकभन्दा तल्लो भागमा नदीले कटान पनि गरेको छ ।

यसपालि पृथ्वी राजमार्गको धादिङ खण्डमा भने सयौँ पहिरा छन् । कतिपय भित्तो खसेको छ, कतिपय स्थानमा खोल्साले खोलेर बगाएको छ भने धेरैजसो भेल पहिरो सडक नै बगाउने गरी खसेको छ । ठाउँठाउँमा पहिरो पन्छाउने क्रम जारी रहे पनि न्यून मजदुरले काम गरिरहेकाले सडकको यात्रा ठूलो जोखिममा रहेको छ । चितवनको कुरिनटारस्थित केवुलकारको तल्लो स्टेशन नजिक भने माथि खोस्रिएको ठाउँबाट भत्किएर ठुलो पहिरो खसेकाले त्यहाँको सडक जोखिमपूर्ण बनेको छ । अझै पनि पानी पर्दा यहाँ भने सडक ठप्प हुने देखिन्छ ।

भूगर्भविद् शिव बाँस्तोला पानी पर्यो भने पहिलेका पहिरा खसेको ठाउँ पनि सक्रिय हुने भएकाले सावधानी अपनाउनुपर्ने बताउँछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल यसपालि औसतभन्दा बढी पानी परिसकेकाले सामान्य वर्षाको बेलामा समेत लामो यात्रा नगर्दा नै राम्रो हुने सुझाव दिए । “मनसुन सक्रिय रहेकाले थोरै पानी पर्दा पनि धेरै खतरा हुन्छ”, पोखरेलले भने, “यो बेलामा आफ्नो घर वरिपरि पनि सुरक्षित हुने गरी सावधानी अपनाउन र यात्रा गर्दा पनि विशेष ध्यान दिनुपर्छ ।”

यसपालि भेल पहिरोले मुलुकमा ठुलो जनधनको क्षति पुर्याएको छ । भौतिक सम्पत्ति मात्रै होइन पहिरोले मानवीय क्षतिसमेत धेरै भएको छ । प्राधिकरणका अनुसार जेठ ३० पछि (मनसुन सक्रिय भएपछि) डेढ महिनाको अवधिमा मुलुकभर पहिरोले मात्रै १६३ जनाको ज्यान गइसकेको छ । पैँतालीस जना अझै हराइरहेका छन् । खोजी जारी रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...