नेपालसहितका गरिव गरिब मुलुकमा युनिसेफले कोरोनाविरुद्धको भ्याक्सिनको खरिद र आपूर्ति गर्ने

Corona virus vaccine

काठमाडौं । नेपालजस्ता गरिब मुलुकका लागि कोरोनाविरुद्धको भ्याक्सिनको खरिद र आपूर्ति युनिसेफले गर्ने भएको छ । गरिब मुलुकमा खोप उपलब्ध गराउने विश्वव्यापी प्रयास गामीको कार्यक्रमअन्तरगत खोपको खरिद र वितरणको नेतृत्व युनिसेफले गर्ने भएको हो ।

युनिसेफले उत्पादक तथा साझेदारसँग सहकार्य गरेर खोपको खरिद, ढुवानी, बन्दोबस्ती, भण्डारण र वितरणको नेतृत्व गर्ने विज्ञप्ति निकालेर जनाएको छ । 'कोभ्याक्स फ्यासिलिटी'को तर्फबाट युनिसेफले यो कामको नेतृत्व गर्न लागेको हो । कोभ्याक्स फ्यासिलिटी सबै देशमा खोप पुगोस् भनेर स्थापना गरिएको संस्था हो ।

विज्ञप्ति अनुसार न्युन तथा मध्यम आय भएका ९२ देशका लागि 'पिएचओ कोष'सँग सहकार्य गरेर भ्याक्सिनको वितरण गरिने छ । गाभीको न्युन र मध्यम आय भएका देशको सूचीमा नेपाल पनि पर्छ । नेपालले यसअघि सहभागिताका लागि पत्र पठाएको थियो ।

उच्च आय भएका ८० देशले भने आफ्नै खर्चमा कोभ्याक्समा सहभागिता जनाउने तयारी गरेका युनिसेफले जनाएको छ । युनिसेफको संयोजकत्वमा डब्ल्युएचओ, गाभी, सिइपिआइ, पिएएचओ, वल्र्ड बैंक, विल गेट्स फाउण्डेसनलगायतका साझेदारले काम गरिरहेका छन् ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरले खोपका लागि सामूहिक कोसिस भइरहेको र उपलब्ध हुनासाथ सबै देशले सुरक्षित, छिटो र समान वितरणका आधारमा खोप पाउने बताएकी छन् ।

 

प्रतिकृया दिनुहोस