कालीगण्डकीमा पानीको बहाव २७ वर्ष यताकै उच्च, विश्वकै ठूलो शालीग्राम शिला डुब्यो

Kaligandaki 12

काठमाडौँ । लगातारको अविरल वर्षाको कारण कालिगण्डकीमा पानीको  बहाव बढेपछि विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकैठूलो शालीग्राम शिला डुबानमा परेको हो ।

कालीगण्डकीमा पानीको सतह २७ वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तीलक पराजुलीले जानकारी दिए । शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा रहेका पुजारी तथा पण्डितहरु विस्थापित बनेका छन् ।  शिला संरक्षणका लागि बनाएको तटबन्ध र ग्याबियन समेत पानीले पुरिएपछि शिलामा दर्शन गर्न जाने पूर्वाधारमा पनि पूर्णरुपमा क्षति पुगेको  पराजुलीले बताए ।

पानीको सतह बढेर बजारसँग जोडिएको संस्कृति विद्यालय र मन्दिरसम्म आइपुगेको छ । बहाब ह्वात्तै बढेपछि स्थानीयले रातभर जाग्राम बसेका छन् । घरसम्मै आएर डुवाउने हो भन्ने चिन्ताले रातभर जाग्राम बस्नुपरेको स्थानीय शिक्षक अशोकसिंह पाण्डेले बताए ।

मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलबिद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्गजा र गुल्मी जिल्लाको सिमानामा पर्ने सेतीबेणीबजार डुबानको खतरामा पर्ने गरेको हो । सेतीबेणीबजार डुबानको खतरा बढेपछि पर्वतमा पर्ने बजार क्षेत्र र स्याङ्जातर्फको बजार क्षेत्रका व्यापारी तथा सर्वसाधरण त्रसित छन् ।  विगत १० वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन घरपरिवार बिस्थापित बनेका थिए ।

कालीगण्डकीमा पानीको सतह बढेपछि कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोल्न लगाइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।   कालीगण्डकी ‘ए’ को बाँधका सबै ढोका खोलेपछि घट्दै गएको प्रहरीले जनाएको छ । बजार क्षेत्रमा अहिलेसम्म कुनै क्षति नपुगेको इलाका प्रहरी चौकी हुवासले जनाएको छ ।



 
 
 

प्रतिकृया दिनुहोस