भ्रष्टाचार विरोधी उपसचिव प्रेम सञ्जलेमाथि कुटपिट

Prem sanjel 20200802152421

काठमाडौँ । विराटनगर भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार विराटनगरमा कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्।

उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला) ले कुटपिट गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए।

दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ। श्रम कार्यालय स्रोतकाअनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकालिदिएका थिए।

दाहाल कुटपिटमा संलग्नमध्ये नेत्र भट्टराई (निरौला) को बहिनी ज्वाईँ हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई÷दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाएका थिए।

महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको एक कर्मचारीले बताए। ‘बहिनी ज्वाईंलाई कामबाट निकालिदिएको र आफूलाई पनि २४ घण्टा नै ड्युटीमा लगाएपछि सञ्जेलसँग निरौला आक्रोसित बनेकी थिइन्,’ उनले भने, ‘त्यही रिस फेर्न अर्की कार्यालय सहायकसँग सहयोग लिएर कार्यकक्षभित्रै प्रमुखमाथि आक्रमण गरियो।’

प्रहरीले पनि अनआवश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको बताएको छ। पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनाआवश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले पनि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन्।

सधैं कार्यालयका कर्मचारीलाई कामको विषयमा सञ्जेलले धेरै तनाव दिने गरेको उनीहरुको आरोप छ। कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए।

केही बेरमा चालक निरज भट्टराईले गाडीमा सञ्जेललाई पनि लिएर कार्यालयमा आइपुगे। सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन्। प्रत्येक दिन राति ८र९ बजेसम्म कार्यालयकै काममा व्यस्त हुन्छन्।

घटनाका प्रत्यक्षदर्शी स्थानीय रेवतीप्रसाद अधिकारीकाअनुसार सञ्जेल आइपुगेको केही बेरमा नेत्र र मेनुका पनि कार्यालयतिर लागेका थिए। दुवै जना कार्यालय आइपुगेदेखि नै आक्रोशित देखिन्थे अधिकारीले भने, ‘उनीहरुले कार्यकक्षमा पुगेर सञ्जेलमाथि कुटपिट गर्न थालेको हामीले चाल पायौं।’ कुटपिट भएको थाहा पाएपछि पुग्दा एकोहोरो हानिरहेको देखेको उनले सुनाए।

‘घटना थाहा पाएर हामी सबै गयौं। सञ्जेल आफैंले ढोकाको चुक्कुल चैं खोल्न भ्याएको पाइयो,’ उनले भने, ‘उनीहरु जे भेट्यो त्यसैले कुटीरहेका थिए। तत्काल हामी नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था थियो।’

कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ। सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो।

तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालिम प्रतिष्ठानमा इटहरी गयो।

उपसचिव सञ्जेलले आफूलाई गैरकानुनी र अन्यायपूर्ण व्यवहार गरेको भन्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए। कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए।

रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो।

सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो। त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए। भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन्।

निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन्। काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन्।

प्रतिकृया दिनुहोस