वी अस्पतालको ओपीडी सेवा २ दिनका लागि बन्द

Bir hospital

काठमाडौं । अस्पतालमा चिकित्सक र ल्याबका कर्मचारीमास कोरोना संक्रमण फैलिएपछि वीर अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द भएको छ ।

वीर अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालले चिकित्सक र कर्मचारीलाई कोरोना संक्रमण भएपछि मगंलबार सूचना जारी गर्दै अस्पतालको ओपीडी सेवा दुई दिनका लागि बन्द गर्ने जानकारी दिएको छ ।

अस्पतालमा ११ जना चिकित्सकसहित ३९ जना स्वास्थ्यकर्मी संक्रमित छन् भने ७५ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेको छन् ।

कोरोना संक्रमणकै कारण जनशक्ति अभाव हुँदा वीरमा अहिले चारवटा वार्ड सञ्चालनमा छैनन् । ल्याबका ६ कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि ल्याब सेवा बन्द छ । कार्डियोलोजी (मुटुरोग विभाग) खुला छैन ।

सोमबार न्यूरो र क्यान्सर वार्डका बिरामीमा पनि कोरोना पुष्टि भएपछि ती वार्ड पनि बन्द भएका छन् । फार्मेसीका कर्मचारीलाई पनि संक्रमण देखिएपछि त्यो समेत बन्द छ । अस्पताल भर्ना भएका बिरामीलाई औषधि किन्न बाहिरै जानुपर्ने अवस्था छ ।

जसले गर्दा बिरामीको उपचारमा खटिने जनशक्तिको कमी हुँदै गइरहेको छ । लेखाका कर्मचारी संक्रमित भएपछि त्यो पनि बन्द छ । आकस्मिक कक्षकै तीनजना चिकित्सक पनि संक्रमित भएपछि आकस्मिक सेवा प्रभावित छ । संक्रमित स्वास्थ्यकर्मी सबैको अहिले वीर अस्पतालमा उपचार भइरहेको निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले बताए ।

संक्रमितको उपचारका लागि अहिले सरकारले ५२ अस्पताललाई कोभिड अस्पताल भनेर तोकेको छ । तर, सबै अस्पतालले कोरोनाका बिरामी हेर्नै पर्छ । यद्यपि सुरक्षा सामग्री पर्याप्त नहुँदा स्वास्थ्यकर्मी नै संक्रमित हुँदै गइरहेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस