सुलेमानीको अन्त्येष्टि कार्यक्रममा मृत्यु हुनेको संख्या ४० पुग्यो

1578390824kk (1)

काठमाडौँ । अमेरिकी हवाई आक्रमणमा मारिएका इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टि कार्यक्रममा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ४० पुगेको छ । ‘कम्तीमा पनि ४० जनाको मृत्यु भएको छ र २१३ जना घाइते छन्,’ समाचार संस्था फार्स न्युज एजेन्सीले भनेको छ ।

मंगलबार सुलेमानीको गृहनगर मेरमानमा सुलेमानीको शव गाड्न लैजाने क्रममा लाखौं जनताबीच भागदौड मच्चिएको हो । भागदौडमा घाइतेको संख्या समेत बढेर २१३ पुगेको छ । यसअघि समाचार संस्था एसोसियट प्रेसले ३२ जनाको ज्यान गएको र १९० जना घाइते भएको बताएको थियो ।

यस घटनापछि सुलेमानीको दाहसंस्कारको कार्यक्रम समेत स्थगित भएको बिबिसीले जनाएको छ । उनको दाहसंस्कारको लागि नयाँ समय घोषणा गर्ने जनाइएको छ । गत शुक्रबारदेखि विश्व राजनीतिमा इरान र अमेरिका सम्बन्धको चर्चा छ । पहिलादेखि नै तिक्ततापूर्ण सम्बन्ध रहेका यी दुई मुलुक सुलेमानीको हत्यापछि आमनेसामने भएका छन् ।

बग्दाद विमानस्थलबाट बाहिरिन लागेका बेला शुक्रबार अमेरिकाले ड्रोन आक्रमण गरेर सुलेमानीको हत्या गरेको थियो । अचानक आफ्नो देशमा निकै लोकप्रिय र प्रभावशाली सैन्य कमाण्डरलाई मारिदिएपछि इरान अमेरिकासँग क्रुद्ध बनेको छ । सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले सुलेमानी हत्याको कडा बदला लिने चेतावनी दिएका छन् ।

खामेनीको चेतावनीको जवाफमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को धम्की दिएका छन् । उनले अमेरिकी नागरिक र सम्पत्तिमाथि आक्रमण गरे इरानका साँस्कृतिक महत्वका ५२ ठाउँमा हमला गर्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले ती ५२ ठाउँले सन् १९८१ मा इरानले बन्धक बनाएका ५२ अमेरिकी नागरिकको प्रतिनिधित्व गर्ने बताए ।

इरानका साँस्कृतिक महत्वका ठाउँ ध्वस्त बनाइदिने ट्रम्पको ट्वीटले इरानीको रिसको आगोमा घ्यु थपेको छ । उक्त ट्वीट रिट्विट गर्दै इरानका सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहम्मद जवाद अजारीले ट्रम्पलाई हिटलरसँग तुलना गरेका छन् र उनी सुट लगाउने आतंकवादी भएको बताएका छन् ।

उनले लेखेका छन्– आइएसआइएस, हिटलर, गेंग्जिस ती सबैले संस्कृतिलाई घृणा गर्थे। ट्रम्प सुट लगाउने आतंककारी हुन् । महान् इरानी राष्ट्र र संस्कृतिलाई कसैले हराउन सकेका छैनन् भन्ने इतिहास उनले छिट्टै थाहा पाउनेछन् । ट्रम्पको उक्त भनाइको आलोचनामा इरानमा मात्र होइन अमेरिकामा पनि भइरहेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सुलेमानीले धेरै अमेरिकीको हत्या योजना बनाएको उल्लेख गर्दै सम्भावित क्षति रोक्न उनलाई मार्नु परेको तर्क गरेको छ । सुलेमानीमाथिको ड्रोन आक्रमण राष्ट्रपति ट्रम्पको निर्देशनमा गरिएको पेन्टागनको भनाइ छ । तर प्रतिपक्षी डेमोक्र्याटिक पार्टीका सांसदहरूले सुलेमानीको हत्या अहिले नै किन गरियो भन्ने कुराको ट्रम्पले चित्त बुझ्दो जवाफ नदिएको बताएका छन् । अमेरिकाजस्तो शक्ति राष्ट्रले कुनै मुलुकको साँस्कृतिक केन्द्रमा हमला गर्छु भन्ने कुरा नसुहाउने भएको उनीहरूको भनाइ छ ।

अमेरिकाको तल्लो सदनले ट्रम्पले इरानमा गर्न सक्ने सैनिक कारबाहीमा लगाम लगाउन यही साता एउटा प्रस्ताव पेस गर्ने भएको छ । यसैबीच इरानले सन् २०१५ मा जर्मनी र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूसँग आफूले गरेको आणविक सम्झौता अब नमान्ने घोषणा गरेको छ ।

उक्त सम्झौता राष्ट्रपति ट्रम्पले सन् २०१८ मा एक पक्षीय रूपमा तोडे पनि इरानले उक्त सम्झौता नमान्ने बताएको थिएन । उक्त सम्झौताले इरानलाई आणविक परीक्षणमा रोक लगाएको थियो भने बदलामा उसले अन्तर्राष्ट्रिय समूदायको प्रतिबन्धमा केही राहत पाएको थियो । उता सुलेमानी हत्या प्रकरणपछि इराकको संसदले आफ्नो देशमा रहा अमेरिकी सेनालाई फिर्ता पठाउने प्रस्ताव पारित गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भ्रमण वर्ष सफल पार्ने बहराइनको प्रतिबद्धता

Ms khalifa

काठमाडौँ ।  बहराइनका परराष्ट्र सचिव डा सइका राना बिन्ट लसा अल खालिफाले नेपाल भ्रमण वर्ष २०२० सफल ...