मन्त्रिपरिषद पुनः गठनबारे छलफलमै सकियो नेकपा सचिवालयकोे बैठक, सोमबार फेरि बैठक बस्ने

Nekapa sachibalaya commmittee

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको छ ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ुप्रकाशुले नीतिगत हिसाबले कसरी पुनर्गठन गर्ने भन्ने विषयमा आजको बैठकमा छलफल भएको जानकारी दिए । आज चार वटा विषयमा केन्द्रित रहेर सचिवालयको बैठक बसेको थियो ।

पहिलो मन्त्रिपरिषद्को पुनर्गठनका विषयमा स्थायी कमिटीको निर्णयअनुसार गर्ने तय भएको छ । तर, सचिवालयले पुनर्गठनका विषयमा नीतिगत छलफल सुरु भएको श्रेष्ठले बताए ।

संवैधानिक नियुक्ति, सांगठनिक र विविध अन्तरगत विभिन्न विषयहरुमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए । संवैधानिक आयोगमा हुने राजनीतिक नियुक्तिका विषयमा पनि सरकारलाई निर्णय गर्न सहज हुनेगरी बैठकमा छलफल भएको उनले जानकारी दिए ।

सो विषयमा पनि निर्णय भएको छैन । यस्तै पार्टी एकीकरणका बाँकी काम पूरा गर्ने र संगठन विभागको निर्णयमाथि छलफल गर्दै अनुमोदन गर्ने विषयमा पनि छलफल भएको छ । स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको पदपूर्ति गर्ने, केन्द्रीय कमिटी सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने विषयमा पनि सचिवालयमा छलफल हुने उनले बताए ।

पूर्णकालीन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ । यस्तै संघीय सांसदहरुले कोभिड महामारी अवधिको बैठकभत्ता के गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने उनले बताए ।

थप छलफलका लागि भोलि फेरि दिउँसो १ बजे पार्टी कार्यालयमा बैठक बस्ने प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस