नेपालमा लकडाउन खुकुलो भएपछि सङ्क्रमण दर बढ्दै

Ktm lockdown jam

काठमाडौँ । लकडाउन खुकुलो भएयता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार लकडाउनअघि र खुकुलो भएपछिको अवस्थामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

मन्त्रालयका अनुसार लकडाउन खुकुलो भएपछिको ११ दिनमा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको छ । जसमध्ये पछिल्लो पाँच दिनमा मात्रै एक हजार तीन सय जनाभन्दा बढी सङ्क्रमित भएका छन् । लकडाउन खुकुलो हुनुअघिको ११ दिनमा सङ्क्रमित हुने एक हजार ३४५ रहेको थियो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षणको दायरा बढेकोले समेत सङ्क्रमित बढी भएको जानकारी दिए ।

उनका अनुसार असार २७ गतेदेखि साउन ६ गतेसम्म ४७ हजार ८७७ जनाको स्वाब परीक्षण गरिएको थियो । उक्त अवधिमा सङ्क्रमण दर २.८ प्रतिशत रहेको थियो । अर्थात उक्त अवधिमा प्रति एक सय जनाको परीक्षण गर्दा करिब २.८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको थियो ।

लकडाउन खुकुलो भएपछिको ११ दिनमा ५८ हजार १७४ जनाको स्वाब परीक्षण गरिएको छ । साउन ७ गतेदेखि साउन १७ गतेसम्ममा दुई हजार ९२ जना सङ्क्रमितको पुष्टि भएको हो । लकडाउन खुकुलो भएयताको अवधिमा सङ्क्रमण दर ३.६ प्रतिशत पुगेको छ । लकडाउनअघि र पछिको एघार दिनमा शून्य दशमलव आठ प्रतिशतले सङ्क्रमित बढेका छन् ।

 

प्रतिकृया दिनुहोस