कर्णालीमा पनि देखियो सलह, किसानलाई बाली जोगाउन मुस्किल

Salaha 1593339722

काठमाडौँ । बालीनाली सखाप पार्ने सलह किरा कर्णालीमा पनि देखा परेको छ । मंगलबार सुर्खेतको लेकवेसी नगरपालिका–३, दशरथपुरस्थित कृषि अनुसन्धान केन्द्र (नार्क) मा सलह देखा परेको हो । अनुसन्धान केन्द्रका प्रमुख एवं वैज्ञानिक वन्धुराज बरालले बिउ उत्पादनका लागि लगाएको मकैबारीमा थोरै संख्यामा सलह देखा परेको बताए ।

‘किसानले सलह नचिनेकाले थाहा पाएका छैनन्,’ उनले भने, ‘उनीहरुले फट्यांग्रोजस्तो मानेर सामान्य रुपमा लिएका छन् तर सलह कर्णालीका बारी बारीमा पसिसकेको छ ।’ अहिले सलह दक्षिणबाट उत्तरतर्फ प्रवेश गरेको उनको भनाइ छ । सलह ठूलो संख्यामा प्रवेश गरेमा धुवाँ लगाउने, थाल र ड्रमहरु बजाउने तथा जाली र त्रिपालहरुले छोप्नेलगायत उपाय अपनाउन सकिने उनले बताए ।

‘ठूलो बारीमा अन्तिम विकल्प भनेकै विषादीको प्रयोग हो,’ उनले भने, ‘तर, अहिले कर्णालीमा सानो संख्यामा मात्र सलह देखिएको छ ।’ सल्यानका शारदा, बाग्चौर, कपुरकोट, छत्रेश्वरी, त्रिवेणीलगायत स्थानीय तहमा सलहको झुण्ड देखिएको छ । झुण्डमा देखिएको सलह किराले मकै र तरकारी नष्ट गर्न थालेपछि किसान समस्यामा परेका छन् ।

सलह बारीमा पसेपछि बाली बचाउन हम्मेहम्मे परेको छत्रेश्वरीका किसान वीरबहादुर बस्नेतले बताए । उनका अनुसार बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । ‘कतै बाली लगाएको ठाउँमा आगो लगाएका छौं भने केही ठाउँमा थाल र टिन बजाएर धपाउने प्रयास गरेका छौं,’ उनले भने, ‘बाली नष्ट पार्न थालेपछि यस वर्ष उत्पादन घट्ने निश्चित छ ।’ उनका अनुसार गाउँपालिकामा सबैभन्दा बढी दहखोला र झिम्पेमा सलहकिरा देखा परेको छ ।

सलहले हुर्किदैं गरेको मकैबाली सखाप पार्न थालेको झिम्पेका किसान देवबहादुर रोकाले बताए । ‘जेठ महिनाभरि फौंजीकिराले क्षति पुर्‍यायो, अहिले सलहले,’ उनले भने, ‘बाली जोगाउनै समस्या भयो, यस्तै अवस्था रहे कसरी परिवार पाल्ने ?’ कृषि विकास कार्यालयका सूचना अधिकारी रेशमबहादुर वस्नेतले सलह भित्रिएपछि सजकता अपनाउन किसानलाई आग्रह गरिएको बताए ।

प्रतिकृया दिनुहोस