बालुवाटारमा मन्त्रीहरुको जमघट : आफ्नो पोजिसन क्लियर गर्न दिएको निर्देशन मन्त्रीहरुको नो अब्जेक्सन किन ?

राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने षड्यन्त्र भइरहेको छ : ओली

Cabinet meeting 20

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्याविनेटका मन्त्री तथा राज्यमन्त्रीहरुलाई आफ्नो पोजिसन क्लियर पार्न भनेका छन् ।

राष्ट्रपति जिद्यादेवी भण्डारीसँग १ घण्टा लामो कुराकानीपछि आकस्मिक रुपमा बालुवाटारमा बोलाइएको बैठकमा प्रधानमनत्री ओलीले बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्रीले आवश्यक परेमा निर्णय लिन तयार हुनु भनेका थिए ।

प्रधानमन्त्रीको भनाइ उल्लेख गर्दै ती मन्त्रीले भने, ‘क–कसलाई के ईच्छा छ निर्णय गर्न समय छ । अहिलेसम्म केही भइसकेको त छैन । तर अवस्था ठीक पनि छैन । आवश्यकता पर्‍यो भने मुख खोल्नुपर्ला ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूलाई आवश्यक परेमा मुख खोल्नुपर्ने बताए पनि के विषयमा मुख खोल्ने भन्ने विषयमा भने प्रधानमनत्रीले खुलाएनन् ।

‘अहिले ठूलो षड्यन्त्र भइरहेको छ । राष्ट्रपतिलाई महाअभियोग लगाउने र मलाई दुवै पदबाट हटाउने तयारी भएको छ । तपाईहरु कसको पक्षमा हुने रु कि प्रधानमन्त्रीको विपक्षमा जाने ? आज छलफल गर्ने समय भएन, तपाईहरुलाई यही सूचना भयो । आफ्नो पोजिसन छिट्टै क्लियर गर्नुस्,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै एक मन्त्रीले भने ।

प्रधानमन्त्रीले आफ्ना कुरा राखेपछि मन्त्रीहरु घनश्याम भुसाल, वर्षमान पुन, पार्वत गुरुङगायतले बोलेका थिए । मन्त्री पुनले पार्टीमा छलफल भएको कुरा पार्टीले नै निर्णय गर्ने बताएका थिए । अर्का मन्त्री गुरुङ प्रधानमन्त्रीलाई हटाउन खोजे आफूहरु पनि संसदीय दलमा बहुमत पुर्‍याउने बताएको ती मन्त्रीले जानकारी दिए ।

यता, प्रधानमन्त्री ओलीले राष्ट्रियता र कम्युनिष्ट आन्दोलन जोगिने ग्यारेन्टी भए आफूले दुवै पद त्याग्ने बताएको एक मन्त्रीले बताए । अहिले पार्टी एकता, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आफूहरुलाई भएको भन्दै त्यसमा आफूले दायाँ–बायाँ नगर्ने र मन्त्रीहरुलाई पनि नगर्न प्रधानमन्त्रीले भनेका छन् ।

‘उहाँले यदि राष्ट्रियता जोगिन्छ, कम्युनिष्ट आन्दोलन जोगिन्छ भने म दुवै पद छोड्न तयार छु, तर राष्ट्रियता र कम्युनिष्ट आन्दोलन दुवैमा खतरा उत्पन्न हुन्छ भने म दुवै पद छोडेर कमजोर हुन्न दिन्न भन्नुभएको छ’ प्रधानमन्त्रीको ब्रिफिङ उद्धृत गर्दै कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्री डा. शिवमाया तुम्बाहम्फेले भनिन्, ‘अहिले पार्टी एकता, राष्ट्रियता र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्ने गम्भीर दायित्व आफूहरुलाई भएको भन्दै त्यसमा आफूले दायाँ–बायाँ नगर्ने र मन्त्रीहरुलाई पनि नगर्न प्रधानमन्त्री ज्युले भन्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्रहरु भइरहेको भन्दै मन्त्रीहरुलाई आ(आफ्नो कित्ता स्पष्ट पार्न चेतावनीयुक्त भाषा प्रयोग गरेपछि ऊर्जामन्त्री वर्षमान पुन प्रधानमन्त्रीलाई जवाफ दिन तम्सिएका थिए ।

मन्त्री पुनले प्रधानमन्त्रीलाई भने, ‘यदि त्यस्तो हुन लाग्यो भने हामीसँग सिंगो पार्टी छ, संसदीय दल छ, यस्ता संस्थाहरुमा यसबारे छलफल गर्दाखेरि तर्कपूर्ण कुराहरु आउन सक्छन् र आशंका एवं समस्याहरुको समाधान हुन सक्छ ।’

कृषिमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री ओलीलाई दोस्रो विश्वयुद्धकालमा बेचिएका पोष्टरहरुको स्मरण गराउँदै गलत सूचनामा नबग्न आग्रह गरे ।
मन्त्री भुसालले अझ अगाडि बढेर प्रधानमन्त्रीलाई थपे, ‘ प्रधानमन्त्रीज्यू, तपाई शीर्षस्थ नेताहरु यस्ता गलत सूचनाले बहकिएका यथेष्ट प्रमाणहरु मसँग छन् ।’

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपछि प्रधानमन्त्रीले झन्डै १ घण्टाभन्दा बढी समय मन्त्री र राज्यमन्त्रीहरूसँग परामर्श गरेका हुन् ।

प्रतिकृया दिनुहोस