अबदेखि सार्वजनिक सवारी साधन चल्ने पाउने, यस्तो छ पालना गर्नुपर्ने नियम

५० प्रतिशतले बढ्यो भाडा, सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइने

Sawari sadhan

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । काठमाडौंको हकमा उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने छन् ।

बिहीबार प्रेस ब्रिफिङका क्रममा सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले असार १२ गते सरकारले गरेको निर्णयका सम्बन्धमा सरकारले परिपूरक निर्णय गरेको बताए । लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर अन्तरजिल्ला चल्ने सार्वजनिक सवारीलाई भने चल्न दिइने छैन ।

ट्याक्सीले पनि काठमाडौं उपत्यकाभित्र र बाहिर सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् । मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जना मात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ । चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइनेछ । सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ ।

आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस