कसैलाई पार्टी विभाजन भएको हेर्ने चाहना छ भने त्यो दिवा सपना मात्रै हो

Thakur gaire

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवानेता हुन् ठाकुर गैरे । उनी सो पार्टीका केन्द्रीय सदस्य छन् । अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्षमध्ये ‘संसदीय राजनीतिमा अवसर नपाएका नेता’ उनको अर्को परिचय बनेको छ । अहिले नेकपामा देखापरेको ‘अ’राजनीतिक प्रक्रियाप्रति उनी सन्तुष्ट छैनन् । उनी केन्द्रिय सदस्य भएपछि अहिलेको विवाद कम्तीमा स्थायी कमिटिको बैठकबाट समाधान खोज्ने पक्षमा छन् उनी । प्रस्तुत छ, नेकपाको पछिल्लो उतारचढाव र समाधानका उपायबारे निशान न्युजले गरेको कुराकानी :

यतिबेला कोरोनाको सन्त्रासले देश डामाडोल बनेको छ । देश यस्तो परिस्थितीमा पुगेको बेला नेकपाभित्र विवाद चर्किएको छ । यसलाई कसरी मुल्यांकन गरिरहनु भएको छ ?
अहिले संसारमा मानव जातिमाथि ठूलो विपत्ति आएको छ । त्यसलाई पार लगाएर मानवजातिलाई सुरक्षाको प्रत्याभुती गराउने कुरा नै अहिलेको महत्वपूर्ण र मुख्य कुरा पनि हो । त्यसका लागि म विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आचारसंहितालाई कार्यान्वयन गर्न सर्वप्रथम अपिल गर्न चाहन्छु । अहिले समयको हिसावले, परिस्थितीको हिसावले र कोरोनाको कारणले हामी जुन अवस्थामा छौं, यो बेला पार्टीभित्र यो प्रकारको समस्या उत्पन्न हुनु राम्रो होइन । जनु नहुनु पर्ने हो ।

नेकपाभित्रको विवाद चर्किदै गएको निक्कै समय भइसक्यो । कहिलेसम्म चर्किएला त यो विवाद ?
यो अहिले एकाएक उत्पन्न भएको विवाद होइन । पार्टी एकीकरणको प्रक्रियादेखि नै केही समस्याहरु थिए । यो ती समस्याहरु समयमै समाधान गर्न नसक्दा बल्झिँदै बल्झिँदै अहिलेसम्म आएको विकसित रुप हो । कोरोनाको संकटपूर्ण अवस्थाका बेला जसरी अप्रत्यासित रुपमा दुईवटा अध्यादेश आयो, त्यो अत्यन्तै अनयुक्त कुरा थियो । त्यसले पार्टीको आन्तरिक जीवनमा समस्या पैदा गरेको छ । पार्टी गम्भीर समस्यामा फसेको छ । यसलाई पार्टीको विधि र प्रणालीभित्र बसेर समाधान खोजिनुपर्छ । यसलाई अहिले लकडाउनका कारण केन्द्रिय कमिटिको बैठक बस्न नसकेपछि कम्तीमा स्थायी कमिटिको बैठक बसेर भए पनि छलफल गर्न सकियो भने यसले समाधानको बाटो पहिल्याउन सक्छ । जुनसुकै कमिटिको बैठक बसेर किन नहोस्, यसले पार्टीको आन्तरिक विवादलाई व्यापक छलफल, संवाद, अन्तरक्रिया, बहस, आलोचना, आत्मालोना जे गर्नुपर्ने हो, त्यो गर्न जरुरी छ । त्यहीबाट निकास निकालिनुपर्छ । त्यसका लागि अब धेरै ढिलो गर्नु हुँदैन ।

तर, पार्टीका दुई जना अध्यक्ष बीचको टकरावले गर्दा नै पार्टीको आन्तरिक जीवन सकिएर विवाद बढेको हो भनिन्छ । के यो सत्य हो ?
हिजो पार्टी एकीकरण हुँदा नै पार्टीको संस्थागत प्रणाली, कमिटि सञ्चालनको विधी र पद्धतिभन्दा माथि उठेर दुई वटा अध्यक्षको सहमतिलाई महत्वपूर्ण विषयका रुपमा स्थापित गर्दै आएका थियौँ । तर, दुईवटा अध्यक्षको सहमति पनि अध्यादेश आउने बेलासम्म तोडिएर आयो । विगतको सहमति कायम हुन सकेन । यसले पनि जटिलता सिर्जना गरेको छ । मैले जोड दिन खोजेको के हो भने, अब चाँही अब पनि दुई वटा अध्यक्षको बीचमा गम्भीर छलफल र सहमति त अनिवार्य नै छ, त्यसैगरी सचिवालयमा पनि त्यसरी नै व्यापक छलफल र सहमति गरिनु अनिवार्य छ । हामीले नेताहरुबीच ‘वान टु वान’ वार्ता र छलफल होस्, त्यसले पनि पार्टीलाई अघि बढाउन मद्यत गर्छ भनेर भन्दै आएका छौं । तर, कुनै पनि निर्णय चाँही पार्टीको विधि र प्रणालीभित्र बसेर गरिनुपर्दछ । त्यो सबैले स्वीकार गर्ने परिस्थिती पनि बन्छ । पद्धतिले बसेको बैठकमा कसैको विमति भए ‘नोट अफ डिसेन्ट’ लेखेर पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयनको बाटोमा हिड्न सहजता पैदा गर्नुपर्छ । त्यसका लागि मैले यस्ता निर्णय विधि र पद्धतिभित्र बसेर गरिनुपर्छ भन्दै आएको छु ।

अहिले पार्टी गञ्जागोल अवस्थाम पुग्दा पनि स्थायी कमिटिको बैठक बोलाउन आनाकानी भइरहेको छ । यसको मुख्य कारण चाँही के हो नि ?
स्थायी कमिटिको बैठक कहिले गर्ने, कसरी गर्ने भन्ने विषमा सचिवालयमा छलफल भइरहेको होला भन्ने म अनुमान गर्छु । अहिले स्थायी कमिटिको बैठक हुन आवश्यक पनि छ । २० जना स्थायी कमिटिका सदस्यहरुले लिखित रुपमै बैठकको माग गर्नुभएको छ । यति ठूलो समस्या आइपरेपछि माग नगरे पनि बैठक बोलाइनु पथ्र्याे । अब चाँडै बोलाइन्छ भन्ने म अपेक्षा पनि गर्छु । पार्टीभित्रका आन्तरिक विवादलाई मिलाउँदै देशभरका आम कार्यकर्ता र जनताको अपेक्षालाई ध्यानमा राखेर पार्टीले सही निर्णय गर्छ र गर्नुपर्छ । कसैले पनि पार्टी एकीकरणलाई कमजोर बनाउने वा अहिले बजारमा हल्ला चलेजस्तो वा नेकपाको सफलतामा जल्ने प्रतिक्रियावादीले भने जस्तो यो पार्टी कमजोर भए हुन्थ्यो, पार्टी विभाजन भए हुन्थ्यो भन्ने जुन सपना छ, त्यो सपना नदेख्दा हुन्छ । ती सपनाहरु देशको विरुद्धमा छन्, जनताको भावना विरुद्धमा छन् । त्यसकारण पनि पार्टीलाई अझ बलियो बनाउनुपर्छ । यो पार्टीलाई अझ क्रियाशील बनाउनुपर्छ । अझ गतिशिल बनाउनुपर्छ । यो पार्टी बिचार प्रधान हो, विधि प्रधान हो । त्यसकारण पार्टीले अघि सारेको बिचार र अवम्बन गरेको विधिसम्मत चल्नु पर्दछ र यो एकतालाई अझ बलियो बनाएर जनताका आवश्यकता र आकांक्षालाई पूरा गर्नेतर्फ लाग्नुपर्छ भन्ने तथ्यलाई केन्द्र भागमा राखेर सबै बहसहरु चल्नुपर्छ भन्ने लाग्छ ।

तपाईले भने जस्तो नेकपा फुटोस्, बिग्रियोस् भन्ने प्रतिक्रियावादी सल्मलाउनु स्वभाविकै होला । तर, त्यसलाई मलजल गर्नेमा त नेकपामै नेताहरु जिम्मेवार हुनुहुन्छ नि, होइन र ?
त्यो प्रकारले मलजल गर्ने काम एकदमै खतरनाक छ । त्यसप्रकारले पार्टी पंक्तिबाट कसैले मलजल गर्ने काम गर्नुहुँदैन र आवश्यकता पनि छैन । अब हामी सबैले एक स्वरमा भन्नुपर्छ की हामी कसैलाई विभाजनको चाहना छ भने हामी पूरा हुन दिने छैनौं । कसैलाई बिग्रहको चाहना छ भने त्यो पूरा हुन दिने छैनौं । यो देशलाई असफल बनाउने, फेरि पनि अस्थिरता पैदा गराउने, फेरि अन्यौलता सिर्जना गर्ने जुनसुकै प्रयन्तहरुलाई असफल तु्ल्याउन सिंगो पार्टी पंक्ति र नेता कार्यकर्ता एकजुट भएर खडा हुन जरुरी छ ।

सरकारले दुईवटा अध्यादेश ल्याएपछि जुन प्रकारको अन्यौलता देखिएको छ, यही कारण पनि नेकपा फुटको संघारमा पुगेको जस्तो देखिएको छ । के पार्टी फुटको संघारमा पुगेकै हो ?
अहिले नै पार्टी फुटको संघारमा पुगेको त भन्न नमिल्ला र त्यो छैन पनि । तर, पार्टीको आन्तरिक जीवनमा गम्भीर समस्या पैदा भएको साँचो हो । यो समस्या समाधान गर्न हामी सक्षम छौ र सक्षम बन्नुपर्छ । आवश्यक आलोचना, आत्मालोना, व्यापक बहस र छलफल, कमी कमजोरीलाई स्वीकार गर्ने र सही मार्गमा हिड्ने प्रतिवद्धता गरेर त्यसलाई पार्टीको प्रणलीभित्र बसेरै सम्भव छ ।

देशको सबैभन्दा ठूलो पार्टी । सत्तामा बसेको पार्टीभित्र पार्टी फुटाउने वा सत्ता नै पल्टाउने जुन प्रकारको खेल भइरहेको छ, यो खेलबाट जनता निरास बनेका छन् भन्ने तपाईहरुलाई लाग्दैन ?
अवस्य पनि । यसले हिजो नेकपालाई मतदान गर्ने मतदाताहरु, नेकपाको नेतृत्वमा बनेको सरकारको सफलता देख्न चाहनेहरु, पार्टी एकताबाट खुसी हुनेहरु, कम्युनिष्ट पार्टीको नेतृत्व देख्न चाहनेहरु र नेकपाको सरकार बनेपछि देशले मुहार फेर्छ, समृद्ध नेपाल बन्छ भन्ने चाहना राख्ने आम सञ्चारकर्मीहरु, मजदुर र किसानहरुमा जुन प्रकारको खुसीयाली थियो, अहिले पार्टीभित्र देखापरेको समस्याले स्वभाविक निरासा पैदा गरेको छ । त्यो निरासालाई आसामा बदल्ने अहिले दुखेका मनहरुलाई फेरि खुसीमा बदल्ने कुरामा पार्टी नेतृत्व, हामी पार्टीका नेता कार्यकर्ता सबै जिम्मेवार भएर पार्टी एकतालाई मजबुद बनाएर जानुपर्छ । दुई ठूला पार्टी बीचको एकतालाई अझ बलियो र सुढृण र गतिशील बनाउने र भएका कमी कमजोरीहरुलाई सच्याएर फेरि सही दिशामा अगाडी बढ्नु अहिलेको आवश्यकता हो । जुन सम्भव पनि छ र गर्न पनि सकिन्छ ।

तपाई त नेकपाभित्रको बौद्धिक नेता पनि हो । नेपालमा कम्युनिस्ट पार्टीको भविश्य कस्तो देख्नु हुन्छ ?
पहिलो कुरा, आज नेपालमा कम्युनिष्ट पार्टीको विकल्प छैन । दोस्रो कुरा नेपाली कम्युनिष्ट पार्टीका नेतृत्वहरुप्रति राष्ट्रले त्याग, समर्पण र बलिदानीको अपेक्षा गरेको छ । पार्टीको बिचारलाई कमजोर बनाउने, बिचारबाट विचलिन हुने वा पार्टीको विधि पद्धतिलाई भत्काउने र विधि पद्धतिलाई अवलम्बन नगर्ने तरिकालाई त्याग्नुपर्छ । लेलिनवादी पद्धतिभित्र बाँधिएर सबैले समस्याको समाधान खोज्नेतर्फ लाग्नुपर्छ । फेरि पनि के अपिल गर्न चाहन्छु भने यो एकतालाई भत्किन दिनुहुँदैन र दिइँदैन । यसलाई कमजोर बनाउन दिनुहुँदैन र दिइँदैन । त्यसैले देशभरीबाट कार्यकर्ता पंक्तिबाट यो एकतालाई बलियो बनाउनका निम्ति एकपटक सबै खडा हुनुपर्छ । त्यस हिसावले प्रस्तुत हुनका लागि म सबैलाई अपिल पनि गर्न चाहन्छु । यो पार्टी विभाजनको सपना देख्नेहरु, पार्टी फुटाएर अस्थितरता ल्याउन खोज्नेहरु, अराजकताको अपेक्षा गर्नेहरु असफल हुनेछन् भन्नेमा विश्वस्त छु ।

तर नेपालमा रहेका कम्युनिष्ट पार्टीहरुको पटकपटकको विभाजनलाई हेरेर नेपालमा कम्युनिष्ट पार्टीको भविश्य त्यति राम्रो छैन भन्नेहरु पनि त छन् नि । तपाईलाई के लाग्छ ?
हो विगतमा नेपालमा कम्युनिष्टहरु फुट्न मात्र जान्दछन्, जुट्न जान्दैनन् भन्ने हामीमाथि ठूलो आरोप लाग्ने गरेको थियो । त्यही आरोपकै बीचमा हामीले नेकपा एमाले र एनेकपा माओवीबीच एकीकरण गरेका छौं । त्यो आरोप लगाउनेका लागि गतिलो उत्तर हो । फेरि एकपटक हामीले अर्काे जवाफ दिनुपर्ने छ कि यो एकता टिक्न सक्दैन भन्नेहरुका लागि एकता टिकाएर देखाउनु छ । यसको लागि सबैको समर्पण, त्याग र फेरि पनि बलिदानीपूर्ण भावनाबाट सम्भव छ । त्यसबाट भाग्ने छुट कसैलाई छैन ।

प्रस्तुती : गोपाल बराइली

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...