नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख भन्छन्, नेपालमा अब लकडाउन कडा बनाउनुपर्ने अवस्था आयो

Who nepal head

नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड–१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् । सीमित स्रोत साधनबीच संक्रमणलाई समुदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको पनि उनले बताए । अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम बढेको डब्लुएचओले बताउँदै आएको छ । प्रसंग र सन्दर्भमा रहेर डा। जोस भ्यान्डेलरसँग गरिएको कुराकानी प्रस्तुत छ :

हामी अहिले कोरोनाको कहरमा छौं । विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ रु कस्तो छ नेपालको अवस्था ?
अहिले विश्वव्यापी दृटिकोणबाट हेर्दा युरोपमा कोरोनाको संक्रमणहरु घटिराखेको छ भने संयुक्तराज्य अमेरिकामा अझै बढिराखेको देखिएको छ । त्यसरी नै अहिले अफ्रिकामा पनि संक्रमण बिस्तारै बढ्दै गएको देखिराखेको छ । नेपालमा पनि बढ्दै गएको देखिएको छ । अहिले बढ्नुको कारण धेरै केसहरुको पहिलाभन्दा रिपोर्टिङ भइराखेको छ ।

नेपालको केसमा एउटा विशेष कुरा के छ भने नेपालमा समुदाय स्तरको संक्रमण भन्दा पनि विदेशबाट फर्कने व्यक्तिहरुमा बढी संक्रमण देखिएको छ । त्यसैले अहिले हामीले देखिएका केसहरु क्वारेन्टाइनको स्थलहरुबाट बढी आएका छन् । विशेषगरी भारतबाट फर्किएका व्यक्तिहरुमा र अन्य देशहरुबाट फर्केका व्यक्तिहरुमा देखिएको छ ।

अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात् नेपालले विश्वलाई यही महामारीबारे कसरी हेरिरहेको छ ? कस्तो अनुभव छ तपाईको ?
तपाईले भनेजस्तै महामारीले कुनै पनि सीमा भन्दैन । यो विश्वव्यापी कुरा हो । यसले गर्दा कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन । नेपालले हेर्दा पनि के हुनुपर्यो भने नेपाल पनि यो विश्वको परिवेशको एउटा हिस्सा हो । किनभने हामीले देखिराखेका छौं संक्रमणहरु बाहिर देशबाट फर्किएको व्यक्तिहरुमा देखिएको छ ।

फेरि भारतबाट फर्केका व्यक्तिहरुमा मात्र नभएर अन्य देशबाट पनि फर्किराखेका नेपालीहरुमा पनि देखिराखेको छ । यसबाट हामीले के बुझ्नु पर्छ भने कुनै न कुनै बखतमा यो रोग नेपाल आउने वाला थियो र आउने नै वाला छ भन्ने कुरा चाहिँ बुझ्न जरुरी छ । अर्थात् हामी विश्व परिवेशको एउटा हिस्सा हौं भनेर सोच्न जरुरी छ ।

नेपालमा जुनबेला थोरै संक्रमणहरु देखिएको थियो, त्यो बेला लकडाउन गर्यौं र करिब ८० दिनपछि लकडाउन खोल्यौं । तर, अहिले संक्रमितको संख्या बढिरहेको छ । यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ ?
नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसलाई कम गर्ने भन्ने हो । किन भने लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन्, ट्राफिक पनि हुँदैन र आवतजावतहरु कम हुन्छ । त्यसले गर्दा भाइरसको संक्रमणको संख्या घट्छ भन्ने हो । नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्यो । मार्च महिनामा दोस्रो केस देखिना साथ नै लकडाउन गर्यो ।

त्यसले गर्दाखेरी नै नेपालमा अहिले समुदाय स्तरको संक्रमण नदेखिएको हो जस्तो लाग्छ । यसको कारण पूर्णरुपमा नभए पनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ । त्यो अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ । तर, लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्योबाहेक अन्य पक्षहरु पनि हुन्छन् । जस्तैः सामाजिक पक्ष, आर्थिक पक्ष । किन भने लकडाउन लगाएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैनन् र कमाइमा असर गर्छ ।

लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारलाई एउटा दुविधा देखा पर्छ । त्यो भनेको भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने भन्ने । त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ । यो हामीले अरु देशहरुमा पनि देखिराखेका छौं लकडाउन खुकुलो बनाउँदा एकैचोटी नगरेर चरणवद्ध रुपमा गरेको देखिएको छ । नेपालले पनि त्यसै गरिराखेको छ । अहिले सरकारको लागि प्रमुख मुद्दा भनेको भाइरसको नियन्त्रण र अर्थतन्त्रमा मानिसहरुलाई अब कसरी सन्तुलित रुपमा ल्याउने भन्ने हो । तर, हामीले के कुरा पनि मनन गर्नुपर्छ भने यदि केसहरु बढ्दै गए लकडाउन फेरि लाग्न पनि सक्छ । यो खुला नै गरिन्छ भन्ने चाहिं छैन । यो कुरा मनन गर्नुपर्छ ।

अलिकति प्राविधिक कुरा गरौं । जस्तो हामीकहाँ देखिएको कोरोनाको संक्रमणमा लक्षणहरु देखिएनन् । व्यक्ति स्वस्थ रहँदा रहँदै पनि संक्रमित भएको हामीले पायौं । यसमा डब्लुएचओको अध्ययन के छ ?
नेपालमा अहिले लक्षणरहित केस धेरै देखिएका छन् । मान्छेलाई स्वास्थ्य नै छु जस्तो भइराखेको छ । उनीहरुलाई खोकी पनि लागेको छैन, केही पनि भएको छैन । तर, कोरोनाको संक्रमण चाहिँ भएको भनिएको छ । यो हुनुको कारण एउटा के हो भने नेपालमा धेरैजसो केस युवाहरुमा देखिएका छन् । कम उमेरका मानिसमा देखिएको छ । ती मानिसहरु प्रायजसो भारतमा काम गरीराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन् ।

यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन । किनभने कोरोनाको संक्रमण विशेष गरी युवाहरुमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ । नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौं र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ । नत्रभने अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन ।

नेपालमा नयाँ खाले भाइरस भन्दा पनि भाइरस उस्तै हो । विश्वव्यापी रुपमा पनि अहिले यो भाइरसको मुलभुतरुपमा परिवर्तन देखिएको छैन । फरक भाइरस हो भनेर मान्नुपर्ने कुनै कारण, प्रमाण देखिएको छैन । केवल फरक के हो भने हामीले जुन केसहरु देखिराखेका छौं त्यो विरामीको प्रोफाइल र विवरण फरक देखिएको हो ।

नेपालमा बहसको विषय पनि बनेको छ । हामीले आरडिटी परीक्षण र पिसिआर परीक्षणबारे नै बुझ्न सकेनौं । यहाँ जनमानसमा एउटा विवाद पनि छ । कतिपय अवस्थामा सरकारको पनि दोष देखिन्छ । डब्लुएचओ ले के भन्छ आरडिटी कस्तो अवस्थामा गर्ने हो, पिसिआर कस्तो अवस्थामा गर्ने हो ?
आरडिटी र पिसिआर दुईवटा प्रयोगशालामा गरिने परीक्षणहरु हुन् । तर, यिनीहरु फरक हुन्छन् । पिसिआरले तपाईको शरीरमा यो भाइरस छ कि छैन, तपाई अहिले संक्रमित हुनुहुन्छ कि छैन भनेर हेर्छ । यसका लागि तपाईको नाकबाट स्वाब लिएर नमुना लिएर परीक्षण गरिन्छ । आरडिटीले शरीरमा एन्टिबडी छ कि छैन भनेर हेरिन्छ । एन्टिबडी भनेको त्यस्तो कुराहरु हो जुन शरीर आफैँले निर्माण गर्ने कुरा हो । एन्टीबडी शरीरले कुनै भाइरसको प्रतिरक्षा गर्न वा भाइरसँग जुध्न उत्पादन गर्ने एउटा चिज हो । एन्टिबडीहरु पत्ता लाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनका लागि १० देखि १४ दिनसम्म लाग्न सक्छ ।

त्यसैले आरडिटीले के कुरा हामीलाई थाहा दिन्छ भने उक्त व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ । यसरी हेर्दा यी दुइवटा फरक छन् । एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन ।

