नेपालभित्र पहिलो पटक कोरोनाको जिनोम सिक्वेन्सिङ, गुणस्तर निर्धारणका नमुना विदेश पठाइने

Covid test

काठमाडौं । नेपालभित्र पहिलो पटक कोरोना भाइरसको जिनोम सिक्वेन्सिङ (अनुवांशिक अध्ययन) गरिएको को गुणस्तर निर्धारणका लागि पाँच नमुना विदेश पठाइने भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जिनोम सिक्वेन्सिङको गुणस्तर निर्धारणका लागि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आग्रह गरेको छ ।

नेपालले पहिलो चरणमा १५ वटा नमुनाको सिक्वेन्सिङ गरेको हो । यसअघि पनि सीएमडीएनले अन्य विषयमा जिनोम सिक्वेन्सिङ गरेको थियो । नेपालमा कोरोना संक्रमण भएको व्यक्तिको पहिलो जिन सिक्वेन्सिङ डब्लूएचओको हङकङ विश्वविद्यालयस्थित ल्याबमा गरिएको थियो ।

सम्बन्धित निकायबाट स्वीकृति नलिई गरिएको सो अध्ययन विवादमा परेको थियो ।परिषदको स्वीकृति नलिई गरिएको सो अध्ययनमा संलग्न ६ जना वरिष्ठ अधिकारीहरुलाई सरकारले स्पष्टीकरण सोधेको छ । पहिलो संक्रमित व्यक्ति चीनको वुहानबाट आएका विद्यार्थी थिए ।

जिन सिक्वेन्सिङको बहुआयामिक प्रयोग हुने भए पनि नेपालमा गरिने परीक्षणमा सबैभन्दा पहिले यहाँ देखिएको कोरोना भाइरस अन्य देशसँग के कति मेल खान्छ वा फरक हुन्छ भनेर हेरिने छ । यस्तो अध्ययनले नेपाली संक्रमित भएको भाइरसको उत्पत्ति मात्रै नभएर यसले ल्याउने सक्ने जटिलताको बारेमा पनि महत्वपूर्ण जानकारी दिनेछ ।

काठमाडौंको थापाथलीमा रहेको सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सीएमडीएन) का समीरमणि दीक्षितले परिषदले उपलब्ध गराएको १५ वटा नमुनाको अध्ययन अन्तिम चरणमा रहेको बताए । उनले थप दुई सातामा सबै नमुनाको परीक्षण सकिने बताए ।

परिषदले विभिन्न देशले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिक ट्रायलमा नेपाल पिन सहभागी हुने जनाएको छ । त्यसैगरी नेपालमा कोरोना भाइरसको उपचारमा प्रभावकारी देखिएको औषधि रेमडिसिविर पनि अनुसन्धान भइरहेको छ ।

नेपालमा कोरोना भाइरसको प्रमुख स्रोत भारत, खाडी राष्ट्र, युरोप तथा चीन हुन् । गत जेठको चौथो साता संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको भाइरस बढी खतरनाक भएको बताएपछि उनी विवादमा परेका थिए ।

फरकफरक देशबाट आएका, मृत्यु भएका, निको भएका, तीन वटै भौगोलिक क्षेत्र, विभिन्न जातजाति, उमेर समूह, लिंग, संक्रमण भेटिएका समयसहितका समूह निर्धारण गरेर नमुना संकलन गरिएको थियो ।

प्रतिकृया दिनुहोस