नेपाली सेनाले किनेका मेडिकल सामग्रीमा १ अर्बभन्दा बढी घोटाला : कुन सामानमा कति ?

Npsny

कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाली सेनाले जिटुजीमार्फत् चीनबाट खरिद गरेका मेडिकल सामग्रीमा एक अर्ब रूपैयाँ घोटाला भएको शंका उब्जिएको छ। नेपाली सेनाले मेडिकल सामग्री खरिद गरेको मूल्य र हालको बजार मूल्य तथा यसअघि स्वास्थ्य सेवा विभागले ओम्नी ग्रुपसँग किन्नका लागि तयार पारेको सूचीसँग तुलना गर्दा घोटाला भएको देखिएको हो।

नेपाली सेनाले कूल १ करोड ८४ लाख ४८ डलरभन्दा बढीमा ८४ प्ररकारका मेडिकल सामग्री खरिद गर्न वैशाख पहिलो साता चीनसँग सम्झौता गरेको थियो। सम्झौतामा ३ हजार क्युबिक मिटर मेडिकल सामग्री ल्याउने उल्लेख छ। सोही सम्झौताअनुसार अहिलेसम्म २ हजार क्युबिक मिटर मेडिकल सामग्री नेपाल आइसेकेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन्। बाँकी १ हजार क्युबिक मिटर मेडिकल सामग्री पनि एक साताभित्रै नेपाल आइपुग्ने उनको भनाइ छ।

सेनाले पहिलो लटको मेडिकल सामग्री स्थलमार्गबाट जेठ ३ गते नेपाल ल्याएको थियो भने त्यसपछि अहिलेसम्म ८ लट गरी मेडिकल सामग्री ल्याएको छ। सेनाले ल्याएको मेडिकल सामग्रीमध्ये १५ प्रकारका सामानमा मात्रै १ करोड ४८ लाख ३७ हजार ९ सय ७५ डलर खर्च भएको छ। बाँकी ३६ लाख डलरमा भने अन्य सस्तो आइटमको मेडिकल सामग्री ल्याएको छ। सेनाले २ पटक चार्टर जहाजका लागि ३ लाख ७२ हजार ५ सय डलर (४ करोड ४७ लाख नेपाली रूपैयाँ) र स्थलमार्गबाट ल्याउँदा २ करोड ४६ लाख ७६ हजार ४ सय रूपैयाँ सेनाले खर्च गरेको छ।

ओम्नी ग्रुपसँग स्वास्थ्य सेवा विभागले खरिद गरेका मेडिकल सामग्रीमा बढी मूल्य तिरिएको भन्दै विवाद भएको थियो। यसपछि स्वास्थ्य सेवा विभागका तत्कालीन प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले ‌ओम्नीसँगको सम्झौता खारेज गरी उसलाई कालोसूचीमा राख्दै नयाँ प्रक्रियाबाट सामान खरिद गरिने उल्लेख गरेका थिए।

ओम्नीसँगको खरिद विवादमा परेपछि मेडिकल सामग्री खरिदको जिम्मा नेपाली सेनाले पाएको थियो। सेनाले कोरोना रोकथामका लागि आवश्यक नपर्ने सामग्री ल्याएको देखाएको र कोरोना नियन्त्रण तथा उपचारका लागि चाहिने सामग्रीमा भने महँगो मूल्य परेको देखाएको छ। कोरोना नियन्त्रणका लागि तत्काल चाहिने मेडिकल सामग्रीको मूल्य भने हाल नेपाली बजारमा उपलब्ध हुने मूल्यभन्दा सेनाले ३ गुणासम्म बढी परेको भन्दै खरिद गरेको खुल्न आएको छ।

नेपाल लाइभलाई प्राप्त कागजातमा १५ वटा सामग्री खरिदमै मात्रै १ अर्ब रूपैयाँभन्दा बढी घोटाला भएको देखिन्छ। सरकार आफैँले १५ रूपैयाँमा खरिद गरेको सर्जिकल मास्कमा सेनाले ५१ रूपैयाँ ६० पैसा खर्च गरेको छ। यसैगरी अहिले बजारमा २ सयदेखि २ सय २५ रूपैयाँमा पाइने तथा केही समय अगाडि मात्रै स्वास्थ्य सेवा विभागले २ सय २५ रूपैयाँमा खरिद गरेको एन-९५ मास्कलाई सेनाले ३ सय ५४ रूपैयाँ हालेको छ।

कुन सामाग्री खरिदमा कति बढी?
१. डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ
सेनाले जिटुजीमार्फत् कूल २ लाख थान डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ खरिद गरेको छ। २ लाख थान खरिदमा प्रतिथान १९ दशमलव ८० डलर खर्च गरेको देखिन्छ। कुल २ लाख थान खरिदमा ३९ लाख ६० हजार डलर खर्च भएको छ। यही डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ अहिले नेपाली बजार मूल्य १२ सय रूपैयाँ हाराहारी छ। तर, सेनाले यति धेरै थान खरिद गर्दा पनि प्रतिथान १९.८० डलर अर्थात् नेपाली रूपैयाँ २ हजार ३ सय ७६ रूपैयाँ खर्च गरेको हो।

डिस्पोजल प्रोटेक्टिभ क्लोथिङ खरिदमा मात्रै सेनाले एक थानमा हालको मूल्यभन्दा १ हजार १ सय ७६ रूपैयाँ बढी मूल्य तिरेको छ। यसरी सेनाले २ लाख थान पोटेक्टिभ क्लोथिङमा मात्रै २३ करोड ५२ लाख रूपैयाँ बढी हालेको छ।

२. सर्जिकल मास्क
सेनाले जिटुजीमार्फत् २५ लाख थान सर्जिकल मास्क खरिद गरेको छ। सेनाले एक थान सर्जिकल मास्क ०.४३ डलरमा किनेको छ। २५ लाख थान सर्जिकल मास्कमा मात्रै सेनाले १० लाख ७५ हजार डलर खर्च गरेको छ। हालको विनिमय दर अनुसार यो रकम १२ करोड ९० लाख रूपैयाँ हुन्छ।
तर, यही सर्जिकल मास्क स्वास्थ्य सेवा विभागले पछिल्लो समय करिब १५ रूपैयाँमा खरिद गरेको थियो। सेनाले यति धेरै थान सर्जिकल मास्क खरिद गर्दा पनि प्रति थान ५१ रूपैयाँ ६० रूपैयाँ खर्च गरेको छ। सेनाले २५ लाख थान सर्जिकल मास्क खरिदमा गरेको खर्च स्वास्थ्य सेवा विभागले अघिल्लोपटक गरेको खरिद गरेको मूल्यअनुसार ९ करोड १५ लाख रूपैयाँ बढी हुन्छ।

३. एन-९५ मास्क
सेनाले जिटुजीमार्फत् २ लाख १२ हजार ५ थान प्रोटेक्टिभ एन-९५ मास्क खरिद गरेको छ। प्रतिथान २.९५ डलरका दरले एन-९५ मास्कमा मात्रै सेनाले ६ लाख २६ हजार ८ सय ७५ डलर खर्च गरेको छ।

सेनाले खरिद गरेको मास्कजस्तै एन-९५ मास्क स्वास्थ्य सेवा विभागले खरिद गर्दा प्रतिथान २ सय २५ रूपैयाँ खर्च गरेको थियो। तर, सेनाले एन-९५ मास्क खरिदमा प्रतिथान नै ३ सय ५४ रूपैयाँ खर्च गरेको छ। सेनाले खरिद गरेको मूल्य स्वास्थ्य सेवा विभागले खरिद गरेको मूल्यभन्दा प्रतिथान १ सय २९ रूपैयाँ बढी हो। स्वास्थ्य सेवा विभागले खरिद गरेको मूल्यको आधारमै भन्ने हो भने २ लाख १२ हजार ५ सय थान एन-९५ मास्क खरिदमा सेनालले २ करोड ७४ लाख १२ हजार ५ सय रूपैयाँ बढी खर्च गरेको छ।

४. सुज कभर
प्रोटेक्टिभ सुज कभर जिटुजीमार्फत् २ लाख ५५ हजार थान सेनाले खरिद गरेको छ। उक्त सुज कभर खरिदमा सेनाले प्रतिथान २.४२ डलर खर्च गरेको छ। यसरी सुज कभरमा मात्र ६ लाख १७ हजार १ सय डलर खर्च गरेको छ।

सेनाले एक थान सुज कभरमा २ सय ९० रूपैयाँ ४० पैसा खर्च गरेको छ। तर यस्तै सुज कभर नेपाली अहिले बजारमा ४० रूपैयाँमै पाइन्छ। सेनाले प्रतिथान सुज कभरमा खर्च गरेको रकम बजार नेपाली बजारमा पाइने मूल्यभन्दा २ सय ५० रूपैयाँ ४० पैसा बढी हो।

सोही आधारमा सेनाले २ लाख ५५ हजार थान सुज कभरमा खरिदमा ७ करोड ४० लाख ५२ हजार रूपैयाँ खर्च गरेको छ। यो मूल्य नेपाली बजारमा पाइनेभन्दा ६ करोड ३८ लाख ५२ हजार रूपैयाँ बढी हो।

५. सेफ्टी बुट
सेनाले जिटुजीमार्फत् सेफ्टी बुट ४२ हजार ५ सय थान खरिद गरेको छ। बुट खरिदमा प्रतिथान १६.८० डलरका दरले ७ लाख १४ हजार डलर खर्च गरिएको छ। प्रतिथान २ हजार १६ रूपैयाँका दरले कुल ४२ हजार ५ सय थानका लागि सेनाले ८ करोड ५६ लाख ८० हजार रूपैयाँ खर्च गरेको छ।

यस्तै सेफ्टी बुटको मूल्य अहिले नेपाली बजारमा ५ सय रूपैयाँ छ। ५ सय रूपैयाँमा पाइने बुटमा सेनाले जिटुजीमार्फत् खरिद गर्दा ४२ हजार ५ सय थानका लागि नेपाली बजारको मूल्य भन्दा ६ करोड ४४ लाख ३० हजार रूपैयाँ बढी खर्च गरेको छ।

६. प्यासेन्ट मोनिटर
सेनाले कम्प्याकट प्यासेन्ट मोनिटर १ सय ५० थान खरिद गरेको छ। यी सामान खरिदमा सेनाले प्रतिथान २ हजार ४ डलरका दरले कुल १ सय ५० थानको खरिदमा ३ लाख ६० हजार डलर खर्च गरेको छ। यो हालको विनिमय दर अनुसार ३ करोड ६० लाख नेपाली रूपैयाँ हो।

यो सामान अहिले बजारमा बढीमा १ लाख २५ हजार रूपैयाँमै मेडिकल सामान बिक्रेताहरूले बेचिरहेका छन्। तर, सेनाले भने एक थानकै लागि २ लाख ८८ हजार रूपैयाँ खर्च गरेको छ।

सेनाले १ सय ५० थान कम्प्याकट प्यासेन्ट मोनिटर खरिदमा नेपाली बजारमा पाइने मूल्यभन्दा प्रतिथान १ लाख ६३ हजार रूपैयाँ बढी खर्च गरेको छ। सोही आधारमा १ सय ५० थान कम्प्याकट प्यासेन्ट मोनिटर खरिदमा सेनाले २ करोड ४४ लाख ५० हजार बढी खर्च गरेको छ।

७. सिरिन्ज पम्प
सेनाले जिटुजीमार्फत गरेको खरिदमा ६ सय थान सिरिन्ज पम्प ल्याएको छ। सिरिन्ज पम्प खरिदमा प्रतिथान १ हजार ५० डलरका दरले ६ सय थानका लागि ६ लाख ३० हजार डलर खर्च गरेको छ। हालको विनिमय दर अनुसार यो ७ करोड ५६ लाख नेपाली रूपैयाँ हो।

तर, सिरिन्ज पम्प नेपाली बजारमा प्रतिथान ५० हजार रूपैयाँमा नै पाइन्छ। यसको एउटा उदाहरण केही समय अगागि मात्रै पाटन अस्पतालले पनि ५० हजारभन्दा कम मूल्यमै सिरिन्ज पम्प खरिद गरेको थियो।

सोही आधारमा सेनाले सिरिन्ज पम्म खरिदमा प्रतिथान ७६ हजारका दरले ४ करोड ५६ लाख रूपैयाँ खर्च गरेको छ। खरिद गरिएको सिरिन्ज पम्म पनि आवश्यकताभन्दा बढी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोत बताउँछ।

८. इनफ्युजन पम्म
जिटुजीमा नै सेनाले ३ सय थान इनफ्युजन पम्प पनि खरिद गरेको छ। इनफ्युजन पम्प खरिदमा प्रतिथान १ हजार २० डलरका दरले ३ सय थान खरिदमा ३ लाख ६ हजार डलर खर्च गरेको छ।

जुन नेपाली मूल्यमा रुपान्तरण गर्दा ३ करोड ७७ लाख २० हजार रूपैयाँ हो। तर यस्तो पम्पको मूल्य अहिले नेपाली बजारमा प्रतिथान ५० हजार रूपैयाँको हाराहारीमा मात्र छ। तर, सेनाले जिटुजीमार्फत् खरिद गर्दा पनि प्रतिथान १ लाख २२ हजार ४ सय रूपैयाँ खर्च गरेको छ।

सोही आधारमा सेनाले ३ सय थान इनफ्युजन पम्म खरिदमा प्रतिथान ७२ हजार ४ सय रूपैयाँ दरले २ करोड १७ लाख २० हजार रूपैयाँ बढी हालेको देखिन्छ।

९. मोबाइल डिजिटल मेडिकल एक्सरे मेसिन
सेनाले जिटुजीमार्फत् नै ३० वटा मोबाइल डिजिटल मेकिडल एक्सरे मेसिन खरिद गरेको छ। सेनाले मोबाइल डिजिटल मेकिडल एक्सरे खरिदमा प्रतिथान १ लाख ४० हजार डलरका दरले ३० थान खरिदमा ४२ लाख डलर खर्च गरेको छ। यसको प्रतिथान १ करोड ६८ लाख नेपाली रूपैयाँ परेको छ। ३० थानका लागि नेपाली सेनाले कुल ५० करोड ४० लाख रूपैयाँ खर्च गरेका छ।

एक मेडिकल व्यवसायीका अनुसार यसको बजार मूल्य ५० लाख हाराहारी मात्र हो। केही समय अगाडि मात्रै मनमोहन कार्डियोलोजीले पनि यो मेसिन खरिद गरेको थियो। उसले पनि टेन्डर गर्दा यसको लागत ५० लाख रूपैयाँ राखेको थियो। त्यो पनि युरोप तथा अमेरिकमा बनको विश्व बजारमा चर्चित ब्रान्डको बजार मूल्य थियो।

तर, सेनाले जिटुजीमार्फत् चिनियाँ मेसिन खरिदमा पनि प्रतिथान १ करोड ६८ लाख रूपैयाँ खर्च गरेर ३० थान खरिद गरेको छ। यो मेसिन खरिदमा मात्रै सेनाले अहिलेको बजार मूल्यभन्दा प्रतिथान १ करोड १८ लाख रूपैयाँभन्दा बढीका दरले बढी मूल्य तिरेको छ। यसरी ३० थान खरिदमा ३५ करोड ४० लाख रूपैयाँ त यो मेसिनमा मात्र बढी खर्च गरेको छ।

१०. इसिजी मेसिन
सेनाले जिटुजीमार्फत नै ३० थान चिनियाँ इसिजी गर्ने मेसिन खरिद गरेको छ। इसिजी मेसिन खरिदमा सेनाले प्रतिथान ९ हजार डलरका दरले २ लाख ७० हजार डलर खर्च गरेको छ। नेपाली रूपैयाँमा यसको प्रतिथान मूल्य १० लाख ८० हजार रूपैयाँ परेको देखिन्छ। यसरी ३० थान इसिजी मेसिन खरिदको मूल्य ३ करोड २४ लाख रूपैयाँ सेनाले हालेको छ।

यसको हालको बजार मूल्य ३ लाख नेपाली रूपैयाँ मात्र रहेको छ। यो मूल्यमा युरोप अमेरिकामा उत्पादन भएको विश्व बजारमा चर्चित ब्रान्डको मेसिन नै आउँछ। तर, सेनाले हालको बजार मूल्यभन्दा प्रतिथान ७ लाख ८० हजार बढी लगाएको छ। यसरी हिसाब गर्दा ३० थान इसिजी मेसिन खरिद गर्दा नेपाली सेनाले २ करोड ३४ लाख रूपैयाँ बढी खर्च गरेको छ।

११. डिफिब्रिलेटर
जिटुजीमार्फत् सेनाले ३० थान डिफिब्रिलेटर खरिद गरेका छ। यो समान खरिदमा सेनाले प्रतिथान ९ हजार ५ सय डलर मूल्य हालेको छ। यसरी ३० थान खरिदमा उसले २ लाख ८५ हजार डलर खर्च गरेको छ। हालको विनिमय दर अनुसार यसको मूल्य प्रतिथान ११ लाख ४० हजार रूपैयाँ पर्न आएको छ।

यसरी ३० थान यस्ता मेसिनका लागि सेनाले ३ करोड ४२ लाख रूपैयाँ खर्च गरेको छ। तर यस्ता मेसिनको बजारमूल्य भने सेनाले ल्याएको मूल्यभन्दा धेरै कम छ। यसको बजार मूल्य ५ लाखभन्दा कममा नै कारोबार भइरहेको छ। केही समय अगाडि मात्रै पाटन अस्पताले पनि यो मेसिन खरिदमा ५ लाख रूपैयाँको नै लागत राखेर टेन्डर गरेको थियो।

सेनाले जिटुजीमार्फत चीनमा बनेको सामान खरिद गर्दा बजार मूल्यभन्दा प्रतिथान ६ लाख ४० हजार रूपैयाँका दरले किनेको देखिन्छ। यसरी यो मेसिनमा पनि सेनाले १ करोड ९२ लाख रूपैयाँ बढी मूल्य हालको छ।

१२. ह्यान्ड क्यारी अल्ट्रा साउन्ड मेसिन
सेनाले जिटुजीमार्फत् ३० वटा नै ह्यान्ड क्यारी अल्ट्रा साउन्ड मेसिन समेत खरिद गरेको छ। ह्यान्ड क्यारी अल्ट्रा साउन्ड मेसिन खरिदमा सेनाले प्रतिथान २२ हजार डलरका दरले मूल्य हालेको छ। यसरी ३० वटा यस्ता मेसिन किन्दा उसले ६ लाख ६० हजार डलर खर्च गरेको छ। हालको विनिमय दर अनुसार एक थान यस्तो मेसिनको मूल्य २६ लाख ४० हजार रूपैयाँ पर्न गएको देखिन्छ। यसरी ३० थानको मूल्य ७ करोड ९२ लाख रूपैयाँ परेको देखिएको छ।

तर, यो सामान अहिले नेपाली व्यापारीहरूले विभिन्न अस्पताललाई ७ देखि १० लाख रूपैयाँ टेन्डरमार्फत् बिक्री गरिरहेका छन्। १० लाख रूपैयाँ नै परेको अवस्था पनि सेनाले भने प्रति थान १६ लाख ४० रूपैयाँका दरले बढी तिर्दै ३० थान खरिदरमा ४ करोड ९२ लाख रूपैयाँ बढी खर्च गरेको छ।

१३. हेमोडाइलाएसिस मेसिन
सेनाले जिटुजीमार्फत ३० थान हेमोडाइलासिस मेसिन खरिद गरेको छ। उक्त सामानमा सेनाले प्रतिथान २८ हजार डलर खर्च गरेको छ । यो दरले ३० थान खरिदमा ८ लाख ४० हजार डलर खर्च भएको छ। नेपाली रूपैयाँमा परिवर्तन गर्दा एक थान यस्तो मेसिनको मूल्य ३३ लाख ६० हजार रूपैयाँ पर्न आउँछ। र ३० थानको १० करोड ८ लाख रूपैयाँ हुन्छ।

तर, अहिले बजारमा युरोप अमेरिकमा उत्पादन भएको यो मेसिन व्यवसायीले १५ लाख रूपैयाँमा बिक्री गर्दै आएका छन्। तर, सेनाले पनि जिटुजीमा खरिद गर्दा पनि चिनियाँ उत्पादनका लागि नेपाली व्यवसायीले नेपालकै बिक्री गरिरहेकाभन्दा दोब्बर बढी मूल्यमा मेसिन खरिद गरेको हो।

सेनाले प्रतिथान १८ लाख ६० हजार रूपैयाँका दरले ३० थान हेमोडाइलासिस मेसिन खरिदमा ५ करोड ५८ लाख रूपैयाँ बढी खर्च गरेको छ।

१४. इमर्जेन्सी ट्रली
सेनाले जिटुजीमार्फत् नै ६० वटा इमर्जेन्सी ट्रली खरिद गरेको छ। ट्रली खरिदमा सेनाले प्रतिथान ३ हजार डलरका दरले ६० थान खरिदमा १ लाख ८० हजार डलर खर्च गरेको छ। यो रकम नेपालीमा प्रतिथान ३ लाख ६० हजार रूपैयाँ र ६० थानको २ करोड १६ लाख रूपैयाँ हो।

जुन सामान अहिले नेपाली बजारमा प्रतिथान १ लाख रूपैयाँमा नै पाइन्छ। तर, सेनाले ६० थान खरिदमा नेपाली बजारमा पाइने मूल्यभन्दा प्रतिथान २ लाख ६० हजार रूपैयाँका दरले १ करोड ५६ लाख रूपैयाँ बढी खर्च गरेको छ।

१५. एइडी डिफिब्रिलेटर
सेनाले जिटुजी खरिदमार्फत ३० थान एइडी डिफिब्रिलेटर खरिद गरेको छ। यो सामान खरिदमा सेनाले प्रतिथान ३ हजार ८ सय डलरका दरले ३० थान खरिदमा १ लाख १४ हजार डलर खर्च गरेको छ। यो रकम नेपालीमा प्रतिथान ४ लाख ५६ हजार रूपैयाँ र ६० थानको १ करोड ३६ लाख ८० हजार रूपैयाँ हो।

यही सामान सेनाको संम्भार विभागले केही समय अगाडि मात्रै गरेको टेन्डरमा लागत १६ सय डलर राखेपनि अहिले सेना आफैले जिटुजीमार्फत् प्रतिथान ३ हजार ८ सय डलर खर्च गरेको छ।

तर यही सामानको नेपाली बजारमा प्रतिथान बढीमा १ लाख ९० हजार रूपैयाँसम्म पर्छ। तर सेनाले जिटुजीमार्फत खरिद गर्दा पनि प्रतिथान ४ लाख ५६ हजार रूपैयाँ तिरेको छ। यो मूल्य बजार मूल्यभन्दा प्रतिथान २ लाख ६६ हजार रूपैयाँले बढी हो। यसरी एइडी खरिदमा मात्रै सेनाले ७९ लाख ८० हजार रूपैयाँ भन्दा बढी खर्च गरेको छ।

यो त भयो १५ आइटमका मेडिकल सामग्री भएको घोटाला। नेपाली सेनाले जम्मा ८४ आइटमका मेडिकल सामग्री ल्याउने सम्झौता गरेको छ। यी सामग्रीमा पनि घोटाला भएको हुन सक्ने आशंका गर्न थालिएको छ।

कसरी पायो सेनाले मेडिकल सामाग्री खरिदको जिम्मा?
नेपालमा पहिलो पटक कोरोना संक्रमित भेटिए लगत्तै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा मन्त्रालयमा बैठक बसेको थियो। सोही बैठकबाट सामान किन्ने प्रक्रिया शुरु गरियो। तर बजारमा तुरुन्त सामान नभएकाले साना परिमाणमा पाएका सामान किनेर विवरण तयार गरिएको थियो।

जनवरी २३ मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएपछि कोरोना संक्रमण रोक्न आवश्यक मास्क, स्यानिटाइजरलगायतका मेडिकल सामानको अभाव भएको विषयमा छलफल भएको थियो। तर, सरकारले त्यसताका सामग्री खरिद गर्न कुनै चासो दिएको थिएन।
विश्व स्थास्थ्य संगठनले नेपाल पनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुलुक भन्दै रिर्पोट सार्वजनिक गरेपछि मेडिकल सामग्री खरिद गर्न सरकार केही तोतेको थियो।

नेपालमा पहिलो संक्रमितको पहिचान भएको दुई सातापछि माघ २५ मा कोरोनाको उपचारका र जोखिम न्यूनीकरणका लागि भन्दै मेडिकल सामग्री खरिद प्रक्रिया थालनी भएको थियो। त्यतिबेला १९ मेडिकल व्यवसायीसँग मेडिकल सामग्री खरिदका लागि भन्दै कोटेसन मागिएको पनि थियो। तर प्रक्रिया थप अगाडि बढेन।

फागनु १९ मा प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनु अगाडि रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा कोरोना जोखिम न्यूनीकरणका लागि आवश्यक काम गर्ने सक्ने अधिकार दिँदै उच्चस्तरीय समिति गठन भयो। त्यही समिति गठन भएसँगै कोरोना संक्रमण रोक्न खरिद गरिने मेडिकल सामानमा सेटिङ शुरु भएको थियो।

समितिमा अधिकांश मन्त्री तथा नेपाल सरकारका मुख्य सचिवलाई समेत राखियो। समितिमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि थिए। समितिले आफ्नो काम सुरु गर्‍यो। तर, कामसँगै मेडिकल सामानका लागि व्यवासायीसँग मागेको कोटेसनमा भने स्वास्थ्यमन्त्री ढकाल र रक्षामन्त्री पोखरेलले कुनै काम अगाडि बढाएनन्। एकाएक चैत ६ मा विगतको उक्त प्रक्रिया खारेज गरियो।

सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि चैत ११ गते बिहान ६ बजेबाट लागू हुने गरी लकडाउनको घोषणा गर्‍यो। लकडाउनको घोषणासँगै मेकिडल सामान खरिदका लागि पहिलो भएको सूचना रद्द गरेको स्वास्थ्य सेवा विभागले ११ गते २४ घन्टाको समय दिँदै व्यवसायीलाई छलफलमा बोलाएको थियो। छलफलमा सहभागीलाई थप ३ घन्टाको समय दिइएको थियो।

तर ६ वटै आयातकर्तासँग सामाग्रीको मूल्यको कोटेसन मागेर सरकारले ओबिसिआइलाई एकलौटी रुपमा ठेक्का दिएको थियो। ओबिसिआइसँग भएको सम्झौता सर्वत्र विरोध भएपनि सरकारले चैत १५ गते सेनामार्फत जिटुजीमा मेडिकल सामाग्री खरिद गर्ने निर्णय मन्त्रिपरिषदबाट गरेको थियो। सोही निर्णय पछि स्वास्थ्य सेवा विभागले पनि चैत २० गते ओम्नीसँग खरिद सम्झौत रद्द गरेको थियो।

नोट : अमेरिकी डलरलाई नेपाली रूपैयाँमा रुपान्तरण गर्दा १ अमेरिकी डलर बराबर १ सय २० रूपैयाँ नेपाली रूपैयाँको अनुपातमा राखिएको छ। नेपाल राष्ट्र बैंकले जेठ २७ का लागि तोकेको विनिमय दर अनुसार अमेरिकी डलर १ को खरिद दर १ सय २० रूपैयाँ ५७ पैसा रहेपनि सहजताका लागि १२० राखिएको हो। नेपाललाईभबाट साभार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...