प्रधानमन्त्रीविरुद्ध अर्नगल प्रचार गर्न थालेपछि भारतीय च्यानल प्रशारणमा लाग्यो रोक

नेपालविरुद्ध बोल्नु पित पत्रकारीता भएको नेपाल पत्रकार महासंघको ठहर

Indian chanal

काठमाडौं । भारतीय सञ्चारमाध्यमहरुले नेपाल र नेपाली विरुद्ध कुप्रचार गर्न थालेपछि देशभर त्यसको विरोध भइरहेको छ । सरकारले पनि औपचारिक रुपमै भारतीय च्यानलको विकल्प खोजिने बताएसँगै भारतीय च्यानलहरु पनि बन्द गरिएका छन् ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा नदेखिने बनाइएको छ ।

वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । यसअघि दिउँसो मात्रै सरकारले नेपालको विषयमा भ्रामक समाचार सम्प्रेषण गर्ने मिडियामाथि राजनीतिक र कानूनी उपचार खोज्ने बताएको थियो ।

सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले भारतीय मिडियामा आएका समाचारको सरकारले भर्त्सना गर्ने बताए ।

पत्रकारले उनलाई नेपालका प्रधानमन्त्रीबारे भारतीय मिडियाले गरेको दुष्प्रचारका विषयमा प्रश्न गरेका थिए । भारतीय टिभी च्यानललाई रोक लगाउनुपर्ने आवाज उठिरहेको छ, सरकारले के गर्छ भन्ने प्रश्नमा मन्त्री खतिवडाले यस्तो जवाफ दिए ।

‘सञ्चारमाध्यमहरु, चाहे नेपालका हुन् वा विदेशी, सबैले स्वच्छ, स्वस्थ र पारदर्शी ढंगले समाचार सम्प्रेषण गर्नुपर्छ भन्ने मान्यता हाम्रो छ । दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकार भर्त्सना गर्छ । सरकारले मिडियालाई प्रतिवन्ध लगाउनुभन्दा आफू अनुशासनमा बसोस् भन्ने चाहेको छ । कुटनीतिक माध्यमको पनि परिचालन गर्नुपर्ने हुन्छ ।’

भारतीय टिभीबाट प्रसारित समाचारबारे उनले भने, ‘हाम्रो राष्ट्र, राष्ट्रियता र नेपालीहरुको स्वाभिमानमा आँच पुर्‍याउने समाचार सम्प्रेषण नगर्न हामी स्वदेशी र विदेशी सबै मिडियालाई आग्रह गछौं । यसको पछाडि कानूनी उपचार खोज्नुपर्ने कुराहरु पनि हुन्छन् । राजनीतिक र कानूनी दुवै उपचार खोज्नुपर्ने हुन्छ ।’

यता नेपालका पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघले भारतीय सञ्चार माध्यमहरुले नेपालको विषयमा गरेको अर्नगल प्रचारको निन्दा गरेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागी चिनियाँ राजदुत होउ यान्छी विरुद्ध भारतीय सञ्चारमाध्यम जी न्यूजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक छ ।’

महासंघले भारतीय सञ्चारमाध्यमले गरेको यो प्रचार पीत पत्रकारिताको नमुना हुनुका साथै प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको ठहर गरेको छ । ‘महासंघ भारतीय सञ्चारमाध्यमको अनर्गल र बकवासपूर्ण प्रचार÷प्रसारको कडा शब्दमा भर्त्सना गर्दछ’ महासंघले भनेको छ, ‘महासंघ प्रधानमन्त्रीविरुद्ध भारतीय सञ्चारमाध्यमबाट संप्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कूटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

यता, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् । भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

नेपालका यी ३ अनलाईन बन्द
प्रेस काउन्सिल नेपालले दर्ता भएकै केही अनलाइन न्युज पोर्टलहरूलाई कठोर कारवाही गरेको छ । अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने ‘मिडियाएनपिओ’ र ‘कुन्तिपुर डटकम’ लाई बन्द गरिएको प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए ।

उनले सामाजिक सञ्जालमा ती अनलाइनहरूले ‘दुःखद् खबर’ भन्दै भर्खरै नेपालबाट कतारका लागि उडेको जहाज दुर्घटना हुँदा ८७ को मृत्यु भएको भनी अफ्रिकाको फोटो हालेर झुठो समाचार सम्प्रेषण गरेको जनाएका छन् ।

निरन्तर अश्लील पोष्टहरु सम्प्रेषण गर्ने ‘हिमालयन दैनिक’ पनि बन्द भएको श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार पटक–पटक सचेत गराउँदा पनि आफ्नो भ्युअर्स बढाउने नाममा सच्चिन तयार नभएपछि काउन्सिलले कारवाही गरेको हो । यससँगै प्रशारण बन्दको कार्वाहीमा पर्ने अनलाइन न्युज पोर्टलको संख्या सय नाघेको छ ।

प्रतिकृया दिनुहोस