पिसिआर हामीले प्रयोग गर्ने भनेको कुनै पनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरुलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नका लागि परीक्षण गर्छौं । आरडिटी चाहिं विशेष गरी कुनैपनि समुदाय अथवा कुनैपनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्नको लागि गर्छौं । तसर्थ, फेरि दोहोर्याउँदा पिसिआर कुनै पनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडिटीले कुनै व्यक्ति अथवा कुनै समुदाय विगतमा कुनै विन्दुमा त्यो भाइरसको संक्रमित थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ ।

अब अलिकति सामाजिक कुरा गरौं । हाम्रो क्वारेन्टाइनको अवस्था राम्रो छैन, हामीले धेरै पिसिआर टेस्ट पनि गर्न सक्दनौं । हाम्रो क्षमता अर्थात् आर्थिक कुराहरु पनि आउँछ । यस्तो कतिपय अवस्थामा क्वारेन्टाइनमा राखेका व्यक्तिहरुलाई परीक्षण नगरी पठाउनुपर्ने हुनसक्छ । यसबारे डब्लुएचओको कुनै गाइडलाइन छ ?
क्वारेन्टाइनमा मानिसलाई कम्तीमा १४ दिनका लागि छुट्टै राख्छौं । ता कि त्यो व्यक्तिमा यदि भाइरस भएकै भए पनि १४ दिनसम्ममा भाइरस मरिसक्छ । जसबाट उक्त व्यक्तिले अरु कसैलाई त्यो संक्रमण सार्न सक्दैन । व्यक्ति पनि निको भइसकेको हुन्छ । तसर्थ, हामीले यदि लामो समयसम्म राखी उसलाई परीक्षण नगरी समुदायमा अथवा घरमा पठाउँदा भाइरस संक्रमण हुने सम्भावना रहँदैन । किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ । तसर्थ, हामीले यदि क्वारेन्टाइन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन ।

तर, क्वारेन्टाइन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपायहरु छन् । एउटा सबै मान्छेहरुलाई एक ठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरुलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयको लागि राख्ने । अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिन्छ । तर, घरमा राख्दा एउटा जोखिम चाहिं के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यहरुलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ । तसर्थ, परिवारका अन्य सदस्यहरुभन्दा दूरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्ने लगायतका सुविधाहरु हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ ।

त्यसैगरी क्वारेन्टाइनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिहरुबाट छुट्टै राख्ने हो । तर, क्वारेन्टाइन मै भएका पनि यदि कोही व्यक्तिमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ । त्यसले हामीले क्वारेन्टाइन पर्याप्त समयसम्म कायम राख्न सक्यौं भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौं ।

तर, यहाँ मुख्य प्रश्न भनेको हामीले क्वारेन्टाइन राम्रोसँग गर्न सक्छौं कि सक्दैनौं भन्ने हो । जस्तै– सामाजिक दूरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाच्छ्यु गर्दा आफ्नो कुहिनोले छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौं । यी कामहरु कायम राख्न सक्छौं कि सक्दैनौं भन्ने कुराहरु हो ।

अर्को मेरो प्रश्न डब्लुएचआबारे छ । कोरोनाको कहर पछाडि डब्लुएचओले नियमित रुपमा विश्वभरी सूचनाहरु आदानप्रदान गर्दै आउको छ । गाइडलाइनहरु पनि वितरण गरिरहेको हुन्छ । कतिपय अवस्थामा डब्लुएचओले दिने गाइडलाइनहरु छिट्टै वा ढिलो गरी पनि परिवर्तन गरिरहेका हुन्छन् । यसको अर्थ कुनै पनि देशले अघिल्लो गाइडलाइनलाई मानेर रणनीति तयार गरिसक्दा अथवा त्यसलाई कार्यान्वयनमा ल्याउँदा नल्याउँदै अर्को गाइडलाइन आइसकेको हुन्छ । किन यसरी परिवर्तन भइरहेको हुन्छ ?
तपाईंले एकदम सही अवलोकन गर्नुभयो । डब्लुएचओले प्राविधिक सहायता दिन्छ । उसले दिने प्राविधिक सहायताहरु र जारी गर्ने मार्गनिर्देशनहरु ती सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन् । विज्ञानमा आधारित हुन्छन् ।

कोभिड भन्ने नयाँ रोग हो । यसबारे पाँच महिनाअघिसम्म हामीलाई केही थाहा थिएन । यो अवधिमा यसबारे यति धेरै अध्ययन भइराखेका छन् कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ । धेरै वैज्ञानिकहरुले पनि यो भाइरसबारे अध्ययन गरिराखेका छन् । डब्लुएचओले ती सबै कुराहरुको ट्रयाक गरिराखेको छ । वैज्ञानिकहरुले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ । हामीले देख्न सक्छौं बेला बेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफैँ परिवर्तन भइराखेको देखिएको हुन्छ । पहिलो चोटि भनेको कुरा अर्को चोटीको अध्ययनले त्यसलाई गलत ठहर्याएर अर्को नयाँ कुरा देखिराखेको हुन्छ । अरु सामान्य अवस्थामा पनि यो कुराहरु भइरहेको हुन्थ्यो । तर हामीले याद गरिराखेका हुन्थेनौं ।

तर, कोभिडको कुरामा के भयो भने एकै चोटी धेरै कुरा भइराखेको छ । धेरै व्यक्तिले यसमा रुचि देखाइराखेका छन् र धेरै अध्ययनहरु भइराखेका छन् । त्यसमा छिटो छिटो नयाँ कुराहरु पत्ता लागिराखेको हुनाले हामीलाई यस्तो लागेको हो । डब्लुएचओ के चाहन्छ भने उसले जारी गर्ने मार्ग निर्देशिकाहरु, उसले दिने निर्देशनहरु सकेसम्म हालसालैको सबैभन्दा नयाँ वैज्ञानिक आधार के छ त्यसको आधारमा हो । सबैभन्दा नयाँ अध्ययनले पत्ता लगाएको निष्कर्ष के छ त्यसको आधारमा होस भन्ने चाहन्छ । म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ । तर, हामीले जारी गर्ने कुराहरु हामीले दिने निर्देशनहरु सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ त्यसैले यस्तो भएको हो ।

नेपालले अहिलेसम्म आउँदा तपाईं यही बसेर पनि हेरिरहनुभएको छ । नेपाल सरकारसँग नजिकबाट काम पनि गरिरहनुभएको छ । हाम्रा सबल पक्षहरु राम्रा पक्षहरु के पाउनुभयो रु यो विषयमा अलिकति सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईलाई लागेको त्यस्तो केही छ ?
मैले नेपालमा काम गरेको पाँच वर्ष भयो । त्यसैले मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने केही हदसम्म जानकारी हासिल गरेको छु । मैले भन्नु पर्दा सरकारले लकडाउन लागु गर्न एकदमै छिटो गर्यो, आंशिक रुपमा त्यो एउटा कारण हो जसले गर्दा अहिले सामुदायिक स्तरमा संक्रमण कम देखिएको छ । सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो । त्यसले गर्दाखेरी अहिले समुदाय स्तरमै त्यति धेरै संक्रमण फैलिराखेको छैन ।

अर्को कुरा भनेको सरकारले यो लकडाउनको समय अवधिलाई चाहिं आफूलाई अझ राम्रोसँग तयार गर्न प्रयोग गरेको छ । धेरै काम भएको छ । विशेष गरी हामीलाई चाहिने सामग्रीहरु खरिद गर्न, कोभिडका लागि भनेर हस्पिटल तोक्ने, कर्मचारीहरुलाई तालिम दिने र विभिन्न मार्ग निर्देशिकाहरु जारी गर्ने कुरामा चाहिं सरकारले राम्रो काम गरेको छ । यस अर्थमा भन्दा लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ । नेपाल एउटा निम्न आय भएको देश हो त्यसले गर्दाखेरी हामीले त्यही परिपेक्षमा हेर्नुपर्ने हुन्छ । सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सीमितताहरु हुन्छन् किनभने कतिपय अवस्थामा सामग्रीहरु हुँदैनन् । कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन् । यसले गर्दा हामीले निम्न आय भएको नेपालजस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाँज्न मिल्दैन । त्यसैगरी अब आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्ने वाला छ । त्यसका लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेषगरी परीक्षणहरुको संख्या बढाउनका लागि आगामी महिनाहरुमा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ । नागरिक खबर डटकमबाट

प्रतिकृया दिनुहोस