पत्रकारहरुको साझा नारा, ‘साहुले कमाएको अर्बौँ मुनाफा खोई ?’

Journalist

काठमाडौं । लकडाउनको कारण देखाएर मिडिया हाउसले निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिनेजस्ता गतिविधि बढेपछि पत्रकारहरु सडकमा उत्रिएका छन् ।

नेपाल पत्रकार महासंघको अगुवाईमा शुक्रबार बबरमहलमा पत्रकारहरुले प्ले कार्ड बोकेर प्रदर्शन गरेका छन् । प्रतिष्ठित मिडिया हाउसका कर्मचारी र पत्रकारहरु पनि संगठित भएर सडकमा उत्रिएका छन् ।

पत्रकारहरुलाई कार्यालयमा काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन बनाउने जस्ता समस्या विभिन्न सञ्चारगृहमा देखिएका भन्दै पेशागत सुरक्षाको ग्यारेण्टी नहुँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए । श्रमजीवीहरुका लागि अन्तिम समयसम्म लड्ने प्रतिवद्धता जनाउँदै उनले कुनै पनि ढंगले मिडिया मालिकहरुसँग सम्झौता नगर्ने बताए ।

अबको आन्दोलन श्रमजीवी पत्रकार ऐन लागु नभएका मिडिया हाउसमा केन्द्रीत हुने उनले चेतावनी दिए । लकडाउनको अवधिमा समस्या देखाएर पत्रकारहरुलाई जागिरबाट निकाल्ने, बेतलबि विदामा राख्ने, समयमै पारिश्रमिक नदिने जस्ता समस्या देखिएका सञ्चारगृहमा शनिबारबाट धर्ना, घेराउ र कालो ब्यानर राख्ने लगायतका विरोधका कार्यक्रमहरु आयोजना गर्ने महासंघले जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले पत्रकारहरूलाई शोषण गर्न नपाइने बताए । उनले प्रेस स्वतन्त्रताका लागि लडेका पत्रकारलाई अहिले केही समस्या भयो भन्ने नाममा सेवाबाट हटाउन र तलब कट्टा गर्न नहुने बताए । सञ्चार गृहले आफ्नो विगतको मुनाफाबाट पनि अहिले खर्च गरेर पत्रकारहरूको पेसागत सुरक्षा गर्नुपर्ने बताए ।

लकडाउन सुरु भएसँगै कान्तिपुर, अन्नपूर्ण पाेष्ट, नयाँ पत्रिका, उज्यालो रेडियोसहित नाम चलेका सन्चार माध्यमहरुले पत्रकार तथा कर्मचारीलाई निकाल्ने, बेतलबी विदामा राख्ने, तलब नदिने र दिएपनि आधा मात्र दिनेजस्ता गतिविधी बढेको भन्दै महासंघले आन्दोलन सुरु गरेको हो ।

‘अरुको आवाज हामीले सुन्यौँ । हाम्रो आवाज कसले सुन्ने ?’, ‘सञ्चारगृहले कमाएको अर्बौँ मुनाफा खोई ?, ‘मेरा सम्पादकको मुटु छ, मर्म छैन ’, ‘कोरोना कालको पहिलो महिनामै पत्रकार विचल्ली’, ‘मालिक मोज र तडकभडकमा, पत्रकार भोकै सडकमा’ नारा लेखिएका ब्यानर पत्रकारहरुले बोकेर प्रदर्शनमा सहभागी भएका थिए ।

लकडाउनका कारण देखाएर कान्तिपुर मिडिया ग्रुपले नारी, साप्ताहिक र नेपाल बन्द गरेको छ भने नागरिकल‍े अंग्रेजी संस्करणको रिपब्लिका बन्द गरेको छ ।

प्रतिकृया दिनुहोस