त्रिविका सहप्राध्यापक नै कांग्रेस केन्द्रीय कार्यालयका सचिव

Tribhuwan rngv0rztpg

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक नै कांग्रेसको पार्टी कार्यालयमा कर्मचारीको रूपमा काम गरेको पाइएको छ । कांग्रेस कार्यालयमा मुख्यसचिवपछिको वरीयतामा रहेका सचिव प्रदीप पराजुली पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषयका सहप्राध्यापक हुन् ।

उनी कांग्रेसको केन्द्रीय कार्यालयमा लामो समयदेखि सचिवका रूपमा कार्यरत रहेका नयाँ पत्रिकाले लेखेको छ । प्रमुख प्रतिपक्षी दल तर, सरकारको कदमको विरोध गर्ने कांग्रेसको केन्द्रीय कार्यालयमै प्राध्यापक सचिवको रूपमा क्रियाशील छन् ।

आंशिकबाहेकका त्रिविका सबै शिक्षकले शैक्षिक संस्थामा आंशिक रूपमा पढाउनसमेत केन्द्रीय कार्यालयबाट स्वीकृति लिनुपर्छ । तर, पराजुलीलाई कांग्रेस कार्यालयमा सचिवका रूपमा काम गर्न क्याम्पसबाट सिफारिस भएको छैन र केन्द्रले समेत स्वीकृति दिएको छैन ।

त्रिविका अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले अहिलेसम्म कसैलाई पनि पार्टी कार्यालयमा काम गर्न स्वीकृति नदिएको बताए । त्रिविका प्राध्यापकले अन्यत्र पढाउन तथा गैरसरकारी संस्थामा आंशिक समय काम गर्न कार्यरत संस्थाबाट समेत अनुमति लिनुपर्छ । पराजुली कार्यरत रहेको पाटन संयुक्त क्याम्पसले समेत उनलाई सिफारिस गरेको छैन ।

क्याम्पसप्रमुख लक्ष्मणसिंह कुँवरले कसैले पार्टी कार्यालयमा काम गरेको जानकारी नभएको र आफू आएपछि सिफारिससमेत नगरेको बताए । क्याम्पसप्रमुख कुँवरले भने, ‘म क्याम्पस चिफ भएपछि पार्टी कार्यालयमा काम गर्न सिफारिस गरेको छैन, त्यसबारेमा मलाई जानकारी पनि छैन । पार्टी कार्यालयमा काम गर्नु नैतिकताको कुरा हो।’

०५६ तिर पार्टटाइमका रूपमा क्याम्पस पढाउन थालेका पराजुलीले केही समयपछि सहप्राध्यापकमा नाम निकालेका थिए । तर, कांग्रेस फुटेको वेला ०५९ मा कांग्रेस प्रजातान्त्रिकतर्फ कार्यालयसचिव भए ।

त्यसपछि ०६२-६३ को जनआन्दोलनको समय उत्कर्षमा पुग्दा भने पराजुली सक्रिय देखिएनन् । राजाको प्रत्यक्ष शासनकाल भएकाले प्राध्यापकले राजनीति पनि गरेको देखिँदा जागिर गुम्ने भयले उनी दुई वर्षजति भने सक्रिय नभएको कांग्रेस स्रोतको भनाइ छ  ।

प्रतिकृया दिनुहोस