कोरोनाको जोखिम मोलेर गहना खोलाको पुलमा स्वयंसेवक युवाको २४ घण्टे पहरा

Pyuthan help desk

प्यूठान । प्युठान प्रवेशको मेख्य नाका भनेको गहनाखोला पुल हो । यहाँ दर्जन बढी युवा खटिएका छन् । युवाहरु यसरी खटिएवापत कुनै पारिश्रमिक पनि पाउँदैनन् ।

उनीहरू आफ्ना काम छाडेर स्वतहस्फुर्त रुपमा सेवामा जुटेका हुन् । चौबिसै घण्टा उनीहरू नाकामै खटिन्छन् । स्थानीय स्वयंसेवकले लकडाउनभरी काम गर्ने छन् ।

कोरोनाको जोखिम मोलेर सेवामा खटिरहदाँ व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था छैन । सेनिटाइजर, ग्लोब्स र मास्क बजारमा किन्न पाईदैन । सरकारले दिएको छैन । तैपनि सीमामा युवाहरु निःशर्त खटिएका छन् ।

सरुमारानी गाउँपालिका –२ ददेरीका स्थानीय युवा आकास भुषाल गहनाखोला पुलको मुखमा पाल टाँगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुती जिल्ला भित्रिनेहरुको तीन पुस्ते विवरण, ठेगाना, सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् ।

स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडडुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । सम्बन्धित गाउँपालिकासँग समन्वय गरेर मात्र उनीहरु जिल्ला भित्र्याइन्छ । अनि गाडीको व्यवस्था गरेर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउँछन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सिमानाकामा खटिएको भुसालले बताउँछन् । ‘अप्ठ्याराहरु त छन् तै पनि स्वयंसेवा गर्दा खुसी छु, आनन्द लागेको छ’ उनी भन्छन्, ‘घरपरिवार र छिमेकी पनि खुसी छन् ।’

ददेरीका स्थानीय सूर्य श्रेष्ठ (राजु) पनि दिनहुँ स्वंयसेवकको रुपमा खटिएकै छन् । उनको काम भनेको मान्छेहरु बगरको बाटो र लुकिछीपी ओहोरदोहोर रोक्ने हो । त्यसका लागि उनीहरु रातदिन खटिएका छन् । लकडाउन सुरु भएदेखि नै गाउँका युवाहरु आलोपालो गरेर बस्ने गरेको उनको भनाई छ ।

लकडाउनमा पनि भारतसहित बिभिन्न ठाउँबाट प्युठान आउने मानिसहरुको क्रम नरोकिएपछि जेठ १ गतेबाट यहाँ सतर्कता अपनाईएको हो । स्वयंसेवकसँगै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिएका छन् ।

मानिस जिल्ला आउने क्रम जारी छ । भारतबाट कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने धेरै छन् । शुक्रवारसम्म भारतसहित बिभिन्न स्थानबाट ५ हजार ५५ जना प्युठान भित्रिएका छन् ।

सरुमारानी –२ का वडा अध्यक्ष बसन्त जिसीका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था गरेको छ ।

प्रहरी हवल्दार कृष्णप्रसाद मरासिनीले भारतबाट आएकाहरुको सबै बिबरण लिएपछि उनिहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाहसमेत दिएर पठाउने गरिएको बताए ।

प्रतिकृया दिनुहोस