तरकारी बोक्न कृषि एम्बुलेन्स शुरु
प्युठान । लकडाउनको समयमा कृषि उपज बिक्रीका लागि प्युठानमा कृषि एम्बुलेन्स सुरु गरिएको छ ।
यो लकडाउनका बेलामा भारतीय तरकारीमा निर्भर प्युठानका लागि स्थानीय उत्पादनको उपयोग गर्न प्रदेश सरकारको निर्णयअनुसार भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
प्रदेशबाट अनुदान पाएका जिल्लाका तीन वटा पिक अप गाडीलाई कृषि एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याइएको प्युठान नगरपालिकाका पशु सेवा शाखाका अधिकृत गिरिराज पौडेलले जानकारी दिए ।
गाउँ–गाउँमा किसानले उत्पादन गरेका तरकारी बजारसम्म ल्याउन समस्या भइरहेको अवस्थामा यी एम्बुलेन्स उपयोगी हुने उनको भनाई छ । त्यसैगरी एम्बुलेन्सले किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री तथा बीउ, मलसमेत गाउँसम्म पुर्याइदिने व्यवस्था गरिएको छ ।
‘किसानलाई अत्यावश्यक सेवा दिनका लागि एम्बुलेन्स सुरु गरेका हौं, अधिकृत पौडेलले भने, ‘यसमा कृषिजन्य वस्तुको बजारीकरण र किसानलाई आवश्यक पर्ने कृषिसम्बन्धी सामग्री घरमै पुर्याइदिने छौं । ढुवानी खर्च लाग्दैन, ‘यसले किसानहरूलाई सहयोग गर्नेछ ।’
एम्बुलेन्सले गाउँमा उत्पादित तरकारी संकलन गरि बजारमा विक्री वितरण गर्नेछ । त्यसबाहेक आवश्यकताका आधारमा अन्य गाडी थप समेत गर्न सकिने छ । एम्बुलेन्स सञ्चालनमा आएपछि कृषक र उपभोक्ता दुवैले राहत पाउने प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले बताए ।
लकडाउनका कारण किसानले कृषिजन्य वस्तु बिक्री नभएकाले खेर जान थालेको गुनासो गर्दै आएका थिए । किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि निजी क्षेत्रले भने केही समय अघिदेखि नै घुम्ती सेवामार्फत् किसानले उत्पादन गरेका कृषि उत्पादन बजारसम्म ल्याएर बिक्री गर्दै आएका थिए ।
प्रतिकृया दिनुहोस