रुकुम घटनाको विरोधमा प्रदर्शनमा उत्रिए देशभरका दलित, दिनहुँ प्रदर्शन जारी

Butwal 15

काठमाडौं । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटका ५ जनाकोे मृत्यु भएपछि देशभरका दलित समुदाय थप आक्रोसित बनकेका छन् ।

अन्तरजातीय प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक पश्चिम रुकुमको चौरजहारी –८ सोतीमा आफ्नी प्रेमिका भनिएकी शुष्मा मल्ललाई लिन गएका बेला सिंगो गाउ नै उल्टिएर अन्धाधुन्ध कुटपिट गरेका थिए । गाउँलेको कुटाईबाट बच्न भेरी नदीमा हाम फालेका भनिएका मध्ये बुधबार मृत मेटिएका लोकेन्द्र सुनारको शव डोरीले बाधिएको थियो । सो घटनामा परी ५ जनाको मृत्यु भइसकेको छ भने अझैं एक जना बेपत्ता छन् ।

सो जघण्य अपराधको विरुद्ध देशभरका दलित समुदाय आन्दोलित भएका छन् । सो घटना लगत्तै देशभरका दलित समुदायले सो घटनामा संलग्न भनिएकाहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन् । यसैक्रममा बिहीबार काठमाडौं लगायत देशभर प्रदर्शन गरेका छन् ।

रुकुम हत्यामा संलग्नलाई कारवाही गर, जातीय विभेदमाथिको बर्बरता कहिलेसम्म ? रुकुम घटना पीडितलाई न्याय दे, कानुनी सर्वोच्चता कायम गर, छुवाछुत अन्त्य गरौं, दोशी पत्ता लगाई कारवाही गर’ जस्ता प्लेकार्डसहित अधिकारकर्मी, आम नागरिकहरु स्वतस्फुर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति नेपालले आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ । माइतघरमा भएको प्रदर्शनका क्रममा उनीहरुले घटनाका दोशीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै नारावाजी गरे । सो प्रदर्शनमा राजकुमार हिङमाङ, सुनिता मरिक, रणबहादुर रम्तेल, जागृत सुनार लगायतले सो घटनाका दोशीलाई राजनीतिक आडमा जोगाउन खोजिए कडा संघर्षमा उत्रिने चेतावनी दिए ।

रानीबारी उत्पीडित दलित महिला जागरण समुहले पनि काठमाडौंको रानीबारीमा प्रदर्शन गरेको छ ।

त्यसैगरी अन्तरजातीय प्रेम विवाहको निहुँमा सामुहिक सुनियोजित ढंगबाट रुकुम चौरजहारीको हत्या प्रकरणको घोर भ्रत्सना गर्दै बिहिबार बुटवलमा प्रदर्शन गरिएको छ ।

जेठ १० गते रुकुममा भएको घटनाको घोर भ्रत्सना गर्दै मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा बुटवल बार एसोसियशन, राष्ट्रिय दलित पत्रकार संघ, इन्सेक नेपाल, एड्भोकेसी फोरम, नागरिक समाज, पत्रकार लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो । जाजरकोटका नवराज विक सहितको घट्नाको छानविन गरि दोषीलाई कारवाहीको माग गर्दै प्लेकार्ड सहित विरोध प्रदर्शन गरिएको हो ।

रुकुमको चौरजहारीमा भएको सो घटनाको विरोधमा सुनसरीमा पनि प्रदर्शन भएको छ । सुनसरीको इटहरीमा भएको प्रदर्शनमा प्लेकार्ड बोकेका प्रदशर्नकारीहरूले घटनमा संलग्नलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरूले निकालेको शान्तिपूर्ण र्यालीमा सम्पूर्ण उत्पीडन वर्ग एक हौं, सम्पूर्ण दलित एक हौं, दलितलाई मार्न पाइँदैन, हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए ।

सो प्रदर्शनमा संविधानसभा सदस्य अनिता परियार, नेपाल कम्युनिष्ट पार्टी, नागरिक समाजका बद्री विशाल पोख्रेल, नेपाली कांग्रेस इटहरी नगर उपसभापति शिवकुमार दाहाल, दलित जनअधिकार मञ्चकी अध्यक्ष तथा राष्ट्रिय दलित पत्रकार संघ सुनसरी उपाध्यक्ष शान्ति गजमेर लगायतले दोशीलाई कारवाही गर्न माग गरे ।

त्यसैगरी धरानमा पनि प्रदर्शन गरिएको छ । बिहिबार दिउँसो धरानको छाताचोकदेखि भानुचोकसम्म विरोध प्रदर्शन सहितको र्याली निकालिएको थियो । र्याली प्रदर्शनमा दलित संघ, संस्था, आदिबासी जनजाति, विद्यार्थी तथा राजनीतिककर्मी ब्यापारीहरुको पनि सहभागिता रहेको थियो ।

छाताचोकदेखि शुरु भएको र्याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मी एवम् अगुवाहरुले हत्या घटना दोषीहरुलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरे । कोणसभालाई अधिकारकर्मीहरु डिबि साहशंकर, गोविन्द विश्वकर्मा, तारा लामगादेले सम्बोधन गरेका थिए ।

कोणसभापछि उनीहरूले इलाका प्रशासन कार्यालय धरानमार्फत गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए । इलाका प्रशासन कार्यालयको प्रमुख चन्द्रबहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका थिए ।

संयुक्त दलित संघर्ष समिति चितवनले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय अपराधिक घटनाको दोषीलाई कानुनी दायरामा ल्याएर हदैसम्मको कारवाही गर्न माग गरेको छ ।

चितवनमा रहेका विभिन्न पार्टीका दलित जनवर्गीय संगठन, सामजिक संघ संस्थाहरु, पत्रकार, मानवअधिकारकर्मी आदि समेतको संयुक्त दलित संघर्ष समिति, चितवनले यस घटनाको घोर भर्त्सना गरेको छ ।

विज्ञप्तीमा २१ औं शताब्दीको यस घडीमा घटित यस घटनाले संविधान र मानव अधिकारकै उपहास गरेको छ भने विश्व समुदायमा नेपाली समाजलाई लज्जित गरेको उल्लेख गरिएको छ । समितिले ज्यान गुमाएकालाई साँस्कृतिक शहीद घोषणा गर्न एवं पीडित परिवारलाई उचित क्षतिपूर्ति, शान्ति सुरक्षा, सम्पूर्ण घाइतको उपचार उपलब्ध गराउन सरकार समक्ष जोडदार माग गरेको छ ।

अर्घाखाँचीका दलितअघिकारकर्मीद्धारा घटनाको निष्पक्ष छानविनको माग गदै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले २१ औं शताब्दीमा पनि जातीय विभेद गरी ज्यानै लिने गरि भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गदै प्रमुख जिल्ला अघिकारी विजयराज पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्र बुझाउँदा दलित अघिकारकर्मी कुलबहादुर नेपाली, कमल विक, ठाकुर सौराग, दिनेश सुनार, मनिष हिताङ, प्रितम परियार, सञ्चारकर्मी अनिल नेपाली, रमेश विक, बसन्त विक लगायतको सहभागिता रहेको थियो ।

नवलपुरमा पनि प्रमुख जिल्ला अधिकारमार्फत सरकारलाई पश्चिम रुकुममा भएको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा संयुक्त दलित संघर्ष समिति नवलपरासी पूर्वका अध्यक्ष बागवीर सुनारको नेतृत्वमा पुगेको टोलीले ब्यानर सहित शान्तिपुर्ण प्रदर्शन गरेको थियो ।

संयुक्त दलित संघर्ष समिति नवलपरासी पूर्वका अध्यक्ष सुनारसँगै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य नेत्रबहादुर सुनार, विश्वकर्मा समाज राष्ट्रिय महासंघकी केन्द्रीय सदस्य रत्नामाया बराइली, मुक्ति समाज नवलपुरका अध्यक्ष बाबुराम विश्वकर्मा, नेपाल दलित संघ नवलपुरका अध्यक्ष प्रेमबहादुर विश्वकर्मा, देबचुली दलित युवा समाजका अध्यक्ष राकेश विक र राष्ट्रिय दलित पत्रकार संघ नवलपुरका अध्यक्ष गोविन्द नेपालीको हस्ताक्षरमा प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा नवराज बिकलाई साँस्कृतिक सहिद घोषणाको माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनुअघि गरिएको प्रदर्शनमा कृष्ण विक, सुनिता रामदाम, दिपक परियार, सपना विश्वकर्मा, चमाङलाल नेपाली, दिपक लामगादे, मनोज रामदाम, रामकुमार बराइली लगायतको सहभागी भएका थिए ।

कैलालीमा पनि अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुममा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धर्ना दिएका छन् । कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम हत्याकाण्डको बिरोधमा हत्यारालाई कडा सजाय हुनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा बिहीबार दिउसो ५ बजे धर्ना दिएका हुन् ।

प्लेकार्डसहित धर्ना बसेका प्रदर्शनकारीहरूले नवराज बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा दोषीलाई उम्कन नदिन माग गरे । सो धर्नामा संबिधान सभा सदस्य हरी श्रीपाईली, बसन्त बागचन्द, चक्र बिक, बिष्णुकुमारी घिमिरे र नृप सुनारले मन्तव्य व्यक्त गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